काठमाडौं, २ असार । सरकारले जनताको दैनिकी सहज बनाउने प्रतिवद्धता सार्वजनिक गरिरहँदा मुल्य वृद्धि(मुद्रास्फीती) भने अझै १० प्रतिशत कायमै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैशाख महिनासम्मको आर्थिक तथा वित्तिय प्रतिवेदनले मुल्य वृद्धि(मुद्रास्फीती) अझै दोहोरो अंकमै रहेको देखाएको हो । २०७२ सालको पुषमहिनामा यस्तो मुल्य वृद्धि १२ दशमलब १ प्रतिशतको उच्च बिन्दुमा पुगेको थियो ।

केन्द्रिय बैंकले तयार पारेको प्रतिवेदन अनुसार २०७३ वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क वृद्धिदर ९ दशमलब ६ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क वृद्धिदर १० दशमलब ४ प्रतिशत देखाएको छ । घर भाडा तथा शिक्षा सम्बन्धी खर्चमा वृद्धि हुन गएकोले उपभोक्ता मुद्रास्फीति पुनः केही बढ्न गएको केन्द्रिय बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयात घटेको भएपनि चालू आर्थिक वर्षको राजश्व भने लक्षित ४ खर्ब ७५ अर्ब भन्दा बढी सङ्कलन हुने प्रतिवेदनमा उल्लेख छ ।
केन्द्रिय बैंकले चालु आर्थिक वर्ष २०७२/७३ को प्रथम दश महिनाको तथ्याङ्कको आधारमा आर्थिक परिदृश्यमा क्रमिक सुधार गएको निष्कर्ष पनि निकालेको छ । मुलुकको दक्षिणी भन्सार नाकाहरूमा भएको अवरोध हटे सँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह, सरकारी राजस्व सङ्कलन एवम् पुँजीगत खर्चमा भएको वृद्धिबाट आर्थिक क्रियाकलाप सुधारोन्मुख रहेको केन्द्रिय बैंकले निष्कर्ष निकालेको छ ।
केमा कति बढ्यो मुल्य ?
सबै भन्दा बढि २३ दशमलब ४ प्रतिशत दलहन तथा गेडागुडीको मूल्य बढेको छ भने तरकारीको मूल्य २० दशमलब १ प्रतिशतले बढेको छ । त्यसैगरी, लत्ता कपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र मदिराजन्य पेय पदार्थको मूल्यमा क्रमशः १७ प्रतिशत, १६ दशमलब ४ प्रतिशत र १५ दशमलब ९ प्रतिशतले वृद्धि भएको छ ।
महंगीयो काठमाडौं
चालु आर्थिक वर्षमा काठमाडौं सबै भन्दा महंगो शहरका रुपमा स्थापित भएको छ । काठमाडौंको मुल्य वृद्धिदर ११ दशमलब ५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा काठमाडौंको मूल्य वृद्धिदर ६ दशमलब ८ प्रतिशत मात्रै थियो ।
अघिल्लो वर्ष पहाडमा ११ प्रतिशत रहेको मुल्य वृद्धिदर यो वर्ष घटेर ७ दशमलब ७ प्रतिशतमा झरेको छ । तराईको मुल्य वृद्धिदर पनि ६ दशमलब ९ प्रतिशतबाट बढेर ८ दशमलब ६ प्रतिशत पुगेको छ ।