काठमाडौं । नेपाल बैंकर्स संघसहित विभिन्न ८ संघको संयुक्त पहलमा हातेमालो सामाजिक अभियान शुरु भएको छ । महामारीको समयमा विभिन्न सरोकारवालाहरु एक हुनुपर्ने आवश्यकता महसुस गर्दै नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल बिमक संघ, जीवन बिमक संघ नेपाल, नेपाल मर्चेन्ट बैंकर्स संघ, स्टक ब्रोकर एशोसियन र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले स्वैच्छिक रुपमा सामुहिक हिसाबले अघि आई हातेमालो नामक सामाजिक अभियानको थालनी गरेका हुन् ।
हाल कोभिड १९ को महामारीले गर्दा नेपालको स्वास्थ्य प्रणालीमा पर्न गएको असरले मानव जीवनको अकल्पनीय क्षतिका साथै देश अहिले पनि यस चुनौतीसँग लडिरहेको अवस्थामा केही सहयोग हुने अपेक्षसहित उक्क अभियान शुरु गरिएको जनाइएको छ ।
यो सामाजिक अभियान अहिलेको जटिल परिस्थितिमा विभिन्न संघमा आवद्ध संस्थाहरु, संस्थाका कर्मचारीहरु, समाजका सरोकारवालाहरु र आम नागरिक समेतले संस्थागत र व्यतिगत रुपमा एकजुट भई सहयोग गर्ने थलोको रुपमा स्थापना गरिएको हो । र, यस कोषमा जम्मा भएको रकम तत्कालका आवश्यकतालाई मध्यनजर गर्दै प्रभावकारी ढंगबाट परिचालन गरिने जनाइएको छ ।
हातेमालो मार्फत समाजका सरोकारवाला र आम नागरिक समेतलाई यस विषम परिस्थितिको प्रभावकारी रुपमा सामना गर्न एकजुट भई आर्थिक सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ ।