काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार कम्पनीले चैत मसान्तसम्ममा १८ करोड ११ लाख रुपैयाँ बराबरको खुद नोक्सानीमा रहेकाे छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले १५ करोड ९३ लाख रुपैयाँ बढीको नोक्सानी व्यहोरेको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो ९ महिनामा २ करोड १८ लाख रुपैयाँ मात्र नोक्सानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २३ करोड ७९ लाख रुपैयाँ घटेको छ भने अन्य आम्दानी २१ करोड २७ लाख रुपैयाँले घटेको छ । त्यस्तै, कम्पनीको कूल खर्च ५ करोड ३८ रुपैयाँँ बराबरको रकम ऋणात्मक रहेको छ । कम्पनीको गत आवको चैत मसान्तसम्ममा १४ करोड रुपैयाँ बढी रहेको कम्पनीको सञ्चालन मुलना घटेर अहिले २ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ ।
हाल १ अर्ब ५३ करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ३२ करोड ८ लाख रूपैयाँले ऋणात्मक रहेको छ । त्यस्तै, कम्पनीको वार्षिक प्रतिसेयर अम्दानी घटेर ११.८१ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ घटेर ७९.०९ रुपैयाँमा झरेको छ ।
हालै आईपीओ जारी गरी दोश्रो बजारमा प्रवेश गरेको कम्पनीको कूल ४४ दिन कारोबार भएको छ । यो अवधिमा कम्पनीको ८ लाख ८३ हजार २५१ कित्ता सेयर ५१ हजार ९६५ पटकमा किनबेच भएको हो । त्यस्तै, यो अवधिमा संस्थाको न्यूनतम मूल्य १५९ रुपैयाँ र अधिकतम मूल्य २ हजार ८ सय रुपैयाँमा पुगेको छ ।
यस्तो छ कम्पनीको रणनीति
कोरोना भाइरस संक्रमणको यस प्रतिकूल परिस्थितिमा कम्पनीले व्यवसायिक गतिविधिमा वृद्धि गर्न विभिन्न समस्या तथा चुनौती सामाना गर्नुपरेको अवस्था रहेको कम्पनीले जनाएको छ । यो अवस्थामा पनि भ्रमणमा आउने तथा रिर्सोटमा बस्न आउने पर्यटकलाई प्रदान गर्ने गुणस्तरीय सेवा तथा अपनाउनुपर्ने सुरक्षा मापदण्डमा स्तरोन्नति, संरचनाका सेवा तथा सुविधा सम्बन्धी भौतिक पूर्वाधारको स्तर वृद्धि गर्ने तथा व्यवसायिक कार्यकुशलतालाई पूर्ण क्षमतामा प्रयोग गर्ने कम्पनीको याेजना रहेको छ ।
कम्पनीको सञ्चालन न्युनतम खर्चमा गर्ने, कम्पनी सञ्चालनार्थ सम्बन्धित खर्चको मितव्ययीता सहित अन्य अनावश्यक खर्चहरुलाई समेत कटौती गर्दै कम्पनीलाई प्रतिकूल परिस्थितिमा पनि अनुकूल वातावरण बनाई आम्दानीमा वृद्धि गर्न बजार व्यवस्थापन गर्नतर्फ उच्च प्राथमिकता दिने कम्पनीको रणनीति रहेको छ ।