काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रस्तावित ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर(आईपीओ) पारित भएको छ । आज अर्थात मंसिर ३ गते बुधबार सम्पन्न बैंकको दोस्रो वार्षिक साधारण सभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
यससँगै, कम्पनीले जारी पुँजीको ४० प्रतिशतले हुन आउने ८ करोड कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने छ ।
साथै, सभाले आर्थिक वर्ष २०७६/७७ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ ।
नेपालकै पहिलो र एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको यस बैंकको साधारण सभा बैंककै रजिष्टर्ड कार्यालय काठमाडौंको बानेश्वरमा अनलाईन मार्फत भएको थियो ।
मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको यस बैंकले आ.व. २०७६/७७ मा जलविद्युत, सीमेन्ट क्लिङ्कराइजेशन एवं सौर्य उर्जा समेत ५ वटा परियोजनाहरुमा ६ अर्ब रुपैयाँ कर्जा स्वीकृत गरी ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
साथै, चालु आ.व. मा ३ वटा परियोजनाहरुमा २ अर्ब ८५ करोड रुपैयाँको थप कर्जा स्वीकृत गर्दै हालसम्म जम्मा ८ अर्ब ८५ करोड रुपैयाँ बरबरको कर्जा स्वीकृत गरेको छ ।