काठमाडौं । किसान बहुउद्देश्यीय सहकारी संस्थाको २५औं वार्षिकोत्सव एवं रजतजयन्ती सम्पन्न भएको छ । उक्त कार्यक्रम संस्थाले एक औपचारिक समारोहबीच आज(कार्तिक १७ गते) आफ्नो केन्द्रिय कार्यालय लम्कीमा सम्पन्न गरेको हो ।
रजतजयन्तीको अवसर पारेर संस्थाले सञ्चालमा ल्याएको माटो परिक्षण प्रयोगशालाको उद्घाटन समेत सम्पन्न भएको छ । समारोहका प्रमूख अतिथी एवं न.पा प्रमूख महादेव बजगाईले रिबन काटेर प्रयोगशालाको उद्घाटन गरेका हुन् । समाराेहमा बोल्दै प्रमूख बजगाईले सुदुरपश्चिममा निजी क्षेत्रले सञ्चालनमा ल्याएको पहिलो प्रयोगशाला भएको बताएका छन् ।
उक्त समारोहमा समुदायमा उत्कृष्ट प्रेरणादायी कार्य गर्ने ३ जनालाई संस्थाका अध्यक्षले जनही ११ हजार १११ रुपैयाँसहित सम्मानित गरेका छन् । यसरी सम्मानित हुनेमा परोपकारी अभियन्ताका रुपमा, बर्दगोरीया गा.पा.२ मा मानसिक सन्तुलन ठिक नभएर वेवारिसे जिवन बिताईरहेका बेसाहराहरुको लागि सहाराघर सञ्चालक बल बहादुर बिष्ट, कृषि अभियन्ताका रुपमा ईजायरबाट अध्ययन अवलोकनगरी फर्केर १५ विगाह जमिन भाडामा लिई खाद्यान्न, तरकारी एवं फुलखेतीमा अग्रसर बर्दगोरीया गा.पा.२ का नविन जोशी र युवा अभियन्ताका रुपमा स्वच्छता अभियान एवं मानविय सहायतामा सक्रिय लम्कीचुहा न.पा.–३ का युवा के.पी.खनाल रहेका छन् । समारोहमा संस्थाका संस्थापक अध्यक्ष ईन्द्र कुमार शाहलाई २५ तोला चाँदीको सिक्का सहित सम्मान गरिएको छ ।
यसैगरी संस्थाले रजतजयन्तीको अवसर पारेर आयोजना गरेको ‘महिला सशक्तिकरणमा सहकारीको भूमिका’ विषयक जिल्लाव्यापी खुला निबन्ध लेखन प्रतियोगिताका प्रथम, द्वितिय र तृतिय हुनेलाई पुरस्कार वितरण गरेको छ । पुरस्कृत हुनमा प्रथम स्थान हाँसिल गर्न सफल टीकापुरका कुबेर प्रसाद तिमिल्सिना, द्वितिय हुने लम्कीका पुजा शाह र तृतिय हुने टीकापुरका दिक्षा तिमिल्सिना रहेका छन् । समारोहका विशिष्ठ अतिथी लम्कीचुहा न.पा. वडा नं १ का वडाध्यक्ष जनक बमले प्रथम, द्वितिय र तृतियलाई क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ नगद सहित प्रशंसा पत्र प्रदान गरेका छन् ।
उक्त समारोहमा संस्थाको अन्तरशाखा स्तरिय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरेका छन् । यसरी पुरस्कृत हुनेमा लम्की शाखाका अमर राज भण्डारी प्रथम, टीकापुर शाखाका रिता बजगाई दास्रो, हसुलिया शाखाका अर्जुन रिमाल तेस्रो र सुख्खड शाखाका दिपेन्द्र बटाला सान्तवना रहेका छन् । विजेताहरुका लागि पुरस्कार राशी क्रमशः नगद १० हजार रुपैयाँ, ७ हजार रुपैयाँ र ३ हजार रुपैयाँ रहेको छ । यस अघि रजतजयन्ती लाई लक्षित गरि संस्थाले ‘कोभिड १९ को विषम परिस्थितीमा संस्थाको सेवा प्रवाह एवं व्यवसाय विस्तारमा कर्मचारीको भूमीका’ विषयक अन्तर शाखा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो ।
वि.सं.२०५२ साल कार्तिक १७ गते १ शाखा, १ कर्मचारी र ३६ हजार ६ सय रुपैयाँ सेयर पुँजीबाट सञ्चालन भएको संस्था रजतजयन्तीसम्म आईपुग्दा २१ शाखा, १७८ कर्मचारी र १३ करोड रुपैयाँ सेयर पुँजी रहेको छ । गत आथिर्क वर्षमा संस्थाले ८ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ भने सदस्यहरुका लागि कुल कर्जा लगाानी २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । त्यसैगरी, कुल निक्षेप २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । संस्थाले हाल २१ शाखा सहित १ एकिकृत कृषफर्म, १ मलखाद बिक्री केन्द्र र १ माटो परिक्षण प्रयोगशाला सञ्चालन गरिरहेको छ ।