
काठमाडौं । नेप्सेमा रातारात कारोबार रकम थपिएपछि नियामक नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)सँग स्पष्टिकरण मागेको छ । अघिल्लो दिन बजार बन्द भएपछिको डाटा र भोलिपल्ट बजार खुल्नुभन्दा अघिको डाटामा निकै नै अन्तर देखिएपछि बोर्डले नेप्सेसँग स्पष्टिकरण मागेको हो ।
अघिल्लो दिन अर्थात मंगलबार(भदौ ३० गते)को सेयर बजार नियमित समयमा (दिउँसो ३ बजे) बन्द भएको थियो । सो अवधिमा विभिन्न कम्पनीको कूल ५७ लाख ९ हजार २ सय ६१ कित्ता सेयर एक अर्ब ७९ करोड रुपैयाँ बराबरमा किनबेच भएको थियो ।
तर, सोही साइटमा भोलिपल्ट बिहान अर्थात बुधबार बजार खुल्नु अघि हेर्दा २ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको देखिएको थियो । कारोबार रकम मात्र नभई कारोबार कित्तामा पनि फरक देखिएको थियो । अघिल्लो दिन ५७ लाख ९ हजार २ सय ६१ कित्ता सेयर किनबेच भएको देखाएको उक्त साइटले भोलिपल्ट ६६ लाख ९७ हजार ४ सय ९६ कित्ता सेयर कारोबार भएको देखाएको थियो । यद्यपि, कारोबार रकम र कारोबार कित्ताको तथ्यांकमा फरक देखिएपनि नेप्सेको परिसूचकमा भने केही पनि परिवर्तन भएको थिएन ।
लाखौं लगानीकर्ताको खर्बाैं लगानी भएको बजारमा यस्तो ठूलो परिणाममा डाटा तल माथि हुनुले नेप्सेको कारोबार प्रणालीको विश्वसनियता माथि प्रश्न उठाउँदै एक लगानीकर्ताले प्रविधिको उपयोग गरेको हो वा दुरुपयोग गरेको हो भन्ने बुझ्न नसिकिएको बताएका छन् ।
‘२/४ करोड बढी भएको भए सेटल्मेन्ट टाइमले गर्दा बढेको होला भन्ने हुन्थ्यो । तर ३१ करोड रुपैयाँ भनेको कूल कारोबारमा करिब १५/२० प्रतिशतको हाराहारीमा सेयर किनबेच हुनु हो । जुन चाहिँ शंकास्पद भयो ।’, उनले भने ।
नेप्समा रातारात काराेबार रकम बढ्न थालेछ, रातिपनि कारोबार गर्न अनुमति दिनुभयो कि के हो ? भन्ने विकासन्युजको प्रश्नमा बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले ‘पहिला हामीले ११ बजेदेखि तीन बजेसम्म सञ्चालन गर भनेका थियौं । तीन बजेपछि बढाएर सवा ५ बजेसम्म पुर्याए । त्यहाँसम्म त ठिकै थियो । फेरि अब सवा ५ बजेदेखि नाइट सिफ्ट पनि सञ्चालन गर्न थाले की क्या हो ?’, उनले ठट्यौली प्रश्नकाे उत्तर ठट्यौली पारामै दिए ।
‘मैले बुझेसम्म तीन बजेसम्म अपडेट भएको थिएन त्यसपछि अपडेट गराउँदा कारोबार रकममा वृद्धि भएको हुन सक्ने छ । तर मैले आफ्नो ढंगले अनुमान लगाएर भएन । यस विषयकाे सत्य तथ्य के हाे भनेर हामीले नेप्सेसँग विस्तृत जानकारी मागेका छौं । उताबाट जवाफ आएपछि मात्रै यहि हो भन्न सकिन्छ ।’, अध्यक्ष ढुङ्गानाले विकासन्युजसँग भने ।
पछिल्लाे समय नेप्सेमा देखिएका हरेक समस्याहरू गम्भिर रहेका छन् । यी समस्याकाे छिटाेभन्दा छिटाे समाधान गर्न नेप्सेलाइ निर्देशन दिइसकेकाे र नेप्सेले पनि आगामी आइतबारदेखि केही समस्या नआउने प्रतिवद्धता जनाएकाे उनले बताए ।