काठमाडौं । भदौ १ गते नागरिक लगानी कोषले हकप्रद जारी गर्नको आरबीबी मर्चेन्टलाई हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको प्रेस विज्ञप्ति जारी गर्यो ।
कोषका अनुसार १ सय कित्ता सेयर बराबर ८२ कित्ताका दरले हकप्रद जारी गर्न लागिएको छ । प्रतिसेयर १ सय रुपैयाँका दरले १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद जारी गर्न लागिएको हो ।
कोषले हकप्रद जारी गरेर १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपयाँ संकलन गर्ने लक्ष्य लिएको छ । उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरबीबी मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरिएको छ ।
कम्पनीले हकप्रद जारी गर्नु भनेको सेयरधनीसँग थप रकम माग्नु हो । कम्पनीको उदेश्य अनुसार कुनै व्यवसायिक योजना अघि बढाउन, कुनै व्यवसायमा जोखिम बढी देखियो भने त्यसको व्यवस्थापनको लागि पनि सेयरधनीसँग हकप्रद जारी गरेर थप पुँजी मागिन्छ ।
अहिले कोरोना माहामारीको कारण विश्व अर्थतन्त्र नै थला परेको छ । नेपालमा पनि यसको आर्थिक असर ज्यादै गम्भीर छ । यो बेलामा कोषले के कस्तो काम गर्नको लागि सेयरधनीसँग थप पुँजी माग्यो भन्ने चासो धेरैलाई हुन सक्छ ।
तर, कोषले कनै व्यवसायिक योजना अघि बढाउन वा कुनै व्यवसायमा बढी जोखिम सिर्जना भएकोले सेयरधनीसँग पैसा मागेको होइन । ऐन संशोधन भएपछि तोकिए अनुसार चुक्ता पुँजी पुर्याउनको लागि मात्रै हकप्रद जारी गर्न लागिएको कोषका उपकार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेलले जानकारी दिए ।
‘नागरिक लगानी कोष सम्बन्धी ऐन भर्खरै संशोधन भएर आएको छ, पुरानो ऐन अनुसार कोषको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ थियो, संशोधित ऐनमा कोषको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ हुने भनिएको छ, हकप्रद जारी गर्न लागिएको हो, अरु थप कुनै व्यवसायिक योजनाको कारण होइन,’ डा. कट्टेलले भने ।
सम्बन्धित सामग्री