चन्द्र साउदजी ! वेबसाइट मात्रै बन्द गर्ने कि नेप्से नै बन्द गर्ने ?

<p>काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न भन्दै सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन जारी गर्यो । तर, चैत ९ र १० गते सेयर कारोबार हुने दिन भएको पनि नेपालको धितोपत्र बजार करिब बन्द नै भयो । सरकारले असार १ गतेदेखि लकडाउन क्रमशः खुकुलो बनाउँदै लग्यो । असार १ गतेदेखि सामान्य पान दुकानसमेत खुले पनि [&hellip;]</p>

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न भन्दै सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन जारी गर्यो । तर, चैत ९ र १० गते सेयर कारोबार हुने दिन भएको पनि नेपालको धितोपत्र बजार करिब बन्द नै भयो ।

सरकारले असार १ गतेदेखि लकडाउन क्रमशः खुकुलो बनाउँदै लग्यो । असार १ गतेदेखि सामान्य पान दुकानसमेत खुले पनि पुँजी बजार खुलेन । बजार खुलाउनु पर्छ भन्ने पक्ष र विपक्षमा तर्क र वहस भइरहे भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पूर्वाधार कमजोर भएको कारण अनलाइन ट्रेडिङ गराउन नसकिएको पछि प्रष्ट भयो ।

नेप्सेको प्रणालीमा देखिएको खराबीकै कारण पुँजी बजार संचालन गर्न थप १५ दिन कुर्नुपर्यो । नियामक निकाय धितोपत्र बोर्डको अनेकन प्रयत्नको बाबजुत १५ असारदेखि मात्रै सेयर बजार खुलेको छ । तर, खुलेको बजारमा पनि समस्या धेरै देखिएका छन् । नेप्सेको अनलाइन प्रणालीमा समस्या उत्पन्न हुँदा लगानीकर्ताले हैरानी व्यहोर्नु परेको हो ।

बजार संचालन गर्ने नेप्सेले पूर्वाधार बलियो नबनाउँदा लगानीकर्तादेखि सरोकारवाला सबै हैरान भएका छन् । कमजोर पूर्वाधार नेप्सेलाई कसरी संचालन गरेर प्रविधिमैत्री बनाउनु पर्छ भन्ने सामान्य ज्ञान पनि नभएको व्यवस्थापकीय नेतृत्वको कारण नेपाली पुँजी बजार वास्तविक बजार बन्न नसकेको एक लगानीकर्ताले बताए ।

‘नेप्सेका प्रमुख कार्यकारी अधिकृतलाई दिउसै काम सक्ने हतारो हुन्छ, साँझ परेपछि उहाँको व्यक्तिगत काम अरु नै छ जस्तो देखिन्छ, बजारमा नयाँ प्रविधि र लगानीकर्तामैत्री वातावरण कसरी बनाउने भन्ने विषयमा नेप्सेको नेतृत्वको ध्यान छदै छैन, उसको चिन्ता र चासो अन्यत्र छ जस्तो देखिन्छ, त्यसैले नेपाली पुँजी बजार अरुले आरोप लगाए जस्तै जुवाघर नै हो कि भन्ने पनि लाग्न थालेको छ,’ एक लगानीकर्ताले भने ।

अहिले नेप्सेको वेबसाइट खुल्दैन । वेबसाइट नखुलेका कारण लगानीकर्ताले पाउनु पर्ने सामान्य जानकारी र सुचना पाउन सकिरहेका छैनन् । यस्तै, नेप्सेले ब्रोकरलाई उपलब्ध गराएको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) पनि चलेको छैन । लकडाउनपछि खुलेको बजारमा केही दिनसम्म नेप्सेले निश्चित ब्रोकरलाई सेल र बाइको अर्डर हाल्नको लागि संख्या नै तोकेर नियन्त्रण गर्ने प्रयास गरेको थियो ।

अहिले पनि प्रणालीमा समस्या उत्पन्न भएको छ ।

‘नेप्सेको वेबसाइट बन्द गरेर राखिएको छ, कति पैसामा किनिएको हो, किन समस्या आएको हो भनेर कुनै निकायले पनि नहेर्ने कस्तो अचम्मको निकाय रहेछ नेप्से, यसरी वेबसाइट बन्द गरेर राख्नु वा सेयर खरिद विक्रीको लागि चाहिने आवश्यक पूर्वाधार उपलब्ध गराउन नसक्ने हो भने वेबसाइट मात्रै होइन, नेप्से नै बन्द गरे भयो नि,’ अर्का एक लगानीकर्ताले आक्रोस पोख्दै भने ।

नेप्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा चन्द्रसिंह साउद छन् । संचालक समिति अध्यक्षमा लक्ष्मण न्यौपाने छन् । यस्तै, संचालकहरुमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु देबकुमार ढकाल, मुकुन्द कुमार क्षेत्री, अर्थमन्त्रालयका उपसचिब रमेश अर्याल, राष्ट्रिय बाणिज्य बैंकका चिफ म्यानेजर देबेन्द्र कुमार खनाल र स्वतन्त्र संचालकको रुपमा लक्ष्मीप्रसाद महर्जन छन् । नेप्सेले बजार संचालनको लागि पूर्वाधार नै उपलब्ध नगराउँदा पनि संचालकहरु किन रमिता हेरेर बसेका छन् भन्ने प्रश्न अहम बनेको लगानीकर्ताको भनाइ छ ।

Share News