तातोपानीवाट हट्न लागे बैंक, चार बैंकका शाखा बन्द हुदै

<p>काठमाडौं, १७ चैत । करिब १ बर्ष अगाडिसम्म नेपाल र चीनबीचको सवैभन्दा ठूलो नाका तातोपानी बजारमा आफ्नो शाखा विस्तार गर्न तछाडमछाड गर्ने बैंकहरु अहिले सोही स्थानको शाखा बन्द गर्न थालेका छन् । गत १२ बैशाखको भूकम्प पछि चीनसँगको नाका बन्द भएको कारण ब्यापार ब्यवसाय ठप्प र बस्ती नै विस्थापित भएपछि बैंकले शाखा बन्द गर्न लागेका [&hellip;]</p>

काठमाडौं, १७ चैत । करिब १ बर्ष अगाडिसम्म नेपाल र चीनबीचको सवैभन्दा ठूलो नाका तातोपानी बजारमा आफ्नो शाखा विस्तार गर्न तछाडमछाड गर्ने बैंकहरु अहिले सोही स्थानको शाखा बन्द गर्न थालेका छन् । गत १२ बैशाखको भूकम्प पछि चीनसँगको नाका बन्द भएको कारण ब्यापार ब्यवसाय ठप्प र बस्ती नै विस्थापित भएपछि बैंकले शाखा बन्द गर्न लागेका हुन् ।

बुधवार ग्लोबल आइएमइ बैंकले सार्वजनिक सुचना नै प्रकाशित गरेर तातोपानी शाखा बन्द गरेको जानकारी दिएको छ । भूकम्पको एक बर्षसम्म पनि नाका नखुलेको कारण शाखा घाटामा गएपछि बन्द गर्नुपरेको बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले स्वीकृति दिए पछि सो शाखा बन्द गरेर सो शाखाको कारोवार बाह्रविसे शाखाबाट संचालन गर्न लागिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले जानकारी दिए ।

‘सो शाखामा करिब २६ सय ग्राहक थिए, भूकम्प पछि चीनसँगको ब्यापार नाका खुल्न नसक्दा र स्थानीय पनि त्यहाँ बस्न छोडेको कारण शाखा नोक्सानीमा थियो, अब कतिन्जेल पर्खने भनेर शाखा नै स्थानान्तरण गर्ने निर्णय भएको हो,’ पौडेलले भने ।

चीनको खासा बजार बन्द भएपछि त्यहाँ खोलिएका अन्य बैंकका शाखा पनि बन्द हुने अवस्थामा पुगेका छन् । सो ठाउमा ग्लोबल आइएमइसहित एभरेष्ट, नेपाल बंगलादेश र बैंक अफ काठमाण्डूको शाखा रहेका छन् ।

नेपाल र चीनको विचमा तातोपानी नाका खोल्ने विषयमा पटक पटक कुरा भए पनि नाका खुल्न अझै सकेको छैन । सो ठाउको ब्यापारलाई लक्षित गरेर शाखा खोलेका बैंकहरुले शाखा बन्दको तयारी थालेका हुन् ।

Share News