
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारलाई कर प्रोत्साहन गर्नुपर्ने बताएका छन् । बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले बजारमा सरल ढंगले कर तिर्ने व्यवस्था मिलाउनु पर्ने बताएका हुन् ।
साथै, बजार विस्तारको लागि केही कुरा मिलाउनु पर्ने भए छलफल गरेर अगाडि बढ्ने उनले जानकारी गराए ।
‘हामीले पुँजी बजारमा सबैको पहुँच पुर्याउनु पर्छ । सेयर बजारमा सर्वसाधारणको सहभागि सूनिश्चित गुर्नपर्छ । कसरी गर्न सकिन्छ भन्नेमा दुईटा कुरा छन् । पहिलो सुचनाको आधारबाट उसले कुन कम्पनीको सेयरमा लगानी गर्न उपयुक्त हुन्छ ऊ आफैले निणर्य गर्छ । यसको लागि बजार सूचना प्रणाली लगायत कम्पनीको प्रोफाइल पारदर्शी हुनु पर्छ ।’
‘दोश्रो, उसले जोखिम मोल्न जानेको छैन तर बजारमा सहभागि हुन चाहन्छ भने म्युचअल फण्ड ल्याइएको छ । आफु सँधै सेयर बजारमा सक्रिय हुन नसक्नेको लागि उक्त फण्ड बजारमा ल्याइएको हो ।’
‘तेश्रो, बजारमा सेयरको मूल्य स्थायी रुपमा अनुमान योग्य तरिकाले अघि बढाउनु पर्छ । त्यसको लागि व्यक्तिगत लगानीकर्ता भन्दा संस्थागत लगानीकर्ताले बढी सूचना प्राप्त गर्न सक्ने, बढी विश्लेषण गर्न सक्ने र आफ्नाे सेयरमा आउन सक्ने उतारचढावलाई पनि धान्न सक्ने क्षमता हुन्छ । त्यसैले संस्थागत लगानीकर्ता बढाउनको लागि स्टक डिलरलाई ल्याउने तयारी भइरहेको छ । यसले बजारमा अस्वभाविक रुपमा हुने उतारचढाव तथा बजार अस्थीर पनि हुँदैन ।’
उनले भने- ‘वित्तीय साक्षरता पुगेकै छैन । सेयर बजार कसरी अगाडि बढाउन सकिन्छ, नाफा कसरी सुनिश्चित गराउन सकिन्छ भन्ने पनि साक्षरता नै हो । भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, हेज फण्ड ल्याउनको लागि बिनियमावलीहरु बनाईसकेका छौं ।’
‘पुनरसंरचना सम्बन्धमा सिडीएस र नेप्सेले एकीकृत रुपमा कारोबार गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा छलफल भइरहेको छ ।’
‘कोभिडका कारणले विश्व अर्थतन्त्रले नयाँ मोड लिँदै छ । युरोपेली र अमेरिकी बजारहरु हाम्रो भन्दा बढी प्रभावित भएका छन् । केही सीमित मुलुकहरु मात्रै आगामी आवमा पोजेटिभ आर्थिक वृद्धिमा जाने छन् । त्यसैले पुँजी पनि यहि हुने हो । बचत पनि यहि हुने हो । लगानी पनि यहि क्षेत्रमा हुने हो । त्यसको लागि चाहिने पुँजीबजारको संलग्नता सार्क क्षेत्रमा पुँजीबजार चलायमान गर्नको लागि एकआपसमा प्राविधिक सहयोग, बजारको समन्वय र भोलि आवश्यक पर्यो भने सहकार्य गर्दै अघि जानु पर्ने हुन्छ ।’- उनले बताए ।
‘एशियाली र दक्षिण एशियाली मूलकमा पुँजी बजार परिचालनमा अत्यन्तै धेरै सहकार्य गर्नुपर्ने देखिएको छ । जसले प्रविधि हस्तान्तरणसँगसँगै केहि क्षेत्रमा पुँजी परिचालन गर्न पनि सहयोग हुने छ ।’
‘कोभिडलाई परास्त गर्दै अर्थतन्त्रलाई पुरानै बाटोमा ल्याउँछौं । ७ प्रतिशतको आर्थिक वृद्धि भनिरहँदा आकाश छुने कुरा गरेको होइन । विगत तीन वर्षको औसतमा पुग्ने कुरा गरेका हौं र पुग्छौं पनि । यसको लागि पुँजी परिचालन गर्नु पर्ने छ । यसमा बोर्डको प्रमुख भूमिका हुने र निजी क्षेत्रलाई स्वपुँजीको माध्यमबाट पुँजी परिचालन गर्ने कुरामा केहि हदसम्म ऋणपत्रको माध्यमबाट समेत सहयोग पुग्ने छन् । निजी क्षेत्रका पुँजी पूर्ण परिचालित भई आगामी आवको आर्थिक वृद्धि हासिल गर्न सक्छौं ।’