बोर्डलाई अर्थमन्त्रीले भने- चुप लागेर नबस्नुस्, आवश्यक तयारी गरेर बजार खुलाउनुस्

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आवश्यक तयारी गरेर बजार खुलाउन नेपाल धितोपत्र बोर्डलाई भनेका छन् । कोरोनासँग लड्दै देशकाे दैनिक आर्थिक क्रियाकलाप सुचारु गर्दै जानु पर्ने जानकारी गराउँदै उनले सो कुरा बताएका हुन् । बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले, ‘लामो समयसम्म लकडाउन होला । त्यसैले चुप लागेर नबसी सुधारहरु, बजार खोलेको दिन गर्नुपर्ने [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आवश्यक तयारी गरेर बजार खुलाउन नेपाल धितोपत्र बोर्डलाई भनेका छन् । कोरोनासँग लड्दै देशकाे दैनिक आर्थिक क्रियाकलाप सुचारु गर्दै जानु पर्ने जानकारी गराउँदै उनले सो कुरा बताएका हुन् ।

बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले, ‘लामो समयसम्म लकडाउन होला । त्यसैले चुप लागेर नबसी सुधारहरु, बजार खोलेको दिन गर्नुपर्ने तयारी गरेर अघि बढ्न उपयुक्त हुने’ जनाएका छन् ।

उनले कोभिडका कारणले बजार बन्द गर्दै जाँदा सेयर कारोबार गर्ने लगानीकर्तालाई अफ्ठ्यारो परेको हुन सक्ने बताए । साथै, देशको समग्र आर्थिक क्रियाकलापहरु सिथिल हुँदै जाँदा त्यसको प्रभाव धितोपत्र बजारमा पनि परेको उनले बताए ।

पुँजी बजारको औचित्यको बारेमा पहिलेदेखि बहस गरिरहेको बताउँदै उनले आन्तरिक पुँजी परिचालनका माध्यमबाट दीर्घकालिन लगानीका लागि अवसर सृर्जना गर्ने प्रणाली धितोपत्र बोर्ड रहेको बताए ।

ऋणपत्रको दोश्रो बजार विकासको कुरा उपयुक्त रहेकाे जनाउँदै उनले अहिले नेपाल सरकारले सार्वजनिक ऋण व्यवस्थापन गर्ने र आन्तरिक ऋणपत्रहरु सरकारी ऋणपत्र समेत बजारमा परिचालन गर्न सकिने जान खोजेको जानकारी गराए ।

‘बैंकहरुले ठूलो परिमाणमा डिबेन्चरहरु जारी गर्दै छन् । क्रमशः भोलि औद्योगिक ऋणपत्रहरु पनि आउने सम्भावना छ । यो भयो भने ऋणपत्रको बजार अघि बढ्दै जान्छ ।’- उनले भने ।

कोभिडका कारणले बस्तु बिनिमय बजार तत्कालको लागि ठूलो सम्भाभ्य व्यवसाय नहुन सक्ने बताउँदै उनले आगामी दिनमा यो क्षेत्रमा लगानी बढ्ने जानकारी गराए । यसको लागि नियामकको रुपमा धितोपत्र बोर्डलाई नै राखिएको उनले जनाए । अब आउने ऐनले यसलाई अझ व्यवस्थित गर्ने उनले जनाएका छन् । साथै, वस्तु विनिमय बजारका एक्टरहरु पनि पुँजीबजारका एक्टरहरु वा संस्थाहरु जस्तै हुने उनले बताए ।

त्यसैगरी, बाेर्डले क्रेडिट रेटिङको लागत घटाउँदै जानु पर्ने आवश्यकता देखिएको उनले भने ।

२७ वर्ष पार गरिरहँदा बोर्ड निकै परिष्कृत संस्थाको रुपमा अगाडि बढीसकेको बताउँदै आगामी दिनमा सशक्त नियमकको हिसावले अघि बढ्ने अपेक्षा रहेकाे जनाएका छन् ।

Share News