काठमाडाैं । सेक्यूरिटी कम्पनीमा जान ५ लाख असूल गर्ने आरबी ओभरसिजमा विभागको छापा मारेकाे छ । प्रत्येक हप्ता जसो विभागको स्टिङ्ग अपरेशन हुँदा पनि धेरैजसो व्यवसायीहरुले सुरक्षित सम्मानपूर्ण र शोषणरहित वैदेशिक रोजगार व्यवसाय बनाउनेतर्फ पहलकदमी लिनुभन्दा पनि जसरी भएपनि पैसा कमाउने ध्याउन्नमै लागेको पाइन्छ। जसले गर्दा मर्यादित व्यवसाय गर्न चाहनेहरु पनि ओझेलमा पर्ने गरेका छन्।
सेक्यूरिटी कम्पनीमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुबाट म्यानपावरवालाले घटीमा ५ लाख रकम उठाउने गरेको र चर्को शोषण गरिरहेको भन्ने गुनासो पटकपटक प्राप्त भएतापनि गुनासोकर्ताले विभागलाई भरपर्दो सूचना र प्रमाणसहित सहयोग नगरेको कारणले विभागले त्यस्ता इजाजतपत्रवाला वैदेशिक रोजगार व्यवसायीहरुलाई कारवाहीको दायरामा ल्याउन कठिनाई भैरहेको थियो।
दुबई पुलिस लगायतका थुप्रै सेक्यूरिटी कम्पनीबाट आउने निशुल्क टिकट र भिषा सहितको मागमा पनि पाँचलाख भन्दा कम तिरेर वैदेशिक रोजगारीमा जान नपाएको गुनासो बेलाबेलामा सुनिंदै आएको छ। भोजपुरका पासाङ्ग नोर्बु शेर्पा यूएईस्थित सेक्यूरिटी कम्पनीमा वैदेशिक रोजगारीमा जानका लागि छनौट भए।
उनको भिषा लागेको जानकारी दिंदै गोंगबुस्थित आरबि ओभरसिजका सञ्चालक ऋषिराम कँडेलले आफ्ना कर्मचारी कमलबहादुर क्षेत्री मार्फत ५ लाख रकम माग गरे। शेर्पाले रु ५० हजार पहिले नै नगद दिएका थिए। तर सञ्चालकले एक रुपैयाँ पनि कम नहुने र पहिले नै पुरै पाँच लाख नगद नबुझाउँदासम्म श्रम स्वीकृतिका लागि नै पेश नगर्ने जानकारी दिए।
पासाङ्गलाई त्यत्रो पाँच लाख तिर्न पनि मन थिएन किनकी यस अगावै उनी दुबईमा सोही कामको अनुभव लिएर फर्केका व्यक्ति थिए। नतिर्ने हो भने श्रम स्वीकृति नै निस्कँदैन भनेर म्यानपावर कम्पनीले भनिरहेको थियो। विभागमा उजुरी गर्दा कतै विदेश जानै नपाइने हो कि भनेर उनी डराइरहेका पनि थिए।
आखिर आँट गरेर उनले विभागमा उजुरी दिए। विभागको टोलीले आरबि ओभरसिजमा छापा मार्योफ र सोही रकम म्यानपावरभित्रै उक्त म्यानपावरका कर्मचारीबाट बरामद गर्यो। विभागको टोलीले त्यहाँबाट पासाङ्ग नोर्बु शेर्पाको भिषा लागिसकेको पासपोर्ट समेत बरामद गरेको छ। विभागले उक्त म्यानपावरका विरुद्ध थप कारवाही प्रकृया अघि बढाएको छ।