काठमाडौं । सरकारले मदिरामा लगाएको अन्तः शुल्क घटाएपछि अब सिमेन्ट र स्टिल उद्योगमा लाग्दै आएको अन्तशुल्क समेत घटाउने भएको छ । पछिल्लो समय सिमेन्टका साथै स्टिल उद्योग समेत अप्ठ्यारोमा पर्न लागेपछि सरकारले यी उत्पादनको अन्तःशुल्क घटाउने तयारी गरेको हो । सरकारले नयाँ लगानीकर्तालाई लगानी गर्न आकर्षण गर्न तथा स्वदेशी उत्पादनलाई राहत दिएर प्रतिस्पर्धी बनाइ उपभोक्तालाई कम मूल्यमा यस्ता वस्तु उपलब्ध गराउन अन्तः शुल्क घटाउने छलफल अघि बढाएको अर्थ मन्त्रालयले बताएको छ ।
केही समयअघि सरकारले अन्तःशुल्क बढाएका कारण मदिरा व्यवसाय धरासायी भएको गुनासो आएको र राजस्व संकलनमा समेत कमी आएका कारण मदिरामा लाग्दै आएको अन्तः शुल्क घटाएको थियो । अहिले सिमेन्ट र स्टिल उद्योगमा लाग्दै आएको अन्तः शुल्क पनि घटाउने तयारी थालेको हो । अर्थ मन्त्रालयले घट्दो बजारलाई मध्येनजर गर्दै बढ्दो मूल्यका कारण मर्महात भएका उपभोक्तालाई राहत दिन अन्तः शुल्कको दरमा केही कमी गर्ने विषयमा छलफल उठाएको हो ।
अन्तः शुल्क घटाएर खबौ लगानी गरेका उद्योगीलाई सरकारले राहत दिने सोच राम्रो भए पनि व्यवसायीले भने व्यवसाय फस्टाउन देशमा ठूला परियोजना बन्नु पर्ने बताए । नेपाल रोलिङ मिल एसोसिएनका पूर्व अध्यक्ष धु्रव श्रेष्ठले पछिल्लो समय स्टिलको मूल्य घटेपनि ठूला नयाँ परियोजना नआउँदा व्यवसाय धरासायी बन्न पुगेको बताए । ‘अन्तः शुल्क मात्रै घटाएर हुँदैन’ उनले भने ‘निर्माण कार्यलाई तीव्रता दिने खालका नीति नियमहरू सरकारले बनाइ दिनुपर्छ । अहिले नेपालमा बार्षिक १२ लाख टन रड उत्पादन हुँदै आएको छ ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले २/३ वर्षयता देशमा ठूला उद्योग नभित्रिएकाले नयाँ उद्योगलाई भित्र्याउने राहत प्याकेजको रुपमा अन्तः शुल्क घटाउने तयारी गरेको हुन सक्ने बताए । अहिले नेपालमा ६१ वटा सिमेन्ट उद्योगले करिब १ करोड ५० लाख टन सिमेन्ट उत्पादन गरिरहेका छन् ।
अबको दुई वर्षमा यो उत्पादन बढेर डब्बल हुन्छ । ‘हामीले सरकारलाई बारम्बार नेपालमा सिमेन्टको उत्पादन लागत बढी भयो घटाउने प्याकेज दिनुपर्यो भनेर घच्घच्याइ रहेका छौं,’ उनले भने ‘उत्पादन लागत घटाउन सरकारकातर्फबाट राहत प्याकेजको रुपमा अन्तः शुल्क घटाउन लागिएको होला ।’ सरकारले सबै उत्पादित वस्तुको उत्पादन लागत घटाउन अध्ययन समेत गरिरहेको छ ।
सरकारले हाल प्रतिटन स्टिलमा एक हजार ६ सय ५० रुपैयाँ र सिमेन्टमा प्रतिटन एक सय ६० रुपैयाँ अन्तशुल्क लगाउँदै आएको छ । अब कति घटाउने भन्ने विषयको निर्णय भने हुन वाँकी रहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । कर कम लागेपछि सिमेन्ट र स्टिलको हालको मूल्यमा कमी आउने छ । यसको लाभ प्रत्यक्ष रुपमा उपभोक्ताले पाउने छन् ।