काठमाडौं । नागरिक लगानी कोषले ३ अर्ब पुँजी पुर्याउने भएको छ । कोषले बोनस, हकप्रद, एफपीओ निष्कासन गरेर ३ अर्ब चुक्ता पुँजी पुर्याउने योजना अघि सारेको हो । हाल कोषको ९० करोड ३१ लाख सेयर पुँजी रहेको छ । सोमबार कोषको २४ औं साधारणसभाले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१६ नगद लाभांश पारित गरेको छ ।
साधारणसभामा राष्ट्रियसभाले गत चैतमा पारित गरेको नागरिक लगानी कोष ऐनलाई संशोधन गर्न बनेको विधेयकमा कोषको चुक्ता पुँजी तीन अर्ब रुपैयाँ पुर्याउनु पर्ने लक्ष्य तोकिएको बताउँदै कोषका कार्यकारी निर्देशक रमण नेपालले सो पुँजी पुर्याउन हकप्रद विकल्प रहेको बताए ।
साधारणसभामा शेयर लगानीकर्ताहरुले हकप्रदको सट्टा एफपीओ पनि निष्कासन गरेर पुँजी पुर्याउन सल्लाह दिएका छन् । यसको प्रति उत्तरमा कार्यकारी निर्देशक नेपालले पुँजी पुर्याउन एफपीओ पनि विकल्प हुन सक्ने बताएका हुन् । बोनस शेयर पारित पछि कोेषको शेयर पुँजी १ अर्ब १० करोड १८ लाख पुग्ने छ,’ उनले भने ‘अब २०७५/७६ मा पनि सोही अनुपातमा बोनस सेयर जारी गर्न सके नपुग शेयर पुँजी हकप्रद तथा एफपीओबाट पुर्याउन सकिन्छ ।’
नागरिक लगानी कोष ऐन, २०४७ स्वीकृत हुँदा दुई करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी थियो । प्रस्तावित संशोधित विधेयकमा शेयर नेपाल सरकारलाई २३.३४ प्रतिशत, राष्ट्रिय बीमा संस्थान ३१.५५ प्रतिशत, नेपाल स्टक एक लिमिटेडको १० प्रतिशत र सर्वसाधारण २० प्रतिशत रह्ने गरी प्रस्ताव गरिएको छ ।
२०७६ असार मसान्तसम्म कोषमा सहभागीहरूबाट १ खर्ब २३ अर्ब १६ करोड बचत भएको छ । अघिल्लो असारमसान्तसम्म कोषमा १ खर्ब ११ अर्ब ७३ करोड बचत भएको थियो । २०७६ असार मसान्तसम्ममा कोषको लगानी १६.७४ प्रतिशतले बढेर १ खर्ब २४ अर्ब ८७ करोड ९९ लाख पुगेको छ । २०७५ असार मसान्तसम्म कोषले विभिन्न क्षेत्रमा १ खर्ब ६ अर्ब ९७ करोड लगानी गरेको थियो ।
हाल कोषमा ४ हजार ८ सयभन्दा बढी संघ संस्थाका साढे ६ लाख सहभागीहरू आवद्ध छन् । कोषकोे लगानीको दायरा विस्तार गर्न निजी सार्वजनिक साझेदारी मोडेलका परियोजनाहरुमा लगानी गर्ने तथा संस्थागत लगानीकर्ताको रुपमा विभिन्न आयोजनाहरूको शेयर, डिवेन्चर र ब्रण्डमा लगानी गर्ने जस्ता कार्यक्रमहरु अगाडी बढाएको छ । कोषले उत्पादनमूलक क्षेत्रमा सुरक्षित लगानी विस्तारको क्षेत्र पहिचान गर्न र विद्युत्तीय कारोवारलाई सुरक्षित बनाउनु चुनौतिपूर्ण रहेको बताएको छ ।