चन्द्रसिंह साउदको गुनासो- ‘सुबिसुमा आगो लाग्दा समेत नेप्सेलाई दोष दिए’

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेपाल स्टक एक्सचेञ्जको सिस्टमका बारेमा अनाश्यक होहल्ला र टिकाटिप्पणी हुने गरेको गुनासो गरेका छन् । उनले नेप्सेको सिस्टम सञ्चालनका लागि विभिन्न पक्षहरु एकैपटक जिम्मेवार रहने गरेको भन्दै तर जुनसुकै समस्यामा पनि नेप्सेलाई दोष दिने गरेको भन्दै आर्थिक पत्रकारहरुसँग दुखेसो समेत पोखे । ‘अस्ति सुविसुमा आगो [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेपाल स्टक एक्सचेञ्जको सिस्टमका बारेमा अनाश्यक होहल्ला र टिकाटिप्पणी हुने गरेको गुनासो गरेका छन् । उनले नेप्सेको सिस्टम सञ्चालनका लागि विभिन्न पक्षहरु एकैपटक जिम्मेवार रहने गरेको भन्दै तर जुनसुकै समस्यामा पनि नेप्सेलाई दोष दिने गरेको भन्दै आर्थिक पत्रकारहरुसँग दुखेसो समेत पोखे ।

‘अस्ति सुविसुमा आगो लाग्दा इन्टरनेट चल्न छाडेछ तर साथीहरुले नेप्सेको सिस्टम बिग्रियो भन्ने हल्ला गरेछन् ।’ उनले पत्रकारहरुले समेत सोही हल्लाको पछि लागेर समाचार लेख्ने गरेको भन्दै वास्तविक समस्या के रहेछ भन्ने पत्ता लगाएर मात्रै समाचार लेख्न आग्रह समेत गरे ।

‘अनलाइन ट्रेडिङ सुरु भएपछि अनलाइनमा समस्या आयो भन्दै कति पत्रकारले मलाई फोन गरे, यहाँ भएका कम्तीमा पनि ३० प्रतिशत पत्रकारलाई म आफैंले स्पष्टिकरण दिएको छु, तर तपाईँ आफैंले चलाएर हेरेको हो भन्दा होइन फलानोले भनेको भन्नुहुन्छ, म तपाईँहरुलाई कम्तीमा समस्या कहाँनिर रहेछ बुझेर मात्रै समाचार लेख्न आग्रह गर्छु’ साउदले भने ।

उनले अहिले नेपालीहरुको वित्तीय साक्षरताको अवस्था त्यति सबल भइनसकेको भन्दै अन्तराष्ट्रिय स्तरको प्रणाली भित्र्याउने हो भने त्यसलाई धेरै नेपालीहरुले चलाउनै नसक्ने दाबी समेत गरे ।

Share News