काठमाडौं । नेपाली कांग्रेसमा फेरि विभाजनको इतिहास दोहोरिएको छ । ऐतिहासिक जनआन्दोलन २०४६ पछि कांग्रेस दोस्रो पटक औपचारिक विभाजनको अवस्थामा पुगेको हो । लामो राजनीतिक यात्रामा आन्तरिक गुटबन्दी, नेतृत्व विवाद र निर्णयप्रति असहमतिको कारण कांग्रेसले पटक-पटक विभाजन र गम्भीर संकट झेल्दै आएको छ ।
इतिहास फर्केर हेर्दा कांग्रेसभित्र भएका ठूला विभाजनहरूले पार्टीलाई मात्र कमजोर बनाएनन्, देशको समग्र राजनीतिक स्थायित्वमा समेत गहिरो असर पारेका दृष्टान्त छन् ।
नेपाली कांग्रेसमा पहिलो ठूलो फूट २००४ सालमै देखिएको थियो । कांग्रेसको औपचारिक स्थापना हुनुअघि नेपाली राष्ट्रिय कांग्रेस रहेको बेलामा नै डा. डिल्लीरमण रेग्मी समूहसँगको वैचारिक तथा संगठनात्मक विवादका कारण पार्टी विभाजित भएको तथ्य प्राध्यापक राजेश गौतमको नेपाली कांग्रेसको इतिहास पुस्तकमा उल्लेख छ ।
उक्त विभाजनपछि २००४ साल साउन १ गते महेन्द्रविक्रम शाहलाई सभापति बनाएर सुवर्ण शमशेर, महावीर शमशेर राणालगायत नेताहरूले नेपाल प्रजातान्त्रिक कांग्रेस स्थापना गरेका थिए ।
२००७ सालको क्रान्ति सफल भएपछि तत्कालीन प्रधानमन्त्री मातृका प्रसाद कोइराला र नेता बीपी कोइरालाबीचको विवादले कांग्रेस दोस्रो पटक विभाजनको मार्ग समात्यो । पार्टी निर्णयको अवज्ञा गरेको आरोपमा २०१० असार २ गते मातृकाप्रसाद कोइरालालाई सरकारबाट बाहिरिन निर्देशन दिइयो । त्यसको केही दिनपछि साउन १० गते मातृका प्रसाद कोइराला, नारदमणि थुलुङ र महावीरशमशेरलाई पार्टीबाट निष्कासन गरियो ।
त्यसपछि मातृकाप्रसाद कोइरालाले नेपाल प्रजा पार्टी स्थापना गरे र सोही पार्टीको अध्यक्षका रूपमा पुनः प्रधानमन्त्री बने । यस घटनाले कांग्रेसभित्रको फूटलाई संस्थागत मात्र बनाएन, देशको राजनीति नै थप अस्थिर बनायो ।
२०१० देखि २०५१ सालसम्म कांग्रेस औपचारिक रूपमा विभाजित नभए पनि यस अवधिमा धेरै नेताहरूले पार्टी परित्याग गरे । २०१७ सालमा राजा महेन्द्रको ‘कू’लाई समर्थन गर्दै पहिलो विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्रीहरू डा. तुल्सी गिरी र विश्वबन्धु थापाले पार्टी छाडे । त्यसपछि अर्का महामन्त्री परशुनारायण चौधरी, नेविसंघका प्रथम सभापति विपिन कोइराला, शिवबहादुर खड्का र अर्जुननरसिंह केसीलगायत नेताहरू पनि पार्टीबाट अलग भए ।
२०५१ सालमा कांग्रेस पुनः गम्भीर आन्तरिक संकटमा फस्यो । पार्टीभित्रको किचलोका कारण संसद् विघटन भई मध्यावधि निर्वाचनमा जानु पर्यो । यस क्रममा कांग्रेस ‘चौहत्तर’ र ‘छत्तीस’ समूहमा विभाजित भयो ।
उक्त निर्णयविरुद्ध संस्थापक नेता गणेशमान सिंह खुलेर उभिए भने नेता जगन्नाथ आचार्यले पार्टी परित्यागको घोषणा गरे । देशभर कांग्रेसकै विद्रोही उम्मेदवार उठे र परिणामस्वरूप कांग्रेस चुनावमा पराजित भयो ।
सबैभन्दा स्पष्ट र औपचारिक विभाजन भने २०५९ साल असार ४ गते भयो । तत्कालीन सभापति शेरबहादुर देउवाले बानेश्वर भेलामार्फत पार्टी विभाजन गर्दै ‘नेपाली कांग्रेस प्रजातान्त्रिक’ घोषणा गरे । नेतृत्व र कार्यशैलीको विवादले कांग्रेस दुई धारमा विभाजित हुँदा समग्र प्रजातान्त्रिक शक्तिको एकता कमजोर बन्यो ।
इतिहासका यी सबै घटनाहरूले कांग्रेसलाई आन्तरिक लोकतन्त्र, सहमति र संगठनात्मक अनुशासनको महत्व बारम्बार सम्झाइरहेका बेला पुस ३० गते फेरि इतिहास दोहोरिएको छ । विशेष महाधिवेशनको प्रक्रियासँगै बढेको आन्तरिक तनाव अन्ततः पार्टीलाई विभाजनको मोडमा ल्याएको छ ।
यस विभाजनको बीउ असोजमै रोपिएको विश्लेषण हुँदै आएको थियो । पुस २६ गते सम्पन्न विशेष महाधिवेशनपछि विभाजनको आशंका अझ गहिरिएको थियो । अन्ततः पुस ३० गते पार्टीले महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि कारबाही गर्ने निर्णय गरेसँगै नेपाली कांग्रेस फेरि विभाजित भएको हो ।
कांग्रेसको इतिहासले देखाएको यथार्थ यही हो कि आन्तरिक विवादको समाधान संवाद र सहमतिबाट हुन नसक्दा पार्टी मात्र होइन, देशको राजनीति नै अस्थिर बन्ने गरेको छ । अहिलेको घटनाक्रमले पनि कांग्रेसलाई त्यही ऐतिहासिक मोडमा पुनः उभ्याइदिएको छ ।