एफएम रेडियोको कमजोर अर्थशास्त्र र सुधारका मौलिक उपाय
अर्थशास्त्रको सामान्य नियम हो, कमाउने अनि जोगाउने । तर, नेपालका एफएम रेडियोहरूको अभ्यास विविध कारणले सुरुदेखि नै टिकाउने रह्यो । टिकाउने, कमाउने र जोगाउनेसम्म पुग्नै पाएन । त्यसैले अहिले नेपालका समग्र एफएम रेडियोहरूको अर्थशास्त्र ऋणात्मक ग्राफतिर छ । कोरोना महामारी पछिको आर्थिक मन्दी, देशमा भित्रिने वैदेशिक अनुदानको संकुचन, ‘कन्टेन्ट’ दिने मोबाइलवालाको विगविगी, तीनै तहका सरकारको अनुदार रवैयाजस्ता तमाम कारणले रेडियोका संस्था र तीनमा कार्यरत रेडियोकर्मीहरूको ‘अर्थ संसार’ तिल्मिलाएको छ । यस्तो विषम परिस्थितिमा पुषको कठ्याङ्ग्रिने चिसो छल्दै देशभरका सामुदायिक रेडियोका सञ्चालकहरू यतिबेला पर्यटन गन्तव्य सौराहामा जम्मा छन् । झण्डै साढे ३ सय बढी सामुदायिक रेडियोहरूको छाता संस्था सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १९ औं साधारण सभामा सहभागी हुन उनीहरू सौराहा पुगेका हुन् । सँगै ‘डिजिटल युगमा रेडियो’ नारासहित राष्ट्रिय रेडियो सम्मेलन पनि हुँदैछ । यसबेला मलाई चाहिँ हालैको यात्राको सन्दर्भले चिमोटिरहेको छ । जुन यात्रा काठमाडौंसँग जोडिएको धादिङदेखि सुदूरपश्चिमको धनगढीसम्मको थियो । जसमा झण्डै ५० जना सामुदायिक रेडियोका सञ्चालकहरूसँग सम्वादको मौका मिल्यो । राजमार्ग आसपासका १० जिल्लाका यी साथीहरूसँगको भेटले घरि आशा जगायो । घरि चिन्ताले चिमोठ्यो । घरि पीडाले पोल्यो । आधा दशक अघिसम्म रेडियोको प्रभाव र स्रोताको आँकडा लोभलाग्दो थियो । धानिन स्रोत पनि नपुग्दो थिएन । नियमित कार्यक्रम वा समाचारमा काम गर्ने रेडियोकर्मी आफ्नो कभरेज क्षेत्रका ‘सेलिब्रेटी’ हुन्थे । हरेकजसो स्टेशन म्यानेजरको टेबलमा रेडियोमा प्रवेश चाहने युवाहरूका ‘सीभी’का चाङ हुन्थे । स्टेशनमा गजब रौनक हुन्थ्यो । कार्यालय व्यस्त हुन्थ्यो । बिहान सबेरैदेखि बेल्का अबेरसम्म भीडभाड हुन्थ्यो । कार्यक्रम उत्पादन गर्न, विज्ञापन बनाउन र फिल्ड जान रेडियोकर्मीलाई असिनपसिन हुन्थ्यो । अनि नयाँ पुस्ता ‘सोसल प्लेटफर्म’ तिर अलमलिँदा रेडियोजस्ता अन्य परम्परागत मिडियामा युवा सहभागिता घटेकै हो । प्रविधिका हिसाबले सर्टवेभ, मेडियम वेभ हुँदै नेपालको सन्दर्भमा कान्छो मानिएको एफएम रेडियो केही वर्ष अघिसम्म युवाहरूको ढुकढुकी मानिन्थ्यो । कार्यक्रम सञ्चालक युवा हुन्थे । पत्र लेख्ने, फोन गर्ने र सुन्ने स्रोता युवा हुन्थे । गाउँगाउँमा रेडियोका श्रोता क्लब बनेका थिए । यस्ता क्लबमा बस्न युवाहरूवीच प्रतिष्पर्धा चल्थ्यो । तर, ती दिन अहिले छैनन् । अहिले रेडियोमा सानो टीम छ । थोरै कार्यक्रम वा समाचार बुलेटिन छन् । विज्ञापन उत्पादन आक्कलझुक्कल हुन्छ । भीडभाड हुनै छाड्यो । रेडियोकर्मीहरूलाई उहिले जस्तो समयको हतारो र कामको चटारो छैन । नयाँ पुस्ताको आकर्षण छैन । रेडियोको अर्थशास्त्र कमजोर हुँदा सबै पक्ष असरल्ल छ । विस्तारै स्रोत र श्रोता साँघुरिदै गए । यसले नेपालमा जनस्तरबाट झण्डै ५ अर्ब लगानी भएको ठूलो नागरिक अभियानको भविष्य अन्यौलमा फसेको छ । यसले विपदका बेलाको साथी र लोकतान्त्रिक अभियानको मुख्य प्रेरक रेडियोलाई कमजोर बनाएको छ । गाउँको मिडिया, आपतको मिडिया, फ्री मिडियाको पहिचान बनाएको रेडियो अब के हुन्छ भन्ने प्रश्न सामुन्ने आएको छ । यद्यपि सबै निराशाका उदाहरण मात्र छैनन् । यात्राका क्रममा केही आशालाग्दा उदाहरण देखिए । रेडियोहरूले मौलिक उपायमा बाँच्न सिकेका छन् । उनीहरूले वैकल्पिक स्रोत पहिल्याउन थालेका छन् । खर्च घटाउन एकापसमा ‘कन्टेन्ट सेयरिङ’ गर्न थालेका छन् । अनुसन्धानबाट स्रोत भित्र्याउन थालेका छन् । डिजिटल प्लेटफर्ममा उपस्थिति बलियो बनाएर आर्थिक स्रोत जोहो गर्न थालेका छन् । अरू पनि धेरै उदाहरण होलान् । धादिङको धार्केमा स्थानीय तहको स्रोतमा मिलेर रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण अभ्यास भैरहेको छ । नवलपरासीका तीनवटा सामुदायिक रेडियो मिलेर ‘कन्टेन्ट सेयरिङ’ गरिरहेका छन् । कपिलवस्तुका अधिकांश सामुदायिक रेडियोहरूको आफ्नै घर छ । उनीहरूले प्रदेशलगायतका सरकारसँग साझेदारी गर्दा यस्तो सम्भव भएको हो । अहिले उनीहरूलाई मासिक भाडा तिर्ने वा स्टुडियो उजाडेर घर सर्ने पीर छैन । नेपालगन्जको कृष्णसार एफएमले डिजिटल माध्यमबाट अडियो तथा भिजुअल ‘कन्टेन्ट’बाट पहुँच र आम्दानी बढाउन बल गरिरहेको छ । बर्दियाको गुर्वावा एफएमको टीमले थारु संस्कृतिको अध्ययनमा स्रोत पहिल्याउन थालेको छ । यसरी स्थानीय रेडियोहरूले आफ्नो रुचि, क्षमता र सम्भावनाअनुसार आफ्नो लामो अभ्यासले बनाएको विश्वासको ‘ब्राण्ड’लाई नयाँ सम्भावनाको आँखाबाट हेर्न थालेका छन् । यी उदाहरणले अभावमा जेनतेन धकेलिरहेका रेडियोहरूलाई ऊर्जाको सन्देश दिन सक्छ । धादिङको धार्केमा रहेका कृषि र राजमार्ग एफएम मिलेर स्थानीय सरकारसँग स्रोतमा सहकार्य गर्ने र कन्टेन्ट पनि एउटै उत्पादन गरेर प्रसारण सहकार्य गरिरहेका छन् । यसो गर्दा आपसी सहकार्य र विश्वास बढेको कृषि एफएमका उपेन्द्र अधिकारीको भनाइ छ । नवलपरासीमा झण्डै डेढ दशकदेखि सामुदायिक रेडियोमा सक्रिय मेघराज गौतमका अनुसार स्थानीय तीनवटा रेडियो मिलेर ४ वर्षदेखि समाचारमा साझेदारी सुरु भएको छ । उनीहरूले आफूसँग भएका समाचार एउटै स्टुडियोमा संकलित गरेर अडियो पस्किन्छन् र सबैले त्यही एकसाथ प्रसारण गर्छन् । हाल रेडियो परासीले यसको संयोजन गरिरहेको छ । बिहान र बेलुका २ वटा बुलेटिनमा यो अभ्यास भैरहेको छ । परासी, दाउन्ने र सुनवल एफएममा एकसाथ यी बुलेटिन प्रसारण हुन्छन् । जनशक्ति र आर्थिक हिसावले भार उठाउन सहज होस् भनेर समाचारमा साझेदारी सुरु गरिएको दाउन्ने एफएमका अध्यक्ष नारायण पाण्डेको भनाइ छ । ‘हाल मोबाइल बोकेर भिडियो खिच्ने सबै मिडिया जस्ता भएका छन् । कार्यालय, टीम र आचरणमा रहने मिडियालाई बाँच्न गाह्रो भएको छ,’ परासी एफएमका संस्थापक अध्यक्ष सुमन आचार्य भन्छन्, ‘रेडियो सबैको हुनुपर्छ । मोबाइल बोक्नेवालालाई चाहिँ ‘पैसा दिनेको भए’ पुग्छ । त्यसैले अवसर र स्रोत त्यतै जान्छ ।’ विश्वासको पिलर रेडियो रैछ, कतिले त समाचार सत्य हो कि होइन भनेर ‘क्रसचेक’ गर्न मात्रै रेडियोलाई सम्झिन्छन् । बुटवलमा लामो समयदेखि रेडियो स्टेशनको नेतृत्व गर्दै आएकी कल्पना तिवारीको अनुभवमा संघीयता आएपछि नजिकका लाग्ने आसपासका स्थानीय सरकार टाढिए । पहिले जिल्लाभरका स्थानीय सरकार र अन्य कार्यालयसँग सहकार्य हुन्थ्यो । अहिले जुन पालिकामा कार्यालय छ त्योबाहेक अरूले अर्को पालिकाको भनेर टाढाको व्यवहार गर्छन् । दाङको रेडियो हाइवेका प्रमुख लीला शाहको अनुभव पनि उस्तै छ । उनी भन्छिन्, ‘संघीयताले फाटो पार्यो । एउटा पालिकाले अर्को पालिकाका पत्रकार वा मिडिया मान्दैनन् ।’ ‘टिक्ने ज्ञान चाहियो । श्रोता होइन, बजार (स्रोत) घट्या हो । बजार चाहिँ बजार (सहर)तिरका स्मार्ट मोबाइल चलाउनेको हातमा छ,’ उनले थपिन् । जेन्जी आन्दोलनपछि देशका अधिकांश सरकारी कार्यालयहरूले रेडियोलगायत मिडियाका लागि विनियोजित बजेट पुनःनिर्माणका लागि भन्दै रकमान्तर गरेका छन् । दिन नपरे हुन्थ्यो भन्नेहरूका लागि यो बहाना पनि बनेको छ । सार्वजनिक सुनुवाइलगायतका लागि स्थानीय रेडियो र पालिकाबीच सहकार्य भैरहेको थियो । यो साझेदारी पनि जेन्जी आन्दोलन पछि रोकिएको छ । नाम कमाएका धेरै रेडियोकर्मी अहिले अन्यौलमा छन् । पैसा पनि छैन । भविष्यको टुंगो पनि छैन । अनुभव र नाम बेकार हुन लागेको जस्तो भएको छ । यसले मानसिक तनाव र पारिवारिक असजिला बढाएको छ । रेडियोको अर्थशास्त्र बिग्रँदै गएपछि रुपन्देहीको जागरण एफएमका विनोद परियार झन् चिन्तित सुनिए, ‘करिअर यही भो । छोड्न सकिँदैन, बाँच्न गाह्रो भो ।’ रेडियोहरूले घर बनाए पनि हाल आएर कपिलवस्तुका रेडियोकर्मीहरूको घर बस्न भने समस्या रहेको केहीको पीडा थियो । रेडियोमा काम गर्नेलाई छोरी दिन नमानेपछि केही रेडियोकर्मीहरू कलेज पढाउन थालेर नयाँ परिचयबाट घरजम गरेको उनीहरूले सुनाए । व्यक्तिगत गोपनीयताका कारणले नाम उल्लेख गरिएन। २०७२ सालमा दाङको देउखुरीमा खुलेको ‘साझा आवाज’ रेडियोका संस्थापक दुखराम यादवको कथा झन् विरक्तलाग्दो छ । उनको रेडियो गाउँमा छ । राम्रा विषयमा कार्यक्रम, समाचार प्रसारण गरेकोमा धन्यबाद कसैले भन्दैन । केही कमीकमजोरी वा बदमासीका खबर बनाए धम्की आउँछ । उनी भन्छन्, ‘समाजलाई सुसूचित गर्ने भनेर गाउँमा रेडियो खोलियो । तर, अब कति सकिएला र ? २ छोरी छन् । उनीहरू हुर्कदैछन् । मैले उनीहरू सँगै हुर्काएको रेडियोले मात्रै बचाउला जस्तो छैन । खास ऊर्जाको उमेर रेडियो भन्दै बित्यो, अब ४० पुग्न लाग्दा के गर्ने होला सोच्दा मन अमिलो हुन्छ ।’ चर्चित रेडियोकर्मी दिपेन्द्र खनियाँको हालै भएको असामयिक निधन पछि रेडियो क्षेत्र झन् आतंकित बनेको छ । अन्तिम बिदाइमा भेटिएका वरिष्ठ रेडियोकर्मी आरके श्रेष्ठले नेपाली रेडियो इन्डष्ट्रीको उँधोगतिसँग खनियाँको निधनको प्रसंग जोडेका थिए । पछि आफ्नो सामाजिक सञ्जालमा पनि उनले लेखेका छन्, ‘उसको निधनले केवल रेडियो उद्योगलाई मात्र नभई सम्पूर्ण समाज र राज्यलाई गम्भीर चेतावनी दिएको छ । रेडियो उद्योग गहिरो आर्थिक संकटमा छ, तर राज्यले कुनै चिन्ता वा उचित नीति अपनाएको छ्रैन । खनियाँको निधन केवल व्यक्तिगत दुर्घटना नभई उद्योगको संकटको प्रतीक बन्न सक्छ । सरकारले गम्भीरतापूर्वक ध्यान नदिए यस्ता घटना पुनः दोहोरिन सक्ने सम्भावना रहन्छ ।’ अकोराबको सुदूरपश्चिम प्रदेशका अध्यक्ष वेदप्रकाश तिमल्सिनाका अनुसार रेडियो बन्द गरेर कोही भारतको बम्बै त कोही अन्य देश हिँड्न बाध्य भएका धेरै उदाहरण सुदूरपश्चिममा छन् । बैतडीको खोड्पेमा रहेको सेभेन स्टार एफएमका अमर भट्टराईको दुखेसो छ, ‘आफू सकिने कि रेडियो जोगाउने ? रेडियो जोगाउन लाग्दा आफू सकिने अवस्था आउन लाग्यो ।’ गाउँमा रेडियो र अनलाइन मिडियाको संख्या बढी तर स्रोत चाहिँ घटी हुँदा आफ्नोतिर ‘झुपाझुपा अनलाइन, डल्लीडल्ली रेडियो’ भन्ने उखानै चलेको उनी सम्झन्छन् । सुदूरपश्चिममा झुपाको अर्थ घर र डल्लीको अर्थ गाउँ हुन्छ । ‘असारमा पालिकामा डेढसय बीलका फाइल पुग्छन् । पत्रकार १० जना छैनन्,’ बैतडीको मेलौली रेडियोका लक्ष्मण विसी भन्छन्, ‘यस्ता फाइललाई बैतडीमा कार्यालय प्रमुखहरूले ‘लभ्ली’ फाइल नाम राखेका छन् । यसको अर्थ हो पैसा नदिने फाइल ।’ यस्ता मौसमी मिडियाका कारणले पनि संस्थागत रेडियोहरूलाई बाँच्न समस्या भएको छ । डिजिटल युगमा सूचना लिनेदिने माध्यम बढे अनि विकल्प फेरिएकै हुन् । त्यसैले हाम्रा श्रोता र स्रोत पनि बाँडिएका पक्कै हुन् । तर, लक्षित श्रोता वा स्रोत समात्ने हो भने अझै सम्भावना सकिएको छैन । विकसित र ठूला देशमा अझै यसको प्रभाव उस्तै छ । उनीहरू यो सकिँदैन, फेरिन्छ भन्नेमा विश्वास गर्छन् । ३० वर्षदेखिको हाम्रो अभ्यासको जगमा रेडियो विश्वासको ‘ब्राण्ड’ बनेको छ । यही रेडियोको पुँजी हो । यही हो अब बेच्न सकिने । टावरको प्रसारणका अलावा प्रविधिले दिएको अवसर उपयोग गरेर डिजिटल युगका उपहार भएभरका ‘सोसल प्लेटफर्म’बाट उपस्थिति बढाउन सकिन्छ । खर्चिलो टावर र ट्रान्समिटरको प्रसारण सकिए पनि इन्टरनेटमा आधारित कम लागतमै हुने प्रसारणको अबसर झन् फैलँदो छ । पछिल्लो समय सरकारले अनलाइन रेडियोहरूलाई पनि इजाजत दिने नीति दिएर यसलाई सहज बनाइदिएको छ । त्यसै पनि संसारभर अनलाइन रेडियोको अभ्यास पनि उल्लेखनीय रूपमा लोकप्रिय छ । यस्तो अनलाइन रेडियोको अभ्यास गाउँसम्मै पुगेको छ । हालै चितवनको सौराहाको एक क्याफेमा कफी खान छिर्दा त्यहाँ ‘भ्वाइस अफ सौराहा’ स्लोगनमा अनलाइन रेडियो सौराहाको स्टीकर टाँसिएको देखियो । ट्युन गर्दा गीत घन्किरहेको थियो । हाम्रो पात्रो, नेपाली पात्रो, रातोपाटी लगायतका माध्यमबाट पनि यो सुन्न मिल्ने बनाइएको रहेछ । भारतमा केही एफएम रेडियोले भिडियोबाट स्टोरी उठाएर अडियोमा प्रवेश गराउने अभ्यास गरिरहेका छन् । भिडियोबाट मानिसहरूलाई स्टोरीको स्वाद चखाएर अडियोबाट पूरा सामग्री पस्किने शैली नौलो छ । अकोराबका पूर्वअध्यक्ष मोहन चापागाईं पूराना कुरा सम्झन्छन्, ‘मदनपोखरा एफएमले सामुदायिक वनमा सहकार्य गरेर दाउरा लिन्थ्यो । त्यो बेचेर नगद आम्दानी गर्थ्यो । यसरी स्थानीय रूपमा सबै रेडियो बसेर स्थानीय आइडिया संकलन गरी कार्यान्वयनको पहल गर्दा केहि हुन्छ कि ?’ नेपाली रेडियोहरूको योगदान अहिले सबैले भुलेजस्तो देखिन्छ । कोरोना महामारीमा ‘रेडियो स्कुल’ चलाएर शिक्षामा कसरी टेवा दिए ? भूकम्पमा बारीका कान्ला पुगे पनि तत्काल सही सूचना दिएर कसरी अफवाहको त्रासबाट जोगाए ? २ वर्ष अघिको भूकम्पमा जाजरकोटमा कसरी रेडियोले स्थानीयलाई सूचनासँग जोड्ने काम गरे ? मौसमी सूचनाबाट बालीनाली जोगाउन कसरी रेडियो काममा आउँछन् ? नेपालको लोकतान्त्रिक आन्दोलन राजा ज्ञानेन्द्रले ‘कू’ गर्दा कसरी रेडियोले जनमत निर्माणमा भूमिका खेले ? जगजाहेर छ । गाउँमा अझै श्रोता छन् । श्रोता मात्र होइन, स्रोत पनि छ । गाउँ सहर ओहोरदोहोर गरी बाँकेको राप्तीसोनारीमा रेडियो भुवरभवानी सञ्चालन गर्ने अर्जुन वली नेपालगञ्ज बस्छन् । गाउँस्रोत व्यवस्थापनका लागि सहरभन्दा सजिलो भएको उनको अनुभव छ । नजिकको स्थानीय सरकारले स्थानीय मिडियाको संस्थागत विकासका लागि अपनत्व नलिँदा गाह्रो भएको धारणा बाँकेकै कृष्णसार एफएमका स्टेशन म्यानेजर सावित्री गिरीको छ । ठूला र विकसित मुलुकमा उपकरणमा सुधार गरिएको छ तर, रेडियो मिडिया ‘डेट एक्सपायर’ भएको छैन । सन् २०१७ मा नर्वेले एनालग सिस्टम बन्द गरेर डिजिटलमा गयो भने सन् २०२४ मा स्वीट्जरल्याण्डले डिजिटलमा फड्को मार्यो । त्यहाँ पनि रेडियो जीवित छ, प्रविधिमात्र फेरिएको छ । बरु हाम्रो सरकार भने यस विषयमा संवेदनशील देखिएन । जनस्तरबाट झण्डै ५ अर्ब बढीको लगानी भएको, झण्डै १० हजार जनशक्तिलाई आश्रित र बर्सेनि नवीकरण, रोयल्टी लगायत शीर्षकमा करोडौं राजस्व तिरिरहेका रेडियो सञ्चालक र रेडियो पत्रकार लगायतको जनशक्ति र संस्थागत विकासमा सरकारको कुनै भूमिका हुँदैन ? ‘जनताको लगानी भएका अनि बन्द भएमा स्वतः सरकारको सम्पत्तिमा जाने सामुदायिक रेडियोहरूका लागि अभिभावक बन्न सरकार किन चाहँदैन ? नेपालको सामुदायिक रेडियो अभियानले यो प्रश्नको जवाफ पाएको छैन,’ अकोराबका अध्यक्ष अर्जुन गिरीको भनाइ छ । पंतिकारले विगत एक दशकदेखि विषयगत रेडियो, कन्टेन्टमा साझेदारी, संस्थागत मर्जर वा रेडियो नखुलेका ठाउँमा बढी संख्या भएका ठाउँका रेडियोको स्थानान्तरण अबका विकल्प हुन् भनेर लेख्दै बोल्दै आएको हो । योजनावद्ध, लक्ष्यित श्रोता पहिल्याएको र स्तरीय कन्टेन्ट दिने हो भने दिनभरि रेडियो फुक्नु पर्ने रहेनछ भन्ने तथ्य अन्तर्राष्ट्रिय अनुभवहरूले बताउँछ । बढीमा २ घण्टा प्रसारण हुने रेडियो पनि धेरै देशमा छन् र प्रभावका मोटा किताब उनीहरूसँगै छन् । त्यसैले एउटा सहरमा एउटा टावरबाट भएका सबै रेडियोहरू लक्षित समुदायका बीचमा फर्किन सकिन्छ । २०५३÷५५ सालतिर रेडियो नेपालको १०० मेगाहर्जमा कान्तिपुर, हिट्स र क्लासिक लगायतका रेडियो अटाएको उदाहरण हामीसँगै छ । प्रविधिको लय समातेर ट्रान्समिटरबाट बाहिर निस्केर पनि केही गर्न सकिन्छ । रेडियो सगरमाथाले सुरुसुरुमा ब्रान्डिङका लागि फत्तेमान साँझ गरे झैं हामीले विभिन्न खालका इभेन्ट्स, अतिरिक्त प्रकाशन आदिबाट स्रोत र श्रोता फर्काउन सकिन्छ । देशभरका रेडियोहरूको साझा कन्टेन्ट बैंक बनाएर आवश्यकता अनुसार उपयोग गरेर प्रोडक्सनमा ठूलो खर्च घटाउन सकिन्छ । यी साझा पहल भए । आफ्ना मौलिक विकल्पबाट पनि यसको आयु र प्रभाव बढाउँदै लान सकिन्छ । त्यसै पनि एसियाली मुलुकमा नेपालको सामुदायिक रेडियो अभियान अगुवा मानिन्छ । नेपालको झण्डै ३० वर्षे एफएम रेडियो अभ्यासमा विभिन्न कारणले करिब ५ सय रेडियो बन्द भए । यो क्रम कोरोना महामारीपछि ह्वात्तै बढ्दो छ । अब कि गाभिनु (मर्ज) कि मासिनुको विकल्प छैन । मासिनु पर्ने अप्रिय अवस्थाबाट जोगाउन बैंकिङ क्षेत्रमा राष्ट्र बैंकजस्तै हस्तक्षेपकारी सहयोगी अभिभावक चाहिएको छ । यी विविध सन्दर्भपछि एउटा सिधा र स्पष्ट प्रश्न उठ्छ, ‘सरकार तिमी रेडियो र रेडियोकर्मीका पनि होइनौ र ?’
अमेरिका : त्यसैले त सपनाको देश !
सन् २०१९ को अन्त्यतिर विश्वव्यापी महामारीको रूपमा कोभिड–१९ फैलियो । जसले गर्दा २०२० को जुनमा अमेरिका उड्ने मेरो योजना स्थगित भयो । सन् २०२१ मा उक्त कार्यक्रम भर्चुअल सहभागितामै सकियो । तर, विस्तारै कोभिड महामारी नियन्त्रणमा आयो अनि त्यो अवसर मेरो सामुन्ने फेरि आइपुग्यो । अन्ततः मैले सन् २०२२ को नोभेम्बरमा अमेरिकाको राजधानी वासिङ्टनडीसी ओर्लिने शौभाग्य पाएँ । सपना देख्ने धेरैका आँखामा बसेको मुलुक मानिन्छ अमेरिका । संसारभरका मानिसहरूका लागि एकपल्ट पुग्नै पर्ने सपनाको देश लाग्छ । त्यहाँ त्यस्तो के होला त ? यो प्रश्न मेरो मनमा पनि थियो । म करिब ५ साताको यात्रामा अमेरिकी सरकारको निम्तोमा त्यता निस्किएको थिएँ । कौतुहल नयनका साथ मैले अमेरिकी माटोमा पाइला टेकेको थिएँ । विश्वभरका युवाहरुका लागि सञ्चालित ‘इन्टरनेशनल भिजिटर लिडरसिप प्रोग्राम’ ले यस्तो अवसर जुराइदिएको थियो । झण्डै ८५ वर्षदेखि नियमित रूपमा सञ्चालित यो कार्यक्रममा विभिन्न पेशा र क्षेत्रका युवाहरूलाई विश्वभरबाट सामेल गरिन्छ । यो कार्यक्रममा अमेरिकाको ऐतिहासिक पृष्ठभूमि, विकास र सभ्यता बारे बुझाउने गरिन्छ । यसका साथै विभिन्न राज्यहरूको भ्रमण गराउँदै विषयगत ज्ञान र सीप आदानप्रदान गरिन्छ। म सहभागी कार्यक्रम ‘मिथ्या सूचनाको युगमा मिडियाको जिम्मेवारी’का विषयमा केन्द्रित थियो । यसमा १३ देशबाट १८ जना पत्रकारहरू सहभागी थियौं । कोभिड टेस्टको लय सँगै आईभीएलपीको ज्ञानयात्रा पूरा भएको थियो । तीन सातामा विभिन्न राज्यका ऐतिहासिक स्थलहरुको अवलोकनसँगै विषयगत छलफलहरुमा सरिक हुने मौका मिल्यो । अमेरिकाको स्टेट डिपार्टमेन्ट, जर्ज वासिङ्टन युनिभर्सिटी, इन्भेष्टिगेटिभ जर्नालिष्टहरुको इन्टरनेशनल कन्सोर्टिएम, पार्लियामेन्ट, जर्जिया युनिभर्सटीको ग्रेडी कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन लगायत संस्था र प्रख्यात वरिष्ठ पत्रकारहरु सँग अन्तर्क्रियाको मौका जुर्यो । यसक्रममा ५० वर्ष पत्रकारितामा बिताएका वरिष्ठ प्रशिक्षक अल टम्किन्ससँग भ्रामक सूचनाबाट बच्न पत्रकारले अपनाउनु पर्ने सावधानीका बारेमा गज्जबको सम्बाद गर्न पाइयो । विश्वप्रख्यात पोइन्टर इन्स्टिीच्युट अफ मेडिया स्टडिजमा उहाँसँग फ्लोरिडाको सेन्ट पिटसबर्गमा यस्तो मौका मिल्यो । समग्रमा आईभीएलपीमा सहभागी पेशागत ज्ञान आर्जनका लागि महत्त्वपूर्ण सिकाइका रूपमा रह्यो । टाइमजोन फरक हुने भएकाले ट्रान्जिट समेत झण्डै २४ घण्टाको हवाइ यात्राका क्रममा बाटोभरि अँध्यारो मात्रै पर्नेरहेछ । वबहानपख ओर्लदा डिसी चम्किलो उज्यालोमा आफ्नै गतिमा दौडिरहेको थियो । जहाजले जमिन तिरको उचाइँ घटाउँदै जाँदा वासिङ्टन डुलस इन्टरनेशनल एअरपोर्टबाट अमेरिकाको पहिलो दर्शनमा आसपासको दृष्य हरियाली सहितको योजनाबद्ध भौतिक पूर्वाधार सुसज्जित देखियो । सँगै पढेका साथीभाइ र आफन्तको भरले म कार्यक्रम सुरु हुनु भन्दा झण्डै १० दिन पहिले पुगेको थिएँ भने फर्किँदा पनि करिब एक साता बढ्ता लम्ब्याएको थिएँ । कार्यक्रमका दौरान ४ वटा राज्य घुम्ने मौका मिल्यो भने साथीभाइका कारणले ५ वटा थप राज्य घुम्ने मौका पाएँ । खासगरी अमेरिकाका प्रमुख एक दर्जन जति शहर घुम्ने अवकरिब एक महिना बढीको अमेरिका बसाइँका क्रममा मिल्यो । अलिकति उत्साह, अलिकति अंग्रेजी भाषाको डर अनि अलिकति केही देख्ने सिक्ने रहर बोकेर म अमेरिका पुगेको थिएँ । कतार एअरको सयौं यात्रु बोक्ने बडेमानको वोइङ जहाजमा दोहा हुँदै मेरो रुट थियो । संयोगले तीन सिटे लहरमा म मात्र यात्रु थिएँ । जसका कारण आकाशमा मज्जाले सुतेर यात्रा गर्ने सौभाग्य मिल्यो । यात्राको थकान, निद र बेलाबेला जहाजको टर्बुलेन्सका कारण मन डराइरहेका बेला कतार एअरका परिचारिकाहरू ‘एक्सक्युजअस’ भन्दै खानपिनको सेवा दिइरहन्थे । उनीहरुको ‘हस्पिटालीटी’ तारिफयोग्य लाग्यो । जहाजबाट झर्ने वित्तिकै ‘वाइफाइ कनेक्ट’ गर्न हतारो भयो । दोहाबाट डीसीको झण्डै १४ घण्टाको फ्लाइट थियो । मेरो जिवनको यो पहिलो लामो हवाइ यात्रा पनि थियो । सञ्चार सम्पर्क लामो समयसम्म नहुँदा मन अलि आत्तिने रहेछ । वाइफाइ जोडिने वित्तिकै सहपाठी साथी निदेश अधिकारीसँग कुरा भयो । अर्को साथी बाबुराम खरेलसँग कुरा भयो । दुवैजना मलाई ‘रिसिभ’ गर्न एअरपोर्ट बाहिर पर्खिरहेका थिए । इमिग्रेसनको औपचारिकता पूरा गरेर लगेज बुझेर अमेरिकाको खुला आकाश तर्फ अघि बढें । निदेशसँग बाबुनानी पनि सँगै थिए । बेलुन र बुकी सहित साथीहरुबाट स्वागत पाइयो । एअरपोर्टदेखि नजिकैको भर्जिनियाँस्थित मनासससम्मका लागि हामी गाडीमा चढ्यौं । अमेरिकी भूगोल स्पर्श सहितको पहिलो नजारामा सिनेमाको रीलझैं लाग्ने दृष्य देखिए । भौतिक विकास र मानव जीवनशैली अचम्म लाग्दो गरी समान गतिमा कुदेको अनुभव भयो । जहाँ जाउँ उस्तै । जे सोच्यो त्यही पुगे जस्तो । हरेक व्यक्तिसँग निजी कार सामान्य छ । असाध्यै पूराना र ठूला शहरमा बाहेक अन्यत्र त निजी कार हुनु अनिवार्यजस्तै छ । नत्र त दैनिकी चल्नै मुश्किल हुने रहेछ । उपभोग्य सामान किन्न होस् कि काम गर्न होस् टाढै पुग्नु सामान्य हो । वासिङटन डिसी, न्युयोर्क, बाल्टिमोर, फिलाडेल्फिया, पेन्सिलभेनिया, एटलान्टा, डालस, ह्युस्टन, लसएन्जल्स, सेन्ट पिटसवर्ग, टेम्पा लगायत शहर घुम्ने मौका मिल्यो । अमेरिकामा आधुनिकता र मौलिकताको अद्भुत संयोजन देखियो । आदिवासी संरचना र अत्याधुनिक विकास एकै ठाउँमा अवस्थित देख्दा आश्चर्यचकित भएँ । सफा बाटो, खुला सोच, व्यवस्थित सिस्टम, स्मार्ट पार्किङ, वृृद्धहरूप्रतिको व्यवहार, रिटायर्ड नागरिकहरुले दिने होम हस्पिटालिटी– यी सबैले अमेरिका के हो भन्ने बुझाउने अवसर दियो । हर्सी चकलेट, कोकाकोला जस्ता चर्चित ब्राण्डका उद्योग भिजिट गर्न पाइयो । उनीहरुले उत्पादन र उद्योगलाई पर्यटसँग गज्जबले जोडेका छन् । हामीकहाँ जस्तो सुरक्षागार्ड उभिएका बडेमानका बन्द गेट त्यहाँ हुँदा रहेनछन् । पूराना संरचनाहरुको संरक्षण, जातीय पहिचानको निरन्तरतामा आधुनिक अमेरिकाले उसै गरी टेको दिइरहेको रहेछ । आदिवासी रैथाने वस्तीमा अहिले पनि उही सभ्यता बाँकी छ, पयर्टन स्थलका रुपमा मानिस पुग्दा रहेछन् । बसाइँका क्रममा केही प्रतिनिधिमुलक नेपाली समुदायसँग भेट भयो । उनीहरुको समग्र प्रगति गौरव गर्न लायक देखेँ । नेपाली समुदायभित्रको एकता, सहयोगभाव, सफलता र संस्कारको समिश्रण देख्दा मन आनन्दित भयो । पत्रकारिता पढ्दाका कलेजका साथी निदेश अधिकारीले भर्जिनियामा गज्जवले व्यवसाय गरेका छन् । त्यहीँ बाबुराम खरेलले सूचनाप्रविधिमा विशेषज्ञ सेवा दिन्छन् । बाल्टिमोरमा चर्चित गायक प्रेमराजा महतको रेष्टुरेन्टमा नेपाली स्वादमा रमाउन पाइयो । काठमाडौं छिर्ने वित्तिकै मैले पहिलो पल्ट काम सुरु गरेको जन्मभूमि साप्ताहिकका सहसम्पादक तरुण पौडेलसँग झण्डै २ दशक पछि त्यहीँ भेट भयो । व्यवसायसँगै उनको सामाजिक छवि पनि अनुभूत गर्न पाइयो । संयोगले बाल्टिमोरमै रहेकी माता देवीसँग आत्मीय भेट भयो । पेन्सिल्भेनियाको ल्यानकाष्टरमा बसेर सहपाठी विष्णुहरी घिमिरे पत्रकारितामै रमाएको भेटिए । न्यूयोर्कको यात्रा भने अलि हतारोको रह्यो । लक्ष्मीपूजाको दिन थियो । टुर गाइडझैं खटिएर साथी बालकृष्ण बस्नेतले न्युयोर्कका करिब देख्नै पर्ने स्थानमा एकै दिनमा शहर घुमाइ दिएका थिए । फटाफट समय मिलाउने उनको कौशल गज्जव थियो । टेक्ससको डालसमा संस्थागत रुपमा स्वागत गर्ने नेपाल अमेरिका पत्रकार संघ र त्यसका अगुवा विकास न्यौपाने, सुरज भण्डारी, ओम आचार्य लगायत पत्रकारहरुको आत्मियता स्मरणीय रह्यो । यहीँ सिनियर पत्रकार रामचन्द्र भट्ट, संजय घिमिरे लगायतसँग भलाकुसारीको मौका मिल्यो । सहपाठी भोला आचार्यले ठाउँ सरेका र विनय देवकोटा नेपाल फर्केकाले त्यहाँ भेट जुरेन । लसएन्जल्समा काठमाडौं पढ्दाताका रुम पार्टनर कृष्ण आचार्यको विजनेसको साक्षी हुन पाइयो । उनी पहिल्यैदेखि व्यापारमा रमाउँथे । उता पुगेर पनि मनग्गे व्यवसाय गरिरहेका रहेछन् । यसरी जहाँजहाँ पुगियो साथीहरुको आत्मिय समय पाइयो । मज्जाले घुमियो अनि कहिल्यै भुल्न नसकिने मेजमानी खाइयो । काठमाडौं आउँदा सुरुमा हामी बाहिरकालाई स्टोभ बाल्ने सलाई किन्ने पैसा नहुँदा समेत भोकै पर्नु पर्ने अवस्था थियो । सात समुन्द्र पारीको अमेरिकामा पनि सुरुसुरुमा पुग्ने नेपालीहरुलाई आफन्त, साथीभाईको अभाव खट्कियो होला । तर, अब त जता जाउँ नेपाली नपुगेको ठाउँ छैन । चाडवाडमा भव्य उत्सब हुने रहेछ । भर्जिनियाको मनाससमा तिहार मिलन कार्यक्रममा हल खचाखच थियो । नेपाली गीतमा अमेरिकामा हुर्किरहेका बालबालिका समेत मौलिक पहिरनमा नृत्य गरिरहेका थिए । नेपाली परिकार पाकेको थियो । अमेरिकामा नेपालीहरुको संख्या तीन लाख बढी पुगेको अनुमान छ । हाम्रै साथी सर्कलले पनि उधुम उन्नती गरेको पाउँदा मन आनन्दित भयो । उनीहरुले गज्जवले अमेरिकीलाई पनि रोजगारी दिएका छन् । उनीहरुको व्यापार कौशलले प्रगति चुलिदै गएको देखियो । आहा..., गुगलम ‘सर्च’ गर्दा नेपाली भाषा, नेपाली खाना, नेपाली सिनेमा, नेपाली पसल सबै आसपास पाइन्छ । यस्ता अनेक कारणले यो यात्रा केवल पेशागत ज्ञानको अभिवृद्धि मात्र भएन, जीवनकै स्मरणीय सिकाइ भयो । एक दर्जन बढी देश पुगें, तर वास्तवमा यात्रा त आफैलाई बुझ्ने हुने रहेछ । भुगोल चहार्नु भनेको आफु जन्मेको देश, आफुले भोगेको भुगोल, संस्कृति र समुदायका सपना र बास्तविकता अनि बाहिरको मानिसका बास्तविकता र सपनाबीचको निकटता र दूरी कल्पिनु रैछ । यात्रा सकिएको तीन वर्ष हुन लाग्यो तर अनुभूतिहरू अझै ताजै छन् । यसपाली फेरी अर्को सन्दर्भमा त्यही अमेरिकाका केही शहर र छिमेकको क्यानडा समेत विचरण गर्ने मौका जुर्यो । उस्तै अनुभूति र कौतुहलता सहित फर्किएँ । यसपालीको यात्रा सुरु हुने वित्तिकै यता नेपालमा युवाहरुको मनमा आगो सल्कियो । त्यो आगोले हाम्रो इतिहास र सम्पदा पनि जलायो । यी चित्रहरुले न यात्रा फलदायी बनाउन सकियो न उमङ्गमय रह्यो । फगत आफन्त र परिवारको सम्झना र देशको चिन्ताले गाँज्यो । मुलतः सोसल प्लेटफर्मका लागि सडकमा निस्केका भाइबहिनीहरुमाथि सरकारी दमनले ठूलो क्षति र प्रतिकार निम्त्यायो । राज्य विहिनताको स्थितिमा देश पुगेपछि उता विदेशमा त्यही सोसल प्लेटफर्मबाट आउने विभिन्न भ्रामक र कतिपय सहि सूचनाले नै मन अत्यासलाग्दो बनाइ दिदो रहेछ । मेरो पुस्ताको नियती नै कस्तो परेछ, यो पुस्ता आन्दोलनकै बीचमा जन्मियो । आन्दोलनकै बीचमा हुर्कियो । आन्दोलनकै बीचमा यसले पढ्यो । आन्दोलनकै बीचमा कर्ममा छ । अनि आन्दोलनकै बीच जीवन जाला जस्तो छ । आफ्नो माटोमा अन्यौलको बादल मडारिँदा मनले आफ्नो भूगोल र आफुले चहारेको भूगोलको अवस्था र नियती बीचको हिसाब खोज्दो रहेछ । अनि मनमा एउटा ठूलो प्रश्न खडा गरिदिँदो रहेछ, हाम्रा पुर्खा ढिलो जन्मिए कि उनीहरु संसारको गति मिलाउन नसक्ने गरी निकै ढिलो हिँडे ? यो एउटा फुच्चे प्रश्नले पनि मनमा विशाल आक्रोश र निराशाको पहाड खडा गरिदिँदो रहेछ । कहाँको समृद्धिको शिखर चढेको अमेरिका र उनीहरुको जनजीवन ? अनि कहाँ ‘अमेरिकी साम्राज्यबाद मुर्दाबाद’को नारा सुन्दै हुर्केको हाम्रो पुस्ताको जीवन । हाम्रो राजनीतिक पछौटेपनलाई सराप्न मन लाग्ने रहेछ यस्तो देख्दा । कहाँ प्रतिव्यक्ति वार्षिक आय झण्डै एक हजार ५ सय डलर भएका हामी र कहाँ प्रतिव्यक्ति आय झण्डै ७५ हजार डलर पुर्याएका अमेरिकी । समृद्धि र उन्नतीले पो शक्तिशाली बन्ने रहेछ देश । नारा मात्र लाएर देश समृद्ध र नेपाली सुखी हुने भए त जति ‘लालसलाम’ ठोके पनि पीर के को थ्यो र ! शहर, समाज, भूगोल, पूरै देश नै सिनेमाको रिल जस्तो लाग्छ । मस्त छ अनि पूरा होश हवासको लयमा छ । खोट लाउने कहिँकेहि ठाउँ बाँकी छैन जस्तो । सडकमा मानिस देखिदैनन् । कि आकाशमा उडेका छन् । कि गाडीमा गुडेका छन् । जमीन मुनी पनि ट्रेनका रुट छन् । मान्छे पार्कतिर, ठूला मल तिर वा रेष्टुराँ तिर देखिएलान् । ती पनि आफ्नो काममा व्यस्त । फुर्सदिलो र बेकामे मानिस त कतै नजर पर्दैनन् । सडकका ठाउँ ठाउँमा हल्का यू सेफमा चेन क्याफे, रेस्टुराँ छन् । गाडीबाट नओर्लिकनै आफुले चाहेको कफी, खानेकुरा अर्डर गर्न सकिन्छ । अनि पैसा तिरेर अर्को झ्यालमा रिसिभ गर्न सकिन्छ । ‘ड्राइभ थ्रु’ भनिने यस्तो सेवा लिन गाडीबाट ओर्लने झन्झट नै हुदैन । जता जाउ उस्तै बाटो छ । चिल्लो, सफा, चौडा, कैयौं लेनका । ट्राफिक सिग्नल व्यवस्थित छन् । ट्राफिक प्रहरी कतै देखिदैनन् । सब कुरा सिस्टममा छ । सामान्य मजदुरी गर्ने सँग पनि कार छ । नेपालमा जस्तो घरै पिच्छे पसल र टोलै पिच्छे बजार हुदैनन् । त्यसैले कार भएन भने दैनिकी नै रोकिने जस्तो पनि हुने रहेछ । हामी कहाँ जस्तो नुन सकिए तत्कालै किन्न जाने जस्तो सहज पनि त्यहाँ छैन । मज्जाले केहि दिनलाई पुग्ने गरी दैनिक उपभोग्य वस्तु खरिद गरेर राख्ने चलन हुनेरहेछ । हरचिजका लागि बैंक र संस्थाहरुले क्रेडिट सुविधा दिएका छन् । कमाएर तिर्न सक्नु पर्यो, लोनको सकस छैन । मानिसहरु कि जहाजमा कि आफ्नै कारमा बढि रमाउने रहेछन् । सार्वजनिक यातायातका साधन निकै व्यवस्थित र भरपर्दा भए पनि आफुसँग सुविधा हुनेहरुको रोजाईमा खासै पर्ने देखिएन । अपाङ्गता भएकाहरुका लागि ध्यान नदिएको पूर्वाधार देखिदैन । बाटो, घर, शौचालय, पार्क, सपिङमल, शैक्षिक संस्था जहाँ पनि पूरापूर ध्यान दिइएको अनुभुत हुन्छ । ‘होमलेस’ मानिसहरु चाँहि यत्रो विशाल र समृद्ध देश अमेरिकामा पनि देखिदा रहेछन् । बाटोघाटोमा, ट्रेन स्टेशन तिर उनीहरु माग्न बसेका देखिन्छन् । बाह्रै्र महिना ठिक्कको मौसम हुने लसएन्जल्समा यस्तो समस्या झन् बढि रहेछ । होमलेसले अड्डा जमाउलान् भनेर यहाँ घरको पेटी जस्तो ठाउँमा फुटेका काँचका टुक्रा वा किल्ला ठोकिएको देखिन्छ । अनि न्यूयोर्कको ज्याक्सन हाइटले पनि फरक परिचय जस्तो बनाएको छ । अधिकांश भारतीय, नेपाली, बंगाली लगायतको बसोबास यहिँ छ । महेशविक्रम शाहको कथा संग्रहमा मज्जाले ज्याक्सन हाइटको कहानी पढ्न पाइन्छ । जता पनि साह्रा निर्माण पूर्ण छ । नेपालमा जस्तो पाइलै पिच्छे खाल्टाखुल्टी छैनन् । अनि जता जाउ अस्तव्यस्त काम भैरहेको पनि देखिदैन । भैरहेको भए यति मज्जाले व्यवस्थापन गरिएको हुन्छ कि कत्ति पनि फोहर वा धुलोपानी बाहिर देखिदैन । कसैलाई असर नपार्ने गरी तारतम्य मिलाइएको हुन्छ । सिनेमाको दृष्य जस्तो सबकुरा सफाचट छ । कहिँ कतै निर्माण कार्य वा मर्मत भैरहेको देखिए अनौठो लाग्छ । जमीन पनि कि पिच वा कालोपत्रे छ, कि खेतमा बाली झुलिरहेको छ वा मज्जाले संरक्षित जङ्गल छ । जङ्गलमा पनि पिच बाटो वा काठका फलेकले मज्जाले हिँड्न मिल्ने गरी ट्रेक बनाइएको देख्दा अचम्म लाग्छ । हामीकहाँ जस्तो उवडखावड, उजाड जमीन कतै देखिदैन । प्रकृति पनि सबै मान्छेले बनाए जस्तो देख्दा अचम्म लाग्छ । छाडा पशु कतैदेखिदैनन् । पशुपालन क्षेत्र पुग्दा पनि सबकुरा व्यवस्थित देखिन्छ । पीच बाटोमा सरर कार हुइँक्याउँदै गाई फार्म पुग्दा गाइहरु प्नि सानदार सुविधा सहित देखिन्छन् । सफा र विशाल गोठको छेउमा भव्य डेरी क्याफे देखिन्छ । जहाँ मज्जाले मानिसहरुले ताजा उत्पादन खाइरहेका हुन्छन् । गाई फार्ममा फोटो खिच्दै रमाएको देखिन्छ । उत्पादनलाई उपभोक्ता सँग सिधै जोड्ने गजव अभ्यास छ । उद्यमलाई पर्यटन सँग जोड्ने प्रयास झन् अनुकरणीय छ । नेपालमा दुई वर्ष अघि मनाङको स्याउ फार्ममा नमिठो अनुभव बोकेको थिएँ । स्याउ मार्फमा फोटो खिचौं भनेर उत्साही भएर गाडीबाट झर्दा प्रति व्यक्ति ५ सय रुपियाँ लाग्ने बताउँदा हामी निराश भएर फर्किएका थियौं । त्यसै विकट त्यो ठाउँमा सितिमिति चरो मुसो पुग्दैन । किन फोटो खिच्न तेत्रो पैसा राखेको हो वुझ्न सकिएन । तर यसपाली अमेरिकामा एउटा स्याउ फार्म पुग्दा गजव अनुभव गर्न पाइयो । फार्ममा फोटो खिच्न मात्र होइन सकेजति खान पनि पैसा लाग्दो रहेनछ । किन्न मन लागे किन्यो नभए मज्जाले बोटबाट मन लागुन्जेल खायो, फक्र्यौ । नेपालमा मुगलिन नजिक रहेको बाह्रसिंगे वियर कारखानामा चाँहि गजवको दृष्य देख्न पाइन्छ । फोटो खिच्न र फ्याक्ट्रीमै वियर पिउन पाउँदा पुग्नेहरु दङ्ग देखिन्छन् । आँधी, हुरीको डर हुने भएकाले आवासिय घर भने प्रायः साना हुने रहेछन् । पूरानो र ठूला शहरमा अपार्टमेन्टहरु अग्ला हुन्छन् । व्यवासायिक भवन अग्ला र भिमकाय ठूला हुन्छन् । तर, नीजि आवासीय घरहरु प्राय एकैनासे र उत्रउत्रै देखिन्छन् । अधिकाशंको जमीनमुनी एकतला बनाइएको हुन्छ । समयको पालना बारे त बाफ्रे । आइभीएलपी कार्यक्रम अन्तर्गत जर्जिया युनिभर्सटीको ग्रेडी कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनमा जानु थियो । जहाँ पनि हामी सेडुलमैं पुगिन्थ्यो । त्यहाँ दुई घण्टा ढिलो भयो । दिनभरको सेडुल सहित गाडीमा गैरहेका थियौं । आज नमज्जाले थाकिने भैयो भनेर गफिदै पुगेका थियौं । बेल्कासम्मको टाइट सूचि थियो । एसियाली भुगोलका हामी त्यहाँ पुग्दा त चकित पर्यौं । हामी जतिबेला पुग्यौं त्यतिबेलैको सेडुलबाट कार्यक्रम सुरु भयो । अघिको सबै सेडुल हटाइएको थियो । जहाँ नेपाली पुगेका छन्, त्यहाँ नेपाली संस्कार, सभ्यता, खाना, पहिरन, भाषा पुगेको छ । यस हिसावले नेपाल बाहिर गएका नेपालीहरू नेपालका अवैतनिक दूत जस्ता लाग्दो रहेछ । नेपालबाट विदेशिने सबैलाई पलाएन भएका, सुख खोज्न गएका वा नेपाललाई माया नगर्ने रुपमैं सोच्ने गरिन्छ । तर, विदेश पुगेर सोच्ने हो भने फरक लाग्दो रहेछ । संसार भर नेपाली पुगुन् । फैलिउन भन्ने लाग्दो रहेछ । संयोगले अमेरिकामा चुनावका बेला परेको थियो । भोट हाल्ने सुविधा पनि गजव लाग्यो । निर्वाचनको दिन मतदान स्थलमा पुगेर भोट हाले भो । घरमै मतदान गर्ने अनुरोध गरेर मतपत्र मगाई भोट गरेर हुलाकबाट पठाए भो । अनि तोकिएको स्थानमा पुगेर पहिले नै मतदान गर्न (Early Voting) पनि पाइँदो रहेछ । मतदान यसरी असाध्यै सरल हुँदो रहेछ । नेपालमा जस्तो स्थायी ठेगानामै पुगेर तोकिएकै दिन भोट हाल्ने झमेला छैन । बरु उतै जन्मिएका नेपाली मुलका बालबालिकाको भविष्यको चिन्तामा नीतिगत तहमा पुग्ने नेपालीहरु सजग देखिए । मतदान स्थलमा भेटिएका सासंद ह्यारी भण्डारी आउने पुस्ता न नेपाली न अमेरिकन जस्ता नहोउन् भनेर नीतिगत व्यवस्थामा आफ्नो ध्यान रहेको बताए । उनी मतदानका दिन छोरी सँग मतदान स्थलमा भेटिएका थिए । यताको जस्तो मेला लागे जस्तो केहि हुँदो रहेन छ । न भीडभाड न तामझाम । दैनिक हुने काम जस्तो मान्छे आउँथे, भोट हाल्थे, फर्किन्थे ।
माटोको खत
पूरानो दिनका स्मृतिमा पारिवारिक कुराकानी चल्दै थियो । बिर्सन नसकिएका, मनमा गडेर आसन जमाएर बसेका सन्दर्भ उप्किएका थिए । मनमा बसेका खाटाको यादले उहिल्यै सामसुम भएको भल फेरि उर्लिँदो रहेछ । बग्न लागेको भल सुसाइरहन स्वयंको हिम्मत र सामुन्नेवालाको धैर्यता चाहिँदो रहेछ । खाना खाइवरी बेलुका अबेरसम्म विगततिर फर्किँदै गफिँदा पाकापुस्ताको भावभंगीले यसै भन्थ्यो । उनीहरू कुरा उप्काउँथे अनि बीचैमा मोडिदिन्थे । सायद त्यो आँट र धैर्यता अब बाँकी थिएन । अरूको मनभित्रका डाम देख्ने र त्यसको नापो लिने ताकत सायद भगवानले मानवचोलाका कसैलाई दिएका छैनन् । शरीरमा बसेका खाटा सबैले देख्ने रैछन् । जति पुरानो भए पनि खतको डाम उस्तै, उत्रै । मामाघरकी मेरी बज्यैले मेरा बारेमा भनेकी थिइन् – ‘आ...यो क्या सम्झला त, त्यति नानो माण्ठ । त्यही बेलाआ... कुडा । यैको नाडीको डामको नापो आफै बोल्लो ।’ म जन्मेको पहाडको सम्झना ४ वर्षको बालक मनले खासै राख्न सकेन । सामान्य स्मृति मात्र आउँछ । मेरो घरको चुल्हो, ओटालो, ओटालोबाट देखिने ओखरको रुख, घरछेउको नासपातीको बोट, पल्ला टोलको मामाघर जाने त्यो पहाडको डिलैडिलको बाटो, बीचमा पर्ने पानीको ढल, रुँदै पर्खेर उभिएको देखेर मलाई तारिदिने मैले बिर्सिएका ती आफन्त, हिलोमा झरेका ओखर र मामाघरमा बज्यैले ख्वाउने दूधभातका पल धमिलै सही सानै मनदेखि नबिर्सिने गरी गढेका छन् । मन कमलो भुवा झैं भएर बहकिएका बेला भुरुरु ती यादहरू फर्कीफर्की आइरहन्छन् । तराई झरेपछि विस्तारै मेरो उमेर अनुसारका स्मृतिका छाप मनमा प्रष्ट हुने नै भए । सानो उमेर भए पनि सायद मानिसले नदेखिने मनको चोट होस् वा देखिने जीउको चोटका सन्दर्भ चटक्क बिर्सन सक्दो रहेनछ । मैले मेरो हात अगाडि सार्दै भनेको थिएँ– ‘यी मेरो पुरानो सम्झना ।’ बज्यैले मेरो दाइने हातको नाडीमा रहेको खतको सन्दर्भ जोडेकी थिइन् । बर्दियाको राजापुर क्षेत्र । राजापुर भित्रको एक गोला । त्यही गोलाको खोनपुर । कर्णाली नदीको दुई भङ्गालोले घेरेको छ– बर्दियाको राजापुर क्षेत्रलाई । थारु समुदायबीच भौंरा टप्पुको नामले पनि चिनिन्छ । तत्कालीन एघार गाविसको राजापुर इलाकालाई श्रीलंकाको टापुका रूपमा पनि चिनाउने चलन छ । उत्तर चिसापानीमा कर्णालीको दोभान छ भने दक्षिणतर्फ भारतको जङ्गली फाँट छ । यसैभित्र उत्तरतर्फ पर्छ– गोला । त्यसको दक्षिण क्षेउमा पर्छ खोनपुर । यहाँ मेरो पाहुना अवधि सकिन नपाउँदै मैले ठूलै खतको चिनो पाएको थिएँ । अचेलजस्तो उपचार चेत र यातायात सुविधा भए नेपालगन्ज पुर्याएर भए पनि घाउमा टाँका लगाइदिँदा हुन्, बुवाले । मामा पनि साथैमा जाँदा हुन् । टिटानसको सुई लगाइदिँदा हुन् । तर, भर्खर औल झरेका, के खाऊँ ? के लाऊँ ? बेलाका बाआमालाई त्यस्तो चेत कसरी आउनु ? अनकन्टार जस्तो चारैतिर कर्णाली नदीले घरेको गाउँबाट नेपालगञ्ज जानु कहाँ सजिलो थियो र ? कैयौं घण्टा पैदल हिँडेर, कोठियाघाटको कर्णाली नदीमा डुङ्गा तरेर, भारतको कतर्निया हुँदै बस समातेर नेपालगन्ज पुगेर उसैगरी फर्कनु समय, पैसा सबै हिसावले त्यसबेला निकै कहालीलाग्दो यात्रा हुन्थ्यो । मनमा चेत आएर पनि कसरी नेपालगञ्ज लानु ? मलाई सम्झना छ, भाँगो निचोरेर बज्यैले रस चुहाइदिएको । अनि निचोरेका भाँगाकै पातको मल्हम जस्तो थुप्रो पारिदिएको । नाडीको घाउ त केही दिनमा बिसेक भयो तर, नमेटिने ठूलै खतको साइनबोर्ड चाँहि टाँगेर गयो । उमेरसँगै नाडीको आकार बढ्यो । अनि खतले पनि सँगै आफ्नो भागको आकार बढायो । जुन मैले साथमै बोकेको छु । जीवनपर्यन्त यो साथमै रहने छ । आसपासका खोला, नदी, घर, आफन्त, परिवार, साथीभाइ छुट्लान् तर यो खतले छोड्ने छैन । मेरो शरीरबाट उड्ने धुँवा र खरानीले मात्रै सायद मेट्न सक्नेछ यो चिनो । ४ वर्षको कलिलो हातको नाडीमा भरखर धार लगाएको बासोले छ्याक्क काटेको थियो । घाउ कत्रो थियो होला ? नशा काटिए होलान् कि नाइँ ? निको कसरी भयो होला ? काटिएको भए नशा कसरी आफै जोडियो होला ? कति दिनमा निको भयो होला ? अहिले यही खतको गाढा निशानी र धीमा याद मात्रै साथी छन् । ४ वर्षको चिचिलो उमेरका सबै कुरा जस्ताको तस्तै ४० कटिसक्दासम्म याद होस् पनि कसरी ? खासमा बेहोशी अघिको अवस्था जस्तो यादका झिसमिसे सम्झना मात्रै वीच वीचमा आलो फर्किरहँदा रैछन् । मामा र हाम्रो परिवार सँगै पहाडबाट तराई झर्यौं । बज्यै, म, आमा र माइलो भाइ जुम्लाबाट प्लेन चढेर नेपालगञ्ज झरेका थियौं । मामालाई ४५ वर्ष अघिका तिथिमिति ठ्याक्कै याद रहेको देख्दा अचम्मै हुन्छु । तर, उनको यो सम्झने शक्ति मेरा लागि गजबको पारिवारिक दस्तावेज जस्तो भएको छ । २०४० सालको मंसिर ८ गते जीवनमा पहिलोपल्ट मैले आकाशमा उड्ने मौका पाए पनि फुच्चे उमेरको त्यो यात्राको खासै सम्झना बाँकी छैन । बरु त्यसको २ वर्ष अगाडि नै २०३८ सालमा मलाई उपचार गर्न नेपालगञ्ज लैजानका लागि बुवा र मामाले जुम्ला लगेका बेला मैले जहाजको लामो पखेटा देखेको हो कि जस्तो लाग्छ । यकिन भने छैन । त्यो जमानामा नाग्म गाउँमा पानीको पाइप जडान भयो । पूर्व–दक्षिण फर्केको पहाडको पाखोमा एकातिर मावली पाण्डेबाडा र अर्कापट्टी हाम्रो अधिकारीबाडा पर्छ । कम्तिमा दुई घण्टाको ठाडो उकालो चढेपछि खोचमा रहेको मूलबाट प्लाष्टिकको कालो पाइप जोडेर टोलमा पानी ल्याइएको थियो । बाटो, गाडी नपुगेको त्यो अनकन्टार कालिकोटको नाग्म गाउँमा त्यो जमानामा त्यहाँ खानेपानी योजना पुग्नु पत्याउनै नसकिने सत्य थियो । पाइप तान्ने र जोड्ने काम श्रमदानबाट भएको थियो । जडान गर्दै जाँदा बेकामे भएको सानो पाइपको टुक्रा सायद त्यो आधा इन्चको पाइप थियो होला, मामाले भाञ्जाले खेलाउनलान् भनेर ल्याएछन् । त्यो मुख भित्र हालेर हु...हु... गर्दै हिँड्ने बेला विकट र उवडखावड त्यो वस्तीमा कता ढोकातिर खुट्टा फसेर म उछिट्टिएर अगाडि हुत्तिएछु । पानीका मुहानहरू धेरै भए पनि नजिकसम्म ल्याउने उपक्रम नहुँदा पानीको साह्रै दुःख थियो । पानी गाउँमा आउने खुसीभन्दा पहिले हाम्रो परिवारमा विपद आइलाग्यो । पाइपले मेरो घाँटीको श्वासनली वा खाना खाने नली कुन चाँहि काटेछ । वा दुवै काटेछ । रुवाबासी सुरु भयो । साढे २ वर्ष जतिको बालकको त्यो अवस्था अनि नजिक न अस्पताल न डाक्टर पाइने त्यो युग । रातभरि जसोतसो काटेर बुवा र मामा मलाई बोकेर विहानै सरजाम बोकेर जुम्ला हानिए । वरपर तानतुन गरेर नगद दश हजार जति रुपियाँ बोकेर मलाई काँधमा भिरेर दुई भिनासालाले नेपालगञ्ज लाने भनेर जहाज भेट्न हतासिएका थिए । बाटोमा त्यसबेला पाइने पिपलमेट चकलेट र नदीको चिसो पानी हातमा घोल्दै मेरो मुखमा रस चुहाएको मामा अहिले पनि सम्झन्छन् । अरु केही निल्नै नसकिने, दुखेर रुने मात्रै मेरो अवस्था थियो । कहिलेकाहीँ संजोग पनि गजबले टुप्लुक्कै आँगनमै आइपुग्ने रहेछ । आधा दिनको पैदल यात्राबाट खलङ्गा पुगेर प्लेन टिकटको जोहो गर्न सोधखोज गर्दै गर्दा हेल्थ क्याम्प लागेको खबर कानमा परेपछि हानिँदै मलाई त्यता लगियो । अनि डाक्टरले चिम्टाले च्यापेर मेरो घाँटी भित्रको काटिएको घाउ टाँसिदिए । अनि भोलिपल्ट मामा घर फर्किए, हामी भने फलोअपमा केही दिन बसेर घर फर्कियौं । अनि नेपालगन्ज जानु पनि परेन, ढिलो नभएर होला मेरो घाउ पनि बिग्रेन र पैसा पनि जोगियो । यसै बेलाको हो जस्तो लाग्छ, जहाजको पखेटाको धिमा सम्झना । ठ्याक्कै चाँहि भन्न सकिनँ । सबै जना बाटोको सामल अनि आफूसँग भएका पछि काम लाग्ने सरजामसहित हिँडेर बर्दिया बसाइँ सर्ने तयारी थियो । नाग्म, कालिकोटबाट दैलेख, सुर्खेत हुँदै गोला, बर्दिया पुग्न करिब १० दिनको पैदल यात्रा गर्नु पर्दथ्यो । तरुना र तन्दुरुस्त लोग्ने मान्छेहरू ७ दिन जतिमा पुग्थे । बुढाबुढी, केटाकेटी, सुत्केरी महिला भएपछि यात्रा लामो हुने नै भयो । अनि बाटोको सामल र अत्यावश्यक सरजामको भारी आवश्यकता अनुसार बढ्यो भने यात्राका दिन पनि लम्बिन्थ्यो । मामाघरकी बज्यैले पूराना कुरा सम्झँदै भनिन् – ‘तेरा बोब (वुवाका वुवा)ले काँ सुत्केरी बुहारी हिँडेर जान सक्छ ? हुँदैन । प्लेनको टिकट गर भन्या छन् ।’ बुहारीलाई मान्छे नगन्ने त्यो बेलाको समाजमा हाम्रा बोबमा त्यो तहको उदार चेत रहेछ । उनी बितेको पनि २७ वर्ष भैसक्यो । बोबको निर्णयपछि बज्यै, म र आमा अनि ४ महिनाको दुधे भाइसमेत हामीले जुम्लाको खलङ्गादेखि नेपालगञ्जसम्मको जहाज चढ्ने सौभाग्य पायौं । त्यसबेला तत्कालीन शाही नेपाल वायुसेवा निगमको प्लेनमा एकजनाको भाडा १२५ रुपियाँ थियो । हामी उड्नुभन्दा एक साताअघि बुवा नेपालगञ्जका लागि हिँडेका थिए हामीलाई ‘रिसिभ’ गर्न । मामाले जुम्लामा विमान चढाएर बिदाई गरे भने बुवाले नेपालगञ्जमा स्वागत । अनि भारतीय बाटो हुँदै गोला पुगियो । गोलाको खोनपुर गाउँमा हामी बसाइँ सरेका सुरुका दिन बाआमाका लागि घर बनाउने दार, खाबा जोड्ने, खरखडाई खोज्ने चटारो थियो । केही महिनामा माथिल्लो तलो होँचो भए पनि सुत्न मिल्नेगरी दुई तलाको फुसको घर तयार भएको थियो । बारी बनाउने, तिहुन तरकारी लाउने आदि कामको मेसो पनि मिलाइँदै थियो । बज्यैका लागि पनि घर तयार भयो । कुलापारि उत्तरपट्टि मामाघर र सडक वारि दक्षिणपट्टि हाम्रो घर ठडियो । अभिभावक यस्तैयस्तै काममा व्यस्त भए । म जस्तै टोटकी (केटाकेटी) भने आफ्ना छावँलका साथी सँग चिनजान गरिवरि साथ्या बनाई केटाकेटी खेलमा अभ्यस्त हुन थालिसकेको थिएँ । डण्डिबियो, लुकीलुकी, घुरघुरिया, वालुवामा लुकाइ, माटो खनाइ, आइसबाइस जस्ता तराईंका केटाकेटी खेल सिक्न दुई महिना पनि लागेन । सँगै जग्गा किने पनि आमाकी माहिली दिदीको परिवार अघिल्लो वर्षकै मंसिरमा तराई झरिसकेकाले सुरुमा उनीहरूको भर भयो । ठूलीआमाको परिवार सँगै जुम्लाबाट अर्को छिमेकी परिवार पनि बसाइँ सरी आएको थियो । ठूलीआमाको घरसँगै हाम्रो अस्थायी छाप्रो बनेको थियो । त्यसभन्दा पश्चिम केहीपर बाटोको दक्षिणपट्टि ती छिमेकीको घर थियो । त्यो घरमा मेरै उमेरकी सानी छोरी पनि थिइन् । उनी मेरो नयाँ साथीहरूमध्ये एक हुन आइन् । नयाँनयाँ ठाउँ । वस्ती पनि पातलो । साथीभाई थोरै थिए । हामी समय मिलेसम्म केटाकेटी खेलमा रमाउन थाल्यौं । त्यसबेला धानको कुनिउँमा लुकीलुकी खेल्न खुब मज्जा हुन्थ्यो । उनले एकदिन भनिन्, ‘माटो खन्ने खेलौं है ?’ उनी घरभित्र पसिन् र काठ ताछ्ने बासो लिएर आइन् । उनको घर अगाडिको आँगनको चिसो भुइँमा हामी थचक्क बस्यौं । पुषमाघको ठिहिर्याउने मौसम थियो । घाम पनि लागेको थिएन । पहाडबाटै ल्याएका कोछ्या, जाँघ्या यस्तै केही लुगा लाएको थिएँ । थचक्क भुइँमा बसेको सम्झेर झल्यास्स बीउ झैं भएँ । सोचें, टाला मैलीजान्या हुन् कि ? अनि टुक्रुक्क खुट्टाले टेकेर बसेँ । उनले फेरि भनिन् – ‘म खन्छु । तुमी माटो फाल है ?’ उनी बासोले माटो खन्ने अनि मैले हातले माटो तानेर खाल्डो बनाउन थालेँ । यसो गर्दा उनले खन्ने पालो र मैले फाल्ने पालो मिलाएर गरिरहेका थियौं । रमाइलै भैरहेको थियो माटोको खेल । एकछिन् पछि कसरी हो पालो विग्रिएछ । मैले माटो फाल्न हात हाल्ने र उनले खन्न बासो उज्याउने सँगै परेछ । मेरो नाडीमा घ्याच्च लागि हाल्यो । बासो पनि भरखर धार लाएको रैछ । केटाकेटी बलले पनि काटिहाल्यो । रगतको धारा छुटे । हल्लीखल्ली भयो । अनि अनुभवको डिग्री बोकेकी बज्यैले भाँगोले रगत थामिन् । भाँगोकै लेपले निको पार्ने मल्हम बनाइ दिइन् । धरधन्दाको काममा असिनपसिन आमाबुवाले थाहा पाउनेबित्तिकै चार हातखुट्टा टेकेर आए । बेस्सरी रोए । लगलग कामे । तराई झर्नेबित्तिकैको पहिलो उपहार नमीठो माने सायद । मैले दाहिने हातमा टलक्क टल्कने ठाउँमा टाटो साइनबोर्ड पाएँ । बर्दियाको माटोसँगको सानिध्य सुरु भयो । जसले टाटो चिनो दिएको थियो । २०५३ सालमा नेपालगञ्जमा आइए पढ्न बस्दा बेला रहरले मार्सल आर्ट्सको चिनियाँ खेल उसु खेल्न थालेको थिएँ । एक जना ‘सिनियर’ खेलाडी हाम्रा गुरु थिए राजु थापा । उनकी भाउजू दुई जीउकी भएका बेला शरीरमा चाहिने भन्दा आधा मात्रा रगत रहेछ । सायद १०÷१२ पिन्ट जति रगत ‘स्टाण्डवाई’ राख्न डाक्टरले भनेका थिए । उनले सबैलाई रगत दिन आग्रह गरेपछि म पनि रगत दिन तयार भएँ र भेरी अस्पतालको व्लड बैंकमा साथीहरु सँग गएर पहिलो पल्ट रक्तदान गरेको थिएँ । पछि गाउँ गएका बेला रगत दिएको आमालाई सुनाएँ । आमा त धरधरी रुन थालिन् । उनको दुखेसो थियो – ‘मैले आफूले खाइनखाई दशधरा दूध खुआएर अरूकन रगत देलाइ भनेर हुर्काएकी छियाँ भाउअ ?’ छोरा मान्छेलाई हाम्रो खस भाषामा स्नेहले भाउअ भन्ने चलन छ । चलन थियो भनौं । अब त्यो ठेट भाका बाँकी रहेन । पनाति पुस्तामा आउँदा मासिइसक्यो । खासमा आजभन्दा झण्डै ३० वर्ष अघिको कुरा त्यसमाथि गाउँमा रक्तदानबारे चेतना थिएन । आमाको चिन्ता अन्यथा थिएन । त्यसबेला शरीरबाट रगत बग्नु र खसीको मासु काट्दा बोसोको भाग नपर्नु बहुतै ज्यादा महत्त्वका विषय थिए । त्यसताका शरीरको रगत र खसीको बोसो उस्तै भाउका थिए । थारु अनि हिन्दी मिसिएको भाषामा शरीरबाट खुन बग्नु र ६ महिना लाएर भाग पुगेपछि काटिएको खसीको मासुमा बोसोको अलग भाग नमिल्नु ठूलो पीडाको कुरा हुन्थ्यो । खसी काटेपछि रगतसहितको भुटन पकाएर बाँडेर खाने चलन थियो भने मासु र बोसोको बराबर भाग लाग्थ्यो । अहिले सम्झन्छु– क्याम्पस पढ्न गएको हुर्केबढेको छोरोले अरूकोे ज्यान बचाउन डाक्टरले विधि पुर्याएर रगत झिक्दा त रुवाबासी गर्ने आमाले ४ वर्षको सानो बालकको हातको नाडीबाट बासोको धार लागेर उम्लिएको रगत देखेर कति रुवावासी गरिहोलिन् ? नयाँ ठाउँ, नयाँ मान्छे, ओत लाग्ने आफ्नो घर बनिसकेको छैन । के खाने, के लाउने टुंगो नलागेको परदेशी जस्तो हाल भएका बेला छोराको नाडीबाट रगतका छिल्का आउँदा कुन् आमाबाको मन नरुँदो हो र ? पछि बाआमा बनेपछि आफ्ना सन्तानको शरीरबाट रगत बग्नु त परैको कुरा सानो कतै घोचियो भने पनि आफ्नो मुखबाट ऐआको चित्कार फुत्किँदा बाआमाको मन अनुभव हुँदो रहेछ । सबै बाआमाको मन उही त हो । चाहे अघिका हुन् वा पछिका । चाहे गाउँका हुन् या सहरका । बाआमा त बाआमा नै हुन् । ठूलो भएपछि कति ठाउँमा आफ्नो हुलिया लेख्ने बेला दाइने हातको नाडीमा खत भएको भनेर लेखेको छु । अनुहारको हुलियाको मात्र खास गणना हुने पछि मात्र थाहा भयो । तर, मलाई लाग्छ यो घाउ होइन, पहिचान हो । नाता हो माटोसँगको । जसरी रातो माटोलाई कर्णाली नदीले पहाडबाट बगाउँदै ल्याएर तराईमा रातोपानी बगेर एकाकार गरिदिन्थ्यो खेतमा सिञ्चिएर । मलाई पनि उसैगरी त्यसै माटोसँग नाता जोडिदिएको थियो सायद त्यो बाल दुर्घटनाले । किशोर उमेरका बाआमाले आफ्नो थातथलोको पवित्र रातो माटोको माया छातीभित्र गुम्साएर सायद आफ्ना लागि कम हामी सन्तानको भविष्यका लागि ज्यादा अनकन्टार गोलामा पुगेका थिए । त्यही माटोमा मेरो रक्त कण एकाकार भएको हो भन्ने ठान्छु अनि नाडीको चिमचिमे घडी सम्झँदै खत हेरेर मुस्कुराउँछु । २०४० सालको भाद्र ३ गते कर्णाली नदीमा हालसम्मकै ठूलो बाढी आएको थियो । त्यसै सालको मंसिर ८ गते ४ महिने दूधे बालक मेरो भाइलाई च्याप्तै ४ वर्षको कलिलो बालक मलाई डोर्याउँदै बसाइँ सरेको थियो हाम्रो परिवार । मामाको परिवार पनि सँगै हुँदा एकअर्कालाई भर थियो । कर्णाली नदीको भेलले कालिकोटबाट समेत रातो माटो बगाउँदै त्यसका राता कण भए पनि नदीसँगै जोडिएको खोनपुरको माटोमा मिलन गराउँथ्यो । हरेक वर्षामा राता कणको पुनर्मिलन गराउने जिम्मा भेलको थियो । भेल उग्र हुँदा मात्रै पीर हो, नत्र भने माटो मिलन प्रिय नै थियो हाम्रा लागि । यसरी नै हाम्रो परिवारलाई भूगोलले पनि स्वीकार्यो होला अनि आफ्नै बनायो होला सायद । त्यही मन बनाएर सायद अञ्जान, अपरिचित र बिरानो ठाउँको माटोलाई हाम्रो परिवारले आत्मसात गर्यो । अनि एउटा विशाल आत्मपरीक्षाको उकालीओराली पार गरी नयाँ परिवेश, नयाँ समाज र नयाँ भूगोलको परिचय बनेको थपिएको थियो । हामी चिचिलाको सायद त्यति विशाल मन नहुँदो हो । भए पनि व्यक्त नहुँदो हो वा भनौं पछिसम्म सम्झने शक्ति नहुँदो हो । त्यसैले भूराहरूको परीक्षा बाँकी राखिँदो हो । त्यसैले त भनिन्छ सन्तान पाउनुले होइन, बरु असल अभिभावक हुनु शास्वत बाआमा मानिन्छ । अनि जीवनभर त्यसका खातिर परीक्षा दिइरहनु पनि अभिभावक हुनुको नियमित परीक्षा हो । एउटा बालक वा बालिका अभिभावक बन्नुअघि उसको सबै जाँच सायद उसका बाआमाले नै दिइरहन्छन् । तर, कहिलेकाँही परीक्षा लिने झुक्किँदा हुन् अनि भविष्यका अभिभावकले असमयमैं पनि परीक्षा दिनुपर्दो हो । यो मीठो खतले बर्दियाको माटोसँग एकाकार गरी दिएकी ती बालसखालाई त्यसबेला आफूले जानेसुने जति गाली गरेर पीडा कम गरेँ हुँला रुँदैरुँदै । तर, अहिले सोच्छु, ती अबोध बालिकाको के दोष ? बालबालिका र वृद्धवृद्धा भगवानका रूप भन्ने हाम्रो लोकोक्ति नै छ । तर, मलाई फेरि एकपल्ट ती दिनमा जान मन छ । ‘रिवाइण्ड’ गर्न मन छ मेरो विगतलाई । खोज्न मन छ मेरो पारिवारिक विरासतलाई । बुझ्न मन छ मेरो पृष्ठभूमिलाई । म बढेको मेरो धर्तीलाई । नुनदेखि सुनको जोहो गर्न हरेक वर्ष सयौं उकाली–ओराली पार गरेर हटारुको परिचय पाएका मेरा पुर्खाको सम्झनामा मलाई हराउन मन छ । हाटबजारको खोजीमा तराई झरेका उनीहरू कसरी बसाईं सरे हुन् ? किन सरे हुन् ? जवाफ खोज्न मन छ । उनीहरूको जीवनको आरोह–अवरोह, भीरपहिरोको कथा सुन्न र सुनाउन पाइयोस् । आउने पुस्ताका लागि शबदमा उतार्न पाइयोस् । अनि एउटा चलचित्रको पटकथा झैं गरी वाक्यहरू जोड्न पाइयोस् र जीउ ढाक्न नाना, एक मुठी खाना र आकाश छेल्ने छानाका लागि आफ्नो वस्ती छोडेर हरेक हिउँदमा गोलभूगोल चहार्न निस्केका मेरा बोबहरू, बाबाहरू, मामाहरूसमेत सम्पूर्ण हटारु आफन्तीहरू जो हाट निस्कँदा पाइला परेका ठाउँठाउँमा बसाईं सरे, उनीहरू सबैप्रति समर्पित गर्न पाइयोस् ।
जेनजी विद्रोह, ‘प्रिगनेन्ट’ कांग्रेस र जनअपेक्षा
जेनजी विद्रोहको साढे २ महिना पुग्न लाग्दा नेपाल राजनीतिक दिशाहिनताको घनघोर क्षणबाट गुज्रिरहेको छ । शासन व्यवस्था झन् अस्थिर हुँदैछ, आर्थिक सूचकहरू अवनति उन्मुख छन्, लगानीमा उत्साह नहुँदा बैंकमा पैसा थुप्रिँदैछ र जनताको भरोसा लगातार खस्किँदैछ । यस्तो बेला देशले विश्वसनीय, अनुशासित र वैचारिक आधार भएको राजनीतिक दल र अहिलेको अन्यौलको भूमरीबाट उकास्न सक्ने नेतृत्व खोजिरहेको छ । तर विडम्बना, ठिक यतिखेर देशका प्रमुख पार्टी दिशाहीन जस्तै देखिएका छन् भने पछिल्लो विद्रोहको सुत्रधार जेनजी पुस्ता पनि तितरवितर भएर चौबाटोमा छ । त्यसो त हरेक खाले आन्दोलन वा विद्रोहपछि क्षणिक आशा पलाउने अनि केही समयमै त्यो निराशामा बदलिने नेपाली नियति नै बनिसकेको छ । यसपालि पनि कम्तिमा अहिलेसम्मको घटनाक्रम हेर्दा योभन्दा भिन्न हुने अपेक्षा गर्न सकिने आधार तय भएका छैनन् । दुई ठूला दलको सत्ता सहवास केपी शर्मा ओली र शेरबहादुर देउवाको कुर्सी दौडमा मात्र सीमित भएपछि गत भदौको विरूप विद्रोह जन्मिएको जगजाहेर नै छ । दुई तिहाइको जनमत एक ठाउँमा आउँदा जुन ऐतिहासिक रूपले परिवर्तन वा सुधारका लागि प्रयोग हुन सक्थ्यो, त्यो ‘सत्ता गणित’मा सीमित हुँदा उनीहरू सडकमा पछारिए भने देश र जनता अँध्यारोमा फसेका छन् । नेपालको सबैभन्दा पूरानो र प्रमुख राजनीतिक परिवर्तनमा नेतृत्व दिएको ऐतिहासिक पार्टी नेपाली कांग्रेस आफ्नै आन्तरिक गतिरोधमा झण्डै २ महिना कैद भयो । यद्यपि ढिलै भए पनि उसले फागुनमा तोकिएको आम चुनावमा जाने परिपक्व निर्णय लिएको छ । साथै उसले मुलुक अभूतपूर्व राजनीतिक संकटमा परेका बेला सबैले सहकार्य गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ । फागुनमा तोकिएको चुनाव होला कि नहोला भन्ने आशंका बढिरहेका बेला कांग्रेसको डेढ महिना चलेको केन्द्रीय समितिको बैठकको यो निर्णयले आमचुनावको माहोल खडा गर्ने अपेक्षा गर्न सकिन्छ । किनभने कांग्रेसले ताजा जनादेशमा जाने कित्ता समाउने बित्तिकै एमाले अब चुनावमा लतारिने पक्का छ । बाँकीले चुनावमा जाने बताइसकेकै छन् । यो निर्णय सँगै कांग्रेसले फेरि एकपटक आफूलाई नेपाली राजनीतिको परिपक्व अभिभावकमा दर्ज गरेको छ । तत्कालीन सत्ताको नेतृत्व सम्हालेको नेकपा एमाले भाद्र २३ र २४ मा केही नभए जस्तो गरेर सडक र बोलीमा रमिता देखाइरहेको छ । ‘सत्ता हुँदा पनि भर नभएको र सडकमा हुँदा पनि डर भएको’ पार्टीको छवि बनाउन एमाले उद्यत रहेको टिप्पणी गर्न थालिएको छ । तर, उ सके संसद् पुनःस्थापना गराउने नसके चुनावमा होमिने गरी आन्तरिक तयारीमा जुटिसकेको छ । अर्को दल तत्कालीन माओवादी केन्द्रका चतुर अध्यक्ष तथा हाल नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पनि पूरानो रक्सी नयाँ बोतलमा भरेर ‘मार्केटिङ’ सुरु गरिसकेका छन् । बाँकी दलहरूको त संरचना नै अस्थायी, आधार नै क्षणभंगुर हुँदा भरोसा गरिहाल्ने आधार बनेको देखिँदैन । पछिल्लो ८० वर्षमा नेपालका प्रमुख राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको पार्टी कांग्रेसले आफ्नो ‘स्ट्याण्ड क्लियर’ गर्न निकै ढिलो गर्यो । खासगरी यो पार्टीका दोस्रो पुस्ताका नेताको पहल र सकृयताले परिवर्तन पक्षधरलाई आशाबादी पनि बनाएको थियो । जेनजी बिद्रोहमा ज्यान लिने गरी भौतिक आक्रमणमा परेर पनि यो पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले त्यसपछिको पहिलो सार्वजनिक अभिव्यक्तिमा दिएको सन्तुलित र परिपक्व विचारले पनि कांग्रेससँग अप्ठ्यारोमा धेरैले आशा बढाएको देखिएको हो । तर, कांग्रेस आफ्नो म्याद आइसकेको महाधिवेशनको मिति तोक्ने विषयमा डेढ महिना दन्त बजान गरेर पनि टुंगोमा पुग्न नसक्दा भने धेरैलाई निराश बनाएको छ । कांग्रेस ‘किस्तामा बैठक’ गर्दै कछुवा गतिमा अलमलिँदा देश नै अलमलिए जस्तो भएको छ । देशभरका चिया चौतारामा मानिसहरू अब राजनीतिले कुन बाटो समाउला ? त्यो सहज होला कि नहोला ? के व्यवस्था सही बाटोमा जाला ? जस्ता विषयमा अनेक कोणबाट छलफलमा आफ्नो समय खर्चिन बाध्य छन् । गत साता झण्डै दर्जन जिल्लाका विभिन्न विचार र पेशाकर्मीहरूसँग पंक्तिकारले सम्वादको मौका पाउँदा मानिसमा ठूलो अन्यौल र अनिश्चय स्पष्ट देखियो । साना बालबालिकादेखि वृद्धसम्म सबै उमेरका मानिस ठूलो चिन्तामा देखिए । भदौ २४ को जनउभार र आगोले केही राम्रो होला कि भनेर आशा राख्नेहरु अहिले यसभन्दा पनि खराब अवस्था आउन लागेको शंकामा पिल्सिएको पाइयो । सहज रूपमा गरिखान समेत गाह्रो हुने हो कि भन्नेमा अधिकांश चिन्तित सुनिए । बेथिति र भ्रष्टाचारविरुद्ध चलेको हावाले आँधीको रूप लिएर सत्ता पखालेर लगेपछिका साढे २ महिनामा पनि न जेनजी युवाहरुले बाटो समाए न पूराना भनिएका दलहरुले आत्मसमीक्षासहित बाटो सुधारे । यो अन्यौलले आम निराशा र आक्रोश झन्झन् बढाउँदै लगेको छ । जननिर्वाचित संसद् छैन । आम चुनाव कहिले हुने हो टुंगो छैन । आज देश एक असामान्य घडीबाट गुज्रिरहेको छ । राणा शासनदेखि पञ्चायतसम्म, राजतन्त्रदेखि कम्युनिस्ट अधिनायकवादसम्म, कांग्रेसले संघर्षको इतिहास बोकेको छ । तर, आज कांग्रेस देशको सवालभन्दा पनि आन्तरिक सवालमा रुमलिएको छ । जब देशले आशा गरिरहेको छ, यस्तो बेला कांग्रेसले आफूलाई विकल्पका रूपमा प्रस्तुत गर्न असफल भयो भने यसको अस्तित्व किन छ ? यो केवल एक दर्जन शीर्ष नेताहरूको राजनीतिक जीवनको ‘क्यालकुलेटर’ मात्र हो ? यो पार्टीमा यी नेता बाहेकका लाखौं नेता कार्यकर्ताको कुनै मूल्य छैन ? यस्ता प्रश्न कांग्रेस कार्यकर्ताहरूले नै उठाउन थालेका छन् । प्रजातान्त्रिक मूल्य र मान्यताको बीज रोप्ने उद्देश्यले बीपी कोइरालाको पहलमा २००३ सालमा स्थापित नेपाली कांग्रेसले राणा शासनविरुद्धको क्रान्तिमा निर्णायक भूमिका खेलेको थियो । बीपीदेखि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईहरू सम्मको नेतृत्वले देशलाई लोकतन्त्र, संविधान र नागरिक अधिकारका मार्गमा अघि बढायो । २००७ सालको परिवर्तन, २०१७ सालको संघर्ष, २०४६ सालको पुनर्जागरणसम्म कांग्रेस अग्रपंक्तिमा रह्यो । २०६२/०६३ को आन्दोलन र २०७२ सालमा संविधानसभामार्फत संविधान जारी गर्दा पनि कांग्रेसको अगुवाइ निर्णायक रह्यो । तर, समयको प्रवाहसँगै कांग्रेसको संगठन, सिद्धान्त र प्रभाव क्रमशः कमजोर बन्दै गएको छ । बीपीले पार्टीको मूल सिद्धान्त ‘लोकतन्त्र, समाजवाद र राष्ट्रियता’का रूपले परिभाषित गरेका थिए । तर, त्यो सिद्धान्त अहिले पार्टीको संरचना र व्यवहारमा हराएको देखिन्छ । गुटबन्दी र अवसरवादले पार्टीभित्र गहिरो जरा गाडिसकेको छ । विचार र नीतिभन्दा पद, पैसा र पहुँचको राजनीति हावी भएको छ । सिँगो पार्टीले दिशा तय गर्न नसकिरहेका बेला पार्टीका कतिपय नेताहरूले हिन्दू राज्यका पक्षमा त कोहीले संवैधानिक राजसंस्थाको पक्षमा अभिव्यक्ति दिइरहेका छन् । पार्टीले एउटा आशा र स्पष्टता सञ्चार गर्न नसक्दा ‘मास–बेस्ड पार्टी’का ‘स्वीङ’ भोटहरू बरालिने र अराजकतावादी, प्रतिक्रियावादी वा क्षणिक लोकप्रियतामा चल्ने शक्तितिर बग्न सक्छन् । यसर्थ कांग्रेसको समग्र ढिलाई केवल पार्टीको समस्या होइन, देशको राजनीतिक स्थायित्वमै प्रत्यक्ष असर पार्ने विषय हो । ‘स्वीङ’ भोट देशको राजनीतिक मौसम हो । यही भोट ‘मास वेस्ड’ कांग्रेस पार्टीको मुख्य बल हो । अस्पतालमा जस्तै—जहाँ संकटका बेला डाक्टरको हात चाँडो चल्नु पर्छ, ठीक त्यस्तै अवस्था अहिले देशको छ । तर राणा, राजा, पञ्च, कम्युनिस्ट सबैसँग संघर्ष गर्दै, भारतको असहज छायाँलाई पन्छाउँदै संविधानसभामार्फत् संविधान जारी गरेर यहाँसम्म देशलाई डोर्याएको कांग्रेस आज संकटका बेला आन्तरिक महाधिवेशनको रडाकोबाट बाहिर आउन नसक्नु आश्चर्यजनक र गैह्रजिम्मेवार मानिएको छ । नयाँ पुस्ता, नयाँ दृष्टिसहित निर्णय क्षमता अगाडि ल्याउन सकेन भने कांग्रेसप्रति बचेखुचेको अपेक्षा सकिनेछ । कांग्रेस यी सवालमा छरितो र उत्तरदायी बन्नै पर्छ । फुर्मासको समय छैन । कांग्रेसले आफ्नो नियमित वा विशेष जुन भए पनि महाधिवेशनको मिति समयमैं सक्ने गरी तोकोस् । अनि बदलिएको परिवेशमा ताजा जनादेशका लागि आम चुनावमा एकमतले होमिएको सन्देश देओस् । पार्टीबाट समयको पदचाप बुझ्न सक्ने नयाँ नेतृत्व छानोस् र अहिलेको राजनीतिक भूमरीबाट देशलाई उकास्न फेरि एक पटक विगतको कालखण्डजस्तै गरी भरोसायुक्त नेतृत्व लेओस् भन्ने आम अपेक्षा रहेको छ । जेनजी विद्रोहपछि कांग्रेसमा दोस्रो पुस्ताका गगन थापा लगायतको आवाज जोडदार रूपमा मुखरित भएको छ । यसले संस्थापन पक्षभन्दा संस्थापन इतरपक्षको आवाज बलियो बन्दै गएको छ । कांग्रेसलाई ‘प्रिगनेन्ट’ त बनाएको छ तर न बच्चा जन्मिने मिति टुंगो छ न बच्चा जन्मिने कुराकै सुनिश्चितता । तैपनि महाधिवेशन आम चुनावअघि कि पछि भन्ने विषय कांग्रेसमा अहिले प्रसव पीडाजस्तै गरि बल्झिएको छ । अहिले कांग्रेस सभापतिका नाममा मिडियामा, कार्यकर्ता तहमा खुला पत्र लेखिन थालेका छन् । नेपाली कांग्रेसलाई नयाँ उर्जा र भविष्यको ताकत बनाउने कि इतिहासको पानामा खुम्च्याउने दिशामा डोर्याउने भनेर सभापति देउवाको आलोचना भैरहेको छ । देश जलिरहेका बेला सबै दल र नेताहरु दुला पसेका बेला समेत पार्टीका तर्फबाट सन्देश प्रवाह गरेर एउटा ढाडसको बल दिने महामन्त्री गगन थापा र उनीहरूको पुस्तामा ऊर्जा, योजना, टिम, जनआकर्षण सबै छ भनेर मत बन्दै गएको छ । सँगै वरिष्ठ नेता शेखर कोइरालाप्रति पनि कार्यकर्ताको आशा छ । यसले स्वतन्त्र जनमतलाई अझै कांग्रेस निर्णयको प्रतीक्षामा राखेको विश्लेषण गरिन्छ । वि.सं २०५६ मा गिरिजाप्रसाद कोइरालाले आफ्ना कट्टर विरोधी कृष्णप्रसाद भट्टराईलाई नै भावी प्रधानमन्त्री भन्न सके, किनकी उनले बुझेका थिए कि पार्टी चलाउने कुरा व्यक्तिगत मनोविज्ञान होइन, जनमतको विज्ञान हो । भट्टराई अघि सार्दा पार्टीले बहुमत ल्यायो । कांग्रेसको बाँकी सम्भावना दोस्रो पुस्तामा टल्किएको बेला यसको सदुपयोग किन नगर्ने ? नेतृत्वको गरिमा कहिलेकाहीँ आफूभन्दा सक्षम वा भविष्यदृष्टि भएको पुस्तालाई अघि लगाउन सक्ने साहसमा पनि नापिन्छ । नेतृत्व त्यही हो, जहाँ व्यक्तिगत भावनाभन्दा संस्थाको भविष्य ठूलो हुन्छ । तर, आज कांग्रेसले त्यो इतिहास बिर्सेको हो कि भन्ने प्रश्न सामुन्ने आएको छ । यस्तै कारणले विश्वभर ‘पुराना दलहरूको संकट’ जन्मिएको हो, इटालीको डेमोक्रेटिक पार्टी, फ्रान्सको सोसलिस्ट पार्टी, भारतको कांग्रेस—सबै नयाँ पुस्तालाई समयमै अगाडि नसार्दा कमजोर हुँदै गए । क्यानडाको लिबरल पार्टी दशकौंसम्म थाकेको संरचना जस्तै थियो, जसलाई जस्टिन ट्रुडोको नेतृत्वमा पुनःसंगठित गरिएपछि मात्र पुनर्जीवन मिल्यो । युकेको लेबर पार्टी बाहिर निस्किनै सकेन, जबसम्म उसले पूराना अनुहारहरूको चक्र तोडेन । नेपालमा कांग्रेस आज यस्तै मोडमा पुगेको छ । कार्यबाहक सभापति तोकेर उपचारका लागि सिंगापुर जानुअघि देउवाको अभिव्यक्ति र उदारताले कांग्रेस र उनको छविमा नयाँ रक्तसञ्चारको आशा पलाएको टिप्पणी सुरु भएको थियो । तर, उनी फर्केपछि पुनः पूरानै राजनीतिक रक्तसञ्चार लिएर फर्किएको मत निर्माण भैरहेको बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले साझा निकास निस्कने र सभापति देउवा सक्रिय राजनीतिमा नफर्कने संकेत दिएका छन् । हुन पनि कांग्रेस सभापति देउवाको जस्तो सरल व्यक्तित्व र सौम्य अभिव्यक्ति जस्ता गुण अहिलेका समकालीन कुनै नेतामा पनि छैन । विधानको व्यवस्था अनुसार महाधिवेशनमा जानु पर्ने पार्टीपंक्ति मितिको रडाकोमा फसेको छ । यसले जति सक्यो छिटो आमचुनावमा लगाउनु पर्ने शक्ति आफै भित्रको लडाइँमा क्षयीकरण भैरहेको छ । संस्थापन तर्फका आधा दर्जन भाइहरूको जिद्दीले कांग्रेस र देश अनिर्णयमा फसेका छन् । तर, संस्थापन तर्फ अहिले चुनावी लहर ल्याउन सक्ने नेता छैनन् । कांग्रेसको दोस्रो पुस्ताका गगन थापा जो विद्यार्थी राजनीतिबाट उदाएका हुन्, उनीजत्तिकै देश हाँक्ने योजना बनाएर तयार भएका र विश्वप्रकाश जस्ता सारथी भएका नेता अरु कुनै पार्टीमा छैनन् । देउवा समेतका सबै नेता अभिभावकीय कवजमा बसेर यी युवाहरूलाई अघि सारेर पार्टी र देशलाई सही दिशा दिन सकिन्छ भन्ने मत पार्टीभित्र र आम जनतामा बलियो हुँदै गएको छ । तर, ‘प्रिग्नेन्ट’ कांग्रेसले यो निर्णय लिन सक्छ वा सक्दैन भन्ने कुरा निकट भविष्यमा थाहा होला । हो, राजनीतिमा आफ्नो खास अनुयायी भन्दा अर्कालाई अघि सार्न गाह्रो छ । तर, सबैले कांग्रेसलाई आशाले हेरिरहँदा यस भन्दा फरक सोच्ने छुट कांग्रेस र यसको संस्थापन पक्षलाई छैन । पूरानो पुस्ताको सम्मान र नयाँ पुस्ताको भावना बोक्न सक्ने ल्याकतसहित हालसम्मका राम्रा कुराको श्वेतपत्र जारी गरि कमजोरीहरुको आत्मालोचनासहित यो पार्टीले जेन्जी पुस्ताको भावना र सन्देश आत्मसात् गरेर अघि बढ्न जति ढिलो गर्यो देश र कांग्रेस दुवै उत्तिकै ठूलो अन्यौल र अस्थिरताको भूमरीमा फस्तै जाने खतरामा छन् ।
देशका लागि कोही किन धुर्मुस बनोस् ?
दशक अघिसम्म कलापात्र ‘धुर्मुस’ अर्थात् सीताराम कट्टेलको ‘नेमफेम’ डाहलाग्दो थियो । पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ सँगको उनको कलाजोडी ‘सुपरहिट’ जस्तै थियो । गाउँले पाराको धुर्मुस–सुन्तली जोडीको अर्गानिक अभिनयबाट लाखौं ‘फ्यान’ बनेका थिए । विभिन्न संस्थाबाट सम्मानको ओइरो थियो । जनमनमा बसेका उनै कलाकार धुर्मुसको जीवन अहिले ‘ओरोलो लागेको हरिणको चाल झैं’ भएको छ । चितवनमा आफैले निर्माण थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भुक्तानी टुंगो लाउन सरकारी अड्डा धाउँदाधाउँदै उनी लखतरान छन् । उनको पछिल्लो ५ वर्ष सिंहदरबार र चितवन धाउँदैमा बित्यो । रहरले बिसाएको यसै झमेलाका कारण शारीरिक, मानसिक र आर्थिक रूपमा गलेका उनी ‘डिप्रेसन’ र ‘एन्जाइटी’को शिकार भएका छन् । गत वैशाखदेखि प्राकृतिक चिकित्सालय समेत चहारिरहेका उनलाई चिकित्सकले धपेडी र तनाव नलिन सुझाए पनि फाइलको झोला बोकेर सरकारी अड्डा चहार्नुको विकल्प उनीसँग छैन । उनकी श्रीमती ‘सुन्तली’ भन्छिन्, ‘ऊ शारीरिक र मानसिक दुवै रूपमा निकै गलेको छ । तर जनताको माया जति पाएको छ, त्यसले फेरि उठाउने आशा हामीलाई छ ।’ हास्यव्यंग्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट उदाएका धुर्मुस–सुन्तलीले यसबाट पाएको ‘नेम’ र ‘फेम’ दुवै प्रयोग गर्दै समाजसेवा थालेका थिए । मुसहर बस्ती निर्माणलगायतका कामको सफलताले हौसिएका धुर्मुसले नागरिक सहायताबाट चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने ‘मेगा प्रोजेक्ट’ थाले । यो सपना पूरा गर्नका लागि चाहिने झण्डै तीन अर्बको स्रोत जुटाउन मात्र उनी असफल भएनन्, त्यसमा गरिएको खर्चको पारदर्शिता सम्बन्धी प्रश्नले पनि घेरिए । यसको खर्च पारदर्शी भएको केही छानबिनले देखाए पनि बहुप्रतिभाशाली कलाकार धुर्मुस यही प्रकरणले पछिल्लो केही वर्षदेखि बिथोलिँदै गएका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत् सहयोग संकलन गरेर शिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी २०७५ माघ १६ गते रंगशाला निर्माणको घोषणा गरियो । २० बिघा ६ कठ्ठा जग्गामा बन्दै गरेको रंगशालाको निर्माण कार्य रकम अभावका कारण २०७८ मा रोकियो । त्यसपछि फाउन्डेसनकै पहलमा भरतपुर महानगरपालिकाले स्वामित्व त लियो । तर, निर्माणमा खर्च भइसकेको १८ करोड ४३ लाख उधारो कसले तिर्ने भन्ने विवाद सुरु भयो । यही विवादले धुर्मुस–सुन्तली फाउण्डेसन विवादमा आयो र उनीहरूको निद हराम पनि सुरु भयो । भरतपुर महानगरपालिकाका अनुसार रंगशाला निर्माणमा ५७ करोड ९२ लाख ८५ हजार ७३८ रुपैयाँ खर्च भएको छ । त्यसमध्ये १८ करोड ४३ लाख ऋण छ । महानगरपालिकाले गराएको अडिटमा समेत उधारो ऋण तिनुपर्ने देखाइएको छ । यो ऋण कसरी तिर्ने भन्ने विषयले निकास पाउन नसक्दा धुर्मुस परिवार तनावमा भासिँदै गएको हो । २०७९ मंसिर २९ गते तत्कालीन मन्त्रीपरिषद्ले ऋणमध्ये १२ करोड रकम अनुदान दिने निर्णय गरेको थियो । त्यतिबेला युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत भुक्तानी दिन पत्रसमेत पठायो । तर, परिषदले आफूलाई जानकारी नभएको र सम्झौतासमेत नभएको भन्दै दिन नसकिने जवाफ दियो । त्यसपछि २०८० असारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार अर्थ मन्त्रालयमार्फत भरतपुर महानगरपालिकाको खातामा १२ करोड रकम पठाइयो । त्यो रकम पनि महानगरपालिकाले भुक्तानी नगर्दा संघीय सरकारकै खातामा फिर्ता भयो । जसले गर्दा यो प्रक्रिया झन् गिजोलियो । रंगशाला निर्माणको बाँकी काम सरकारले नै गर्ने गरी जिम्मा लिइएको छ । तर, निर्माण गर्दा लागेको उधारो रकम चुक्ता नहुँदा धुर्मुस दम्पती सिंहदरबार धाउन विवश छन् । लेखापढीका फाइल बोकेर सिंहदरबारका कोठाकोठा चहारे पनि सरकारले आफ्नो समस्या नसुनेको दुखेसो उनीहरूको छ । २०७२ को भुकम्पपछि सहयोग उठाएर उनीहरुले पूर्वी तराईमा केही एकीकृत बस्ती बसाए । सुरुमा ‘धुर्मुस–सुन्तली एकीकृत बस्ती’ नाम राखेर रौतहटको सन्तपुर बस्ती बनाउँदा ५ करोड, महोत्तरीको मुसहर बस्ती बनाउँदा साढे ७ करोड र गिरानचौर बस्तीका लागि ६ करोड बढी रकम जम्मा भयो । यसरी ठूलो जनसमर्थन र विश्वास पाएर पुलकित धुर्मुस जोडी छँदाखाँदाको नाम र दामको कलाकारिता भन्दा समाजसेवामा रमाउन पुगे । अनि स-सानो पैसा उठाएर समाजसेवाको रुपमा करोडका ४ वटा प्रोजेक्ट सकेका धुर्मुस–सुन्तली सिधै अर्बको प्राजेक्टमा हात हाल्न पुगे । देशमा ठूलो सपना देख्नु नै अपराध नबनोस्, समाजले बिग्रिएका वा थाकेका वा हारेका होइन, जितेका सफा धुर्मुसहरू पाओस् । एकातिर नमूना बस्ती बनाएपछि समाजले रातारात ‘महान समाजसेवी’ बनाइदिएको अनि अर्कोतिर नेपालमा क्रिकेटको उच्च प्रशंसा भइरहेको तर खेल्ने गतिलो ठाउँ नभएको बेला उनीहरू चरम महत्त्वाकांक्षी बनेर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन तम्सिए । ठाउँ खोज्दै जाँदा संयोगले चितवन जुरेको थियो । सुरुमा देश-विदेशबाट सहयोग पनि जुट्यो । सहयोग जुटाउन ठाउँठाउँमा स्वतःस्फूर्त सहयोग समितिहरू बने । अनि झण्डै ४० करोड नगद रकम जुट्यो भने उधारोबाट १८ करोड बढिको काम भयो । त्यसबाट रंगशालाको ३५ प्रतिशत काम मात्रै हुन सक्यो । चाहिने रकम उठ्न रोकिएपछि धुर्मुसले ‘प्रोजेक्ट’ त अघि बढ्ने गरी सरकारलाई बुझाए । तर, बजारमा तिर्न बाँकी बक्यौताको ‘काउसो’ले भने पच्छ्याइ रह्यो । त्यसपछि उनीहरुको सपना, कलाकारिता र जीवन नै तहसनहस हुने गरी सुरु भएको हुरी ५ वर्षदेखि रोकिएको छैन । लहडमा लागेर चरम महत्त्वाकांक्षी बन्दा धुर्मुस–सुन्तलीको ‘हरिबिजोग’ भएको एकथरीको भनाइ पनि छ । अब पुनः कलाकारितामा फर्किएर अहिलेको ‘ट्रेण्ड’मा स्थापित हुन पनि ठूलै सकस छ । एक समय लोकप्रियताको शिखर चुमेका धुर्मुस–सुन्तलीको जोडी रंगशाला बनाउने योजनासँगै एकपछि अर्को परिबन्दमा फसे । देशलाई सघाउन खोजेका उनीहरुको वास्तविक पीडा सरकारले बुझ्न नसकेको वा नचाहेको भन्ने आम बुझाई बन्दै गएको छ । सरकारले रंगशाला जिम्मा लिइसकेको तर तिर्नुपर्ने बाँकी रकम बुझाउन भने फनफनी घुमाएर दुःख दिएको आरोप पनि एकथरीको छ । छिनोफानो छिटो होस् भनेर धुर्मुस फाइलको झोला बोकेर सिंहदरबारका कोठा–कोठामा पुग्दा पनि सरकार कछुवा गतिमै छ । यसले स्वयं धुर्मुस र उनको परिवार मानसिक तनावमा भासिँदै गएको छ । देश र जनताका लागि सुरु गरेको योजना नै अहिले निल्नु न ओकल्नु भएको छ । कहिले सिंहदरबार त कहिले ललितपुरको पुल्चोक अनि कहिले चितवनको भरतपुर धाइरहेका धुर्मुसलाई सरकारले ढिलाई गरेर किन पीडा दिइरहेको छ बुझिनसक्नु छ । गत वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेसनले क्रिकेट रंगशालाको काम सुरु गरेर धेरै दुःख पाएको भन्दै त्यो क्रिकेट मैदान पनि बन्ने र उनीहरूको दुःख कष्ट पनि हट्ने बताएका थिए । तर, उनी नेतृत्वको सरकारका तर्फबाट पनि तत्काल गाँठो फुकाइदिने काम चाहिँ भएन । उधारो चुकाएर पनि धुर्मुस जोडीले मुक्ति पाउने छैन । सहयोग रकम हिनामिना गरेको आरोपबाट सफाइ पनि धुर्मुस–सुन्तली फाउण्डेसनले पाउनु पर्नेछ । हुन त हालैको एउटा सरकारी मूल्यांकन रिपोर्टले उनीहरुका लागि केही आशा जगाइ दिएको छ । रिपोर्टमा सहयोग उठेको र तिर्नु पर्ने रकम भन्दा बढीको काम भएको देखिएपछि यो आरोप आफै खण्डित हुन पनि सक्छ । त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ कलेजले गरेको प्राविधिक जाँचका आधारमा फाउण्डेसनले भ्याटसहित ५९ करोड ९० लाख १ हजार ८ सय ६६ रुपैयाँको काम गरेको मूल्यांकन रिपोर्ट तयार गरेको छ । सो रिपोर्ट भरतपुर महानगरपालिकामा पेश भै सकेको छ । कलेजले तयार गरेको प्रतिवेदनमा फाउण्डेसनले रंगशालाभित्र निर्माण गरेको नमूना क्रिकेट मैदान, कालोमाटोसहितको ढुवानी, मैदानमा दुबो रोप्दा लागेको खर्च, रंगशालाभित्र मौज्दात रहेको निर्माण सामग्री, स्क्राप सामग्री समेत झण्डै ३ करोड रकम नजोडिएको जनाएको छ । यी रकम बाहेक नै फाउण्डेसनले ५९ करोडभन्दा बढीको भौतिक काम गरेको प्रतिवेदनले देखाएसँगै धुर्मुसहरू माथि लागेको अनियमितताको दाग पखालिने आशा उनका शुभेच्छुकमा जागेको छ । संघीय सरकारले चालु आर्थिक वर्षमा फाउण्डेसनले गरेको कामको ऋण र उधारो तिर्ने प्रयोजनका लागि प्राविधिक मूल्यांकन गर्ने घोषणा बजेटमार्फत् गरेको थियो । यसै अनुसार कलेज, भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउण्डेसनबीच प्राविधिक मूल्यांकन गराउने त्रिपक्षीय समझदारी अनुसार मूल्यांकन भएको हो । यद्यपि सरकारले फाउण्डेसनका तर्फबाट भएको कामको उधारो रकम तिर्नका लागि यस वर्ष १५ करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ । सो रकम कोष तथा लेखा नियन्त्रक कार्यालय हुँदै महानगरपालिकामा अख्तियारीसमेत गइसकेको छ । तर, महानगरपालिकाले सबै कुरा टुंगिए पनि अहिले आएर प्रतिवेदन अध्ययन गर्ने भन्दै अल्झाएर राखेको छ । जसले गर्दा धुर्मुस उक्त बजेट निकासाका लागि अझै धाइरहेका छन् । यो भुक्तानी भएपछि पनि बाँकी ३ करोडभन्दा बढी रकमको जोहो गर्नु पर्ने दायित्व धुर्मुसकै टाउकोमा रहनेछ । धुर्मुसको पीडा केवल व्यक्तिगत होइन, यो देशका लागि उठ्ने मानिसको साझा कथा हो । धुर्मुसले आफ्नै कमाइ र लोकप्रियता प्रयोग गरेर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखे । तर, वाचा गरिएका सहयोगहरू पूरा भएनन्, प्रशासनिक अड्चन र राजनीतिक दवाबले परियोजना सुस्तियो, सामाजिक सञ्जाल र केही व्यक्तिले आलोचना र आरोप लगाइरहे । यद्यपि सबै कठिनाइका बाबजुद, धुर्मुसले हार नमानेर धाइरहेका छन् । तथ्यबाट यदि उनी पारदर्शी देखिए र यो योजना पूरा भयो भने यो एउटा सपना देख्ने र देशका लागि उठ्ने मान्छेको संघर्षको प्रतीक बन्नेछ । समाजका लागि प्रेरणाको स्रोत बन्नेछ । धुर्मुसले एक दशकअघि नै खाँचो देखेर यो काम आँट्नु नै उनको गल्ती होइन । उनी न नेता हुन्, न उद्योगपती । उनी क्रिकेटर पनि होइनन् र न क्रिकेटरका आफन्त । कलाकारले कलामै योगदान जारी राख्नु पथ्र्यो पनि भन्न सकियो । तर, अब उनलाई दुःख दिएर वा हियाएरै जिवनमरणको दोसाँधमा छोड्नु न्यायसँगत हो त ? भन्नेले त यत्रो ठूलो काम जाबो कलाकारले किन आँटेको पनि भनेका छन् । केहीले पैसा कुम्ल्याउन पनि यसो गर्यो भनेका छन् । तर, आफू केही नगर्ने र गर्नेहरूको शरीरका जुम्रा खोजेर चौबाटोमा चियागफ लडाउनेहरूको कमी नभएको समाजमा यस्ता कुरा सामान्य हुन् । बरु मान्छे देशका लागि उठ्दा, देशले नै उनलाई बेहाल बनाइदिने कथा जस्तो यो नहोस् । यो देशमा ठूला सपना देख्ने हिम्मत गर्नु नै अपराध नबनोस् । बाँकी उनले समाजसेवाका नाममा कमाउधन्दा वा अरू बदमासी गरेका भए कानुनले सजाय देओस्, समाजले त जे पनि भन्छ । कसैले राम्रो काम गर्न खोज्यो भने पहिले उसलाई तान्ने, फेरि थिच्ने, अनि अन्त्यमा थकाउन खोज्ने समाजको पुस्तौनी संस्कृति हो । धुर्मुस पनि सायद यही संस्कृतिको सिकार बने । आखिरमा देशको राजधानीमा बल्ल क्रिकेटका लागि भने जस्तो रंगशाला बन्ने क्रममा छ । बुटवलमा एक जनाले निजी रंगशाला बनाएका छन् । धुर्मुसले एक दशकअघि नै खाँचो देखेर यो काम आँट्नु नै उनको गल्ती होइन । उनी न नेता हुन्, न उद्योगपति। उनी क्रिकेटर पनि होइनन् र न क्रिकेटरका आफन्त । कलाकारले कलामै योगदान जारी राख्नु पर्थ्यो पनि भन्न सकियो । तर, अब उनलाई दुःख दिएर वा हियाएरै जीवनमरणको दोसाँधमा छोड्नु न्यायसंगत हो त ? त्यसैले देशमा ठूलो सपना देख्नु नै अपराध नबनोस्, समाजले बिग्रिएका वा थाकेका वा हारेका होइन जितेका सफा धुर्मुसहरू पाओस् । अझ धेरै सफा धुर्मुसहरू जन्मिऊन् । समयले सबै कुरा छिटो राफसाफ गरोस् । नत्र छिनमै देउता बनाउने र छिनमै राक्षस करार गर्ने ठेक्का पाएको हाम्रो समाजको मुख कसले थुन्न सक्छ र !
सडक विकास : धमाधम चित्र कोर्यौं, फटाफट रङ भरौं
यात्रा गर्न खुबै रमाउने मेरा लागि प्रायः जसो काम सँगै यात्राको अवसर मिल्दा ‘डबल’ मज्जाको अनुभूति हुन्छ । पछिल्लो २ दशकमा कामकै सिलसिलामा झण्डै ६८ जिल्ला पुग्ने मौका पाएँ । कोरोना महामारीपछि यस्तो यात्राको तारतम्य कमै मिल्ने गरेको थियो । तर, पछिल्ला केही महिना लगालग यात्राको मेसो जुर्यो । मध्ये नेपालको काठमाडौंदेखि सुदूरको कैलालीसम्मको सडक ओहोरदोहोर स्वादिलो त रहेन । तर, यो यात्राले निकट आशाको गज्जव सञ्चार चाहीँ गरायो । अनि मनमा लाग्यो, अरे बाफ्रे, धमाधम बन्दैछ– देशको मेरुदण्ड । कर्णाली तिर एउटा शव्द छ ‘राउँसिने’ । यसको अर्थ हो, उत्ताउलो रुपमा कुनै काममा लाग्ने । मेरो पछिल्ला सडक यात्रापछि मलाई अहिले यहि शब्दको भावशैलीमा सडकमा काम भैरहेको अनुभूति भयो । काठमाडौंको कलङ्की पार गरेपछि चाहे त्यो ‘फ्लाइओभर’ वा सुरुङको साजसज्जा भैरहेको होस् वा थानकोट कटेदेखि मुग्लिङसम्म सडक चौडा भैरहेको होस् धमाधम केही न केही भैरहेको देखिन्छ । यस्तै मुग्लिङदेखि पोखरासम्मको चार लेन सडक होस् वा पोखरा वुटवल खण्डमा भैरहेको सुरुङ निर्माण होस् वा नारायणघाटदेखि बुटवलसम्मको फिलिली सडकको जारी प्रगति होस्, यी दृष्यले मनमा आशाको उमङ्ग दिन्छन्, जाम र खाल्टाखुल्टीका कारणले बाटोमा पाइने कहर बिर्साउँछन् । बुटवलदेखि भालुवाङसम्म बन्दै गरेका पुल र चाक्लिन थालेको सडक होस् कि नेपालगञ्जदेखि धनगढीसम्मको हुलाकी राजमार्गले फेर्दै गएको चोलाको दृष्यले होस् देशको सडक चुप छैन, नसुतेरै बदलिने बाटोमा छ भन्ने साफ चित्र पेश गर्छन् । यतिमात्र होइन बाँके, बर्दिया र कैलालीका गाउँगाउँमा पुग्दा पनि सडक सुधारमा व्यापक पहल भैरहेको देखियो । क्षेत्रफलमा नेपालकै ठूलो बाँकेको राप्ती सोनारी गाउँपालिकाका सबै जसो वडामा साँघुरो भए पनि अधिकांश सडक कालोपत्रे देखिए । लगभग हरेक जसो पालिकामा यस्तै दृष्य देखिन्छ । उता बर्दिया र कैलालीका गाउँगाउँमा गोरुगाडा चल्ने पूराना साँघुरा सडक धमाधम ४० फिटे बनाइँदै गरेको दृष्यले अबको ५० वा सय वर्षपछिको अवस्थाको कल्पना मनमा दौडिन्छ । ‘राउँसिने’ शैलीमा भैरहेका कामका यी दृष्यले मन उत्साहित र प्रफुल्लित बनाउँछ । हो, कार्यान्वयनमा चरम ढिलाइ, गुणस्तरहीन निर्माण, भ्रष्टाचारको जगजगीका कारणले सडकमा आशा भन्दा दिक्दारी बढी झाँगिएको छ । दिक्दारीले भैरहेको गतिलो उपक्रम पनि ओझेल पर्न थालेको छ । तर, सत्य के हो भने जताततै केही न केही भैरहेको छ । धमाधम भैरहेको छ । स्थलमार्ग सुध्रियो भने यात्रुलाई स्थानीय अनुभूति जिवन्त लाग्छन् । ठाउँ अनुसारका खाना र फलफूलको स्वादका साथ यात्रा गर्नुको आनन्द नै बेग्लै हुन्छ । यस्तो यात्राले भूगोल, समाज, संस्कृति, प्रकृति, उत्पादनसहित विकासका विविध चित्र देखाउँछन् । तर, सडकको विजोग, सार्वजनिक सवारी साधनको अगतिलो व्यवस्थापन अनि समयको चापका कारण महँगो टिकटमा जहाज चढेर यात्रा गर्नु पर्ने बाध्यता अधिकांशलाई आइलाग्छ । सडक गतिला नहुँदा गन्तव्यमा पुग्न समय बढी लाग्ने, दुर्घटनाको जोखिम हुने लगायत डरले आर्थिक रुपमा महँगो परे पनि सकिनसकी जहाज चढ्नु पर्ने बाध्यतामा तमाम मध्यमवर्गिय नेपालीहरु छन् । यद्यपि ९० प्रतिशत जनताले यातायातका लागि सडक नै उपयोग गर्छन् । विकसित र ठूला देशहरुमा सडक यातायात सुपथ, छिटो, भरपर्दो र सुरक्षित बनाइएको हुन्छ । झण्डै एक दशकअघि चीनको छेन्दूदेखि बेइजिङसम्म त्यहाँको ‘बुलेट ट्रेन’ मार्फत् यात्रा गर्ने अवसर जुरेको थियो । झण्डै २३ सय किलोमिटरको दुरी, २० ठाउँमा मान्छे ओरोल्ने र चढाउने गरेर पनि १३ घण्टा जतिमा गन्तव्यमा पुग्दा हामी नेपाली सञ्चारकर्मीहरु छक्क परेका थियौं । यसभन्दा पनि छक्कै पार्ने कुरा त ‘बुलेट ट्रेन’को ‘रुट’ थियो । ट्रेन चढेदेखि नओर्लिदासम्म न ट्रेन अग्ला पहाडमा चढ्यो न कतै होचोमा छिर्यो । बरु आकाशमा उड्ने जहाज टर्बुलेन्सका कारणले हल्लिएला, जमिनको यो यात्रामा सिट अघिको ‘ट्रे’मा राखेको कफीको गिलासले समेत उभिएरै सकुसल यात्रा गर्न सक्ने अदुभूत् सडक यात्राको महसुस गरियो । पहाड आए टनेल छ, नदीमा पुल हुने नै भो, गहिरो भए पिलर हालेर उठाएको छ, पूरै लिक सिधा छ । कोरोना महामारी लगत्तै अमेरिकाको विकास छाम्ने अवसर जुर्यो । सरकारी निम्तोको कार्यक्रम नै विभिन्न स्टेट घुमाउँदै पत्रकारितामा मिथ्या सूचना रोकथामका विषयमा ज्ञान दिने थियो । साथीभाई र आफन्तको साथले पनि थप केहि स्टेट घुम्ने मौका मिल्यो । यात्रा दौरान स्थल यात्राको स्वाद गजवले लिन पाइयो । जताततै चौडा र चिल्ला सडक, व्यवस्थित शहर र सुन्दर आवास वस्तीका बारेमा अनुभूत गर्न पाइयो । कैयौं लेनका सफा र चिल्ला सडकको यात्राले दिमागको दायरा नै फराकिलो बनाएको महसुस हुन्छ । काठमाडौंदेखि नेपालगन्ज पुग्दा लाग्ने झण्डै १२ घण्टाको दुरी झण्डै तीन घण्टामा छिचोल्न सकिने सडक पूर्वाधारको सुविधा छ । ट्रेन रुटका विकल्प त झन् कति कति । युरोप, अमेरिका लगायतका विकसित देशहरुमा सिधा र तीव्र गतिमा दौडिने गाडी र रेलमार्गले आधुनिकताको स्पष्ट चित्र कोरेको देखिन्छ । अमेरिका र क्यानडामा लामो दुरीमा सडक यात्रा गर्दा जहाँ गए पनि बाटोको गुणस्तर उस्तै देखिन्छ, मानौं विकासको रफ्तार त्यहाँ समान रूपमा बगिरहेको हो । नेपालमा सडक योजनाकोे रेखाचित्र बल्ल पूरा हुँदैछ । यद्यपि ढिलो गति र नमिल्दो वितरण भए पनि परिवर्तनको संकेत स्पष्ट देखिन थालेको छ । देशभर सडकले नयाँ रूप लिँदैछ । पुराना बाटोहरू फराकिलो बनाइँदैैछन् र नयाँ सडकले विकासको नयाँ गन्तव्य खोजिरहेका छन् । नेपाली सडकमा उडेको धुलोमात्र होइन, त्यसमाथि आशाको व्यग्र प्रतिक्षा पनि देखिन्छ, जसले भोलिको यात्रालाई अझ सहज र सुरक्षित बनाउने छ । एउटा भनाई नै छ, ‘विकास गाडी चढेर आउँछ । गाडी आउन बाटो चाहिन्छ ।’ नेपालमा बाटो बनि नसकेकाले वि.सं. १९९८ मा भिमफेदीबाट गाडी आफै मानिसको काँध चढेर काठमाडौं आएको थियो । ४२ किमिको अमलेखगन्ज भिमफेदी सडक उपत्यका बाहिरको पहिलो हो । नेपाल जस्तो भूपरिवेष्ठित तथा पहाडी भू–भाग भएको ठाउँमा सडक सञ्जाल ‘कनेक्टिभिटीको’ मेरुदण्ड नै हो । आफै गुडेर आउनु पर्ने गाडी मान्छेको काँध चढेर आएकोले होला सडक सञ्जालको चित्र कोर्ने काम मै झण्डै एक सय वर्ष लागि सक्यो । यसमा रङ भर्ने कामले गति समाउन बाँकी नै छ । ढिलो गति र नमिल्दो वितरण भए पनि परिवर्तनको संकेत स्पष्ट देखिन थालेको छ । देशभर सडकले नयाँ रूप लिँदैछ । यो सय वर्षमा एकलाख किलोमिटर सडक चित्रको आँकडा पार भएको छ । अनि अघिल्लो आर्थिक वर्षसम्म ५८ लाख ५० हजारभन्दा माथि सवारी साधन पुगेको यातायात व्यवस्था विभागको तथ्याङ्क छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको राष्ट्रिय यातायात नीति, २०८१ अनुसार गत आर्थिक वर्षसम्ममा देशभर स्थानीय सडक सञ्जाल समेत गरी करिब १ लाख किलोमिटर सडक निर्माण भएको छ । यसमा रणनीतिक सडक सञ्जाल नै ३४ हजार किमि नाघेको छ । नेपालमा सडक सञ्जालको चित्र कोर्ने कामले पछिल्लो दुई दशकमा छलाङ मारेको तथ्यले बताउँछ । यहीबीचमा नेपाली सडक सञ्जालले धमाधम चोला फेरिरहेको छ । आठ लेनसम्मका सडक, चोकहरुमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ सँगै सुरुङमार्गको युगमा नेपाली सडक यात्रा प्रवेश गरिसकेको छ । खासगरी संघीयता सुरु भएयता ७ सय ५३ स्थानीय सरकार बनेपछि जनप्रतिनिधिबीच सडक खन्ने होड नै चल्यो । यसले ‘डोजर आतंक’को उपमा पनि पायो । तर, गाउँगाउँमा सडकका रेखा भने कोरिए । संयुक्त राष्ट्रसंघको बडापत्रले भन्छ, ‘विकास भनेको सामाजिक, सांस्कृतिक र पूर्वाधार विकासको समष्टि हो ।’ अनि सडक निर्माण हुनु भनेको यी सबै विकासको आधार खडा हुनु हो । यस कारण सामाजिक–आर्थिक विकासको पूर्वसर्त नै पूर्वाधार विकास मानिन्छ भने सडक चाहीँ पूर्वाधार विकासको पनि पूर्वाधार । १९८० को दशकदेखि नेपालमा सडक बन्न थालेको सडक विभागले मान्ने गरेको छ । २००७ सालअघि पहाडी क्षेत्रमा ढुङ्गा र तराईंमा इटा छापिएका सडक हुन्थे । २०८१ सालमा हुम्लामा सडक जोडिएसँगै नेपालका सबै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । यसरी सडक सुरुआतको दशक १९८० मान्ने हो भने सबै जिल्लामा सडक पुग्न झण्डै एकसय वर्ष लागेको छ । सडक विभागको पछिल्लो प्रतिवेदनमा सडक सञ्जाल विकासको न्यूनतम् आवश्यकता करिब-करिब पूरा भएको र समग्र सुधारको खाँचो रहेको उल्लेख छ । बाह्रै महिना सवारी चल्न सक्ने अवस्था भने कुल सडकको एक तिहाइ सडकमा मात्रै छ । एशियन हाइवे थाइल्यान्डको बैंककबाट शुरू भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । राणाकालको अन्त्यसम्म ५ किमि कालोपत्रे समेत ३ सय ७६ किमि सडक बनेको थियो । २०४६ सालको बहुदलीय प्रजातन्त्र पुर्नवहाली हुनु अघिसम्म नेपालभरमा ७३ सय ३० किलोमिटर सडक सञ्जाल थियो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा सडक विस्तारको कामले गति लिएको र लोकतन्त्रको पछिल्लो दुइ दशकमा यसले छलाङ मारेको तथ्य देखिन्छ । खासगरी ग्रामीण सडक निर्माण बिजुली गतिमा भइरहेको छ । २०६३ सालमा देशभर सडक लम्बाइ १७ हजार ६ सय ९ किलोमिटर थियो । जबकी २०८० मा आइपुग्दा देशको संघीय, प्रादेशिक र स्थानीय सडक गरेर कुल लम्बाइ १ लाख १ हजार ५ सय किलोमिटर पुगेको अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षण २०८१ मा उल्लेख छ । राजा महेन्द्रले २०१९ सालमा मेचीदेखि महाकालीसम्मको महेन्द्र राजमार्ग निर्माणको थालनी गरे । जसलाई सडक निर्माणको स्वर्णिम युगको रुपमा लिइन्छ । १ हजार २८ किलोमिटर लामो यो सडकले कालोपत्रे रुप पाउन भने झण्डै ४ दशक लाग्यो भने हाल खण्ड–खण्डमा ४ लेनमा विस्तार भैरहेको छ । यो सडक एशियन हाइवेको सञ्जालमा जोडिने छ । एशियन हाइवे थाइल्यान्डको बैंककबाट शुरू भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । चौथो पञ्चवर्षीय आवधिक योजना पछि सडक सुधारको संस्थागत प्रयास सुरु भएको देखिन्छ । नेपाल रोड्स स्टाण्डर्ड २०२७ र सार्वजनिक सडक ऐन २०३१ जारी भएपछि सडकको मापदण्ड र सुधारको प्रयास सुरु भयो । त्यसपछि राजमार्गदेखि गोरेटकोसम्मका सडक परिभाषित गरिएको हो । यसै अवधिमा सडकलाई मोटर चल्ने र नचल्ने आधारमा ‘मार्ग’ र ‘बाटो’ मा वर्गीकरण गरी मार्गलाई ‘राजमार्ग’, ‘मुख्यमार्ग’ र ‘क्षेत्रीय राजमार्ग’ मा विभाजन गरिएको थियो । बाटोलाई भने चक्रेटो, घोडेटो र गोरेटोमा वर्गीकरण गरिएको थियो । त्यसबेला तय गरिएको बाटोको चौडाइ हालसम्म पनि पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । वि.सं २०६३ सालमा लोकतन्त्र आएपछि सरकारले सडकका आयोजना पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि सार्ने प्रयास सुरु गरेको छ । राष्ट्रिय गौरवका आयोजनामा मध्यपहाडी राजमार्ग (पुष्पलाल) लोकमार्ग, हुलाकी लोकमार्ग, उत्तरदक्षिण (कोशी) लोकमार्ग, उत्तरदक्षिण (कालीगण्डकी कोरिडोर) उत्तरदक्षिण (कर्णाली) लोकमार्ग गरी ६ वटा रहेका छन् । पछिल्लो डेढ दशकमा आठ लेनसम्मका सडक निर्माण भए । उपत्यकामा रिङरोडको कलङ्की कोटेश्वर खण्ड, काठमाडौंको माइतीघर कोटेश्वर खण्ड, कोटेश्वरदेखि भक्तपुरको सुर्यविनायक खण्ड लगायत देशका भरतपुर, वुटवल, नेपालगन्ज, विराटनगर लगायत कैयौं प्रमुख शहरमा आठ लेनसम्मका सडक सञ्चालनमा छन् । ४ लेनसम्मका सडक त देशभर अधिकांश प्रमुख शहरहरुमा निर्माण भैसकेका छन् । ललितपुरको ग्वार्को चोकमा १७ करोडको लगानीमा नेपालको पहिलो ‘फ्लाइओभर’ निर्माण भएसँगै नेपाली सडक फ्लाइओभर युगमा प्रवेश गरेको हो । विकसित देशमा जाम नहोस् भनेर चोकचोकमा अन्डरपास र ‘फ्लाइओभर’ बनाइएको हुन्छ । काठमाडौंको वीर अस्पतालदेखि जमल जाने बाटोमा मानिसले सडक पार गर्न बनाइएको ‘अन्डरपास’ देख्दा सुरुमा अचम्म मान्नेहरुले रिङरोडको कलंकी चोकमा २०७५ भाद्रदेखि देशकै पहिलो गाडी चल्ने भव्य ‘अन्डरपास’को स्वाद लिन पाएका छन् । सुरुङमार्गको युगमा पनि नेपाल प्रवेश गरेको छ । नागढुङ्गा सुरुङमार्ग यसै वर्षदेखि व्यावसायिक सञ्चालनमा आउने छ । यो सञ्चालनसँगै कलङ्की थानकोट खण्डमा नेपालको दोस्रो ‘फ्लाइओभर’ पनि सञ्चालनमा आउनेछ । रेल यातायातको क्षेत्रमा पनि विगतमा सञ्चालन भई बीचमा बन्द रहेको जयनगर-जनकपुर न्यारो गेजको रेलमार्ग ब्रोड गेजमा स्तरोन्नति भई बिजलपुरासम्म ५२ किमि दुरीमा सञ्चालनमा आएको छ । यस्तै जल यातायातको विकासका लागि २०७५ मा छुट्टै कार्यालय खोली आन्तरिक तथा अन्तरदेशीय जल यातायात विस्तारको सम्भाव्यता अध्ययन एवं कानुन तर्जुमाको कार्य भैरहेको भनिएको छ । नेपालको यातायात प्रणालीको प्राथमिकता भने अझै किटान हुन सकेको छैन । जल, रेल, हवाई वा सडक के हो भन्ने विषयमा पर्याप्त बहस र प्रष्ट योजना देखिँदैन । यसर्थ सरकारले नेपालको यातायातको प्राथमिकता कुन हो भन्ने कुरा तय गरी सो अनुसार लगानी बढाउने नीति लिनु पर्ने पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यको राय छ । नेपालको संविधानको अनुसूचि ५ मा राष्ट्रिय यातायात नीति बनाउने र रेल तथा राष्ट्रिय लोकमार्गको व्यवस्थापन गर्ने क्षेत्राधिकार संघलाई तोकिएको छ । अनुसूची ५ मा प्रदेश लोकमार्गको क्षेत्राधिकार प्रदेशमा रहने र अनुसूचि ८ मा स्थानीय, ग्रामीण र कृषि सडकको क्षेत्राधिकार स्थानीय तहको रहने भनिएको छ । यसै अनुसार तीन तहका सरकारले सडक बनाउने अनि रेखदेख र मर्मत सम्भारका काम गर्ने गर्छन् । सवारी साधनको गतिले सडकको अवस्था र सडकको अवस्थाले मुलुकको पूर्वाधार विकासको अवस्थालाई चित्रण गर्छ भनिन्छ । तर, नेपालका सडकको स्तर सुधार हुन नसक्दा सवारी दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षतिको दर उच्च छ । पछिल्लो ६ वर्षको तथ्यांक केलाउँदा प्रतिवर्ष औसत २५ सय मानिसले दुर्घटनामा ज्यान गुमाएका छन् । संयुक्त राष्ट्र संघको कार्ययोजना अनुसार बनेको राष्ट्रिय सडक सुरक्षा नीति २०८१ को मस्यौदामा सडक यातायातमा हुने दुर्घटनालाई न्यूनीकरण गरी त्यसबाट हुने मानव मृत्यु र गम्भीर घाइतेको संख्या सन् २०३० सम्ममा ५० प्रतिशतले घटाई २०५० सम्ममा शून्यमा पुर्याउने लक्ष्य उल्लेख छ । सडकले अर्थतन्त्रमा सिधा प्रभाव पार्छ र गाउँ अनि शहर पनि जोड्छ । यसले गाउँमा दुध पोख्नु पर्ने र स्याउ कुहाउनु पर्ने अवस्था अन्त्य गर्छ । सडकले गाउँको उत्पादन मात्र शहर पुर्याउँदैन, थातथलो छाडेर शहर पस्नेको संख्या पनि घटाउन मद्दत गर्छ । तराईंबाट हिउँदमा वर्षभरी पुग्ने नुन–तेल र लत्ताकपडा जस्ता अत्यावश्यक सामलको जोहो गर्नु पर्ने कठिनता हिमाली वा पहाड जनजीवनमा सडक पुगेसँगै फेरिन्छ भने बसाइसराईको बाध्यताबाट छुट्कारा पनि दिन्छ । हरेक वर्षको यस्तै पिरलोबाट मुक्ति खोज्दै २०४० सालमा पंक्तिकारको परिवार कालिकोटबाट बर्दिया बसाई सरेको थियो । त्यसको २३ वर्षपछि मात्र कर्णालीको जुम्लासम्म मोटरबाटो पुग्यो । सायद त्यसपछि न्यूनतम् उपभोग्य वस्तुकै लागि बसाई सर्नु पर्ने बाध्यताको अन्त्य भयो । धमाधम सडक सञ्जाल जोडिँदै गए पनि नेपालका सडक साह्रै कमसल हुने गरेको गुनासो छ । यसकारण बर्सेनि अर्बौं रुपैयाँ सडक मर्मतमा खर्च हुन्छ । सडक बोर्ड नेपालको तथ्याङ्क अनुसार विगत पाँच वर्षमा वार्षिक औसत ११ अर्ब रुपैयाँ सडक मर्मत तथा व्यवस्थापनका लागि खर्च भएको छ । सडक बोर्डले रणनीतिक र स्थानीय सडक गरी दुई भागमा छुट्याएर मर्मत सम्भारको काम गर्छ । बजेट अभाव र खर्च गर्ने क्षमताको कमी, मनसुनको पहिरो, बाढी, हिमपात जस्ता मौसमजन्य समस्या, प्राविधिक जनशक्ति र उपकरणको कमी नेपाली सडकका चुनौतीका रुपमा रहेको सडक विभागको भनाइ छ । यसरी एक लाख किलोमिटर लम्बाइको आँकडामा नेपाली सडक जीवनले एक सय वर्ष पार गरिहँदा पछिल्ला २० वर्षमा धमाधम सडकको चित्र कोरिएको देखिन्छ भने अब फटाफट ती चित्रमा स्तरीय र अन्तर्राष्ट्रिय सडक मापदण्ड सहितको रङ भर्न जरुरी छ ।
पैसाको पुस्ता : जेनजेडलाई पनि थाहा होस् !
बैंकका बारेमा मेरो मनमा बाल्यकालमै एउटा चित्र बसेको छ जुन आजपर्यन्त ताजा छ । बिहान सबेरै घरबाट बैंक हिँडेका बुवा तीन घण्टा टाढाको राजापुर बजार पुगेर दिनभर लाइनमा बस्थे । फर्किँदा अघिअघि झमक्क साँझ अनि पछिपछि लखतरान थाकेका बुवा हुन्थे । पैसा राख्ने वा झिक्ने कारोबार गर्दाको दैनिकी सधैं यस्तै हुन्थ्यो । कर गरीगरी बुवासँगै राजापुर गएका बेला मैले दिनभर कृषि विकास बैंकको शाखा अगाडिको ठूलो आँप रुखको छाँयामा निरस समय गुजारेको बिर्सेको छैन । बैंक धाउँदाको दुःख बुवालाई थियो । तर, त्यो झन्झट र दिनभरको प्रतीक्षाले म कहालिन्थें । हुन त त्यतिबेला बैंकमा खाता खोल्ने कुरा नै सबैको वशमा थिएन । सायद सचेतना वा आवश्यकता पनि थिएन । धेरैको बचत गर्ने अवस्था थिएन । बैंकको महत्त्व र सुविधाको ज्ञान पनि थिएन । कारोबार बाक्लो हुने सहरमा मात्र बैंकका शाखा हुन्थे । गाउँका मानिसले बैंकमा खाता खोलिहाले पनि पैसा राख्न वा झिक्न बुवाले जस्तै दिनभरको समय छुट्याउनु पर्थ्यो । झमेला बिसाउनु पर्थ्यो । बर्दियाको गोलास्थित खोनपुर गाउँको हाम्रो घरमा एउटा सानो पसल थियो । पसल सानै भए पनि त्यस बेला गाउँका लागि त्यो सहरतिरको सानोतिनो भाटभटेनीजस्तै हुन्थ्यो । परिणाम कम भए पनि कपडादेखि चप्पलसम्म, बिस्कुटदेखि चकलेटसम्म र महिलाले कपाल बाट्ने डोरीदेखि टुकी बाल्ने मट्टीतेलसम्म पाइन्थ्यो । पसल भएकाले रुपैयाँ–पैसाको कारोबार हुने नै भयो । त्यसमाथि नगदे तथा अन्नबाली, कुखुरा, फलफूल आदि बेचविखनको आम्दानी पनि बुवाको हातमा हुन्थ्यो । गाउँमा सरसापट आदिमा पैसा ओहोरदोहोर भए पनि सायद बचत हुँदो हो, त्यसैले बैंकमा बुवाको खाता थियो । त्यसबेला पैसा बोकेर तिरनतारन गर्न जानु झन् महाभारत थियो । विसं २०५० साल आसपासको एक दिन मेरा काकाको कामको सन्दर्भमा नगद १० हजार रूपैयाँ बोकेर बर्दियाको गोलाबाट नेपालगन्ज जानु परेको थियो । घरदेखि करिब २ घण्टाको साइकल यात्रा गरी कर्णाली नदीको कोठियाघाटमा डुङ्गा तरेपछि नेपालगन्जको बस समाउन सकिन्थ्यो । तिनताका कोठियाघाटको पूर्वी किनाराबाट बस लाग्थे । बाटो कच्ची थियो अनि कोचाकोच मान्छे ओसार्न पाइलैपिच्छे रोक्दैगुड्दै गर्नाले पूरै दिन लाग्थ्यो नेपालगन्ज पुग्न । पार्टपुर्जा बज्ने थोत्रो गाडीभित्रको अटेसमटेस भीडमा एक्लै भए पनि टिनएज उमेरको मेरा लागि त्यसबेलाको यात्रा रोमाञ्चक थियो । किनभने गाउँमा बस्ने त्यसमाथि विद्यार्थीलाई सितिमिति बस चढ्ने मौका अघिपछि पाउने कुरै भएन । नेपालगञ्जको रमझम देख्न पाइने यादले आतुर मनको बीचमा त्यो नगद रुपैयाँ आइरहन्थ्यो । अनि मनको उमङ्गमा पानी फेरिरहन्थ्यो । जिन्स पेन्टको खल्तीको त्यो रूपैयाँ कता हराउने हो वा चोरिने हो भनेर मन ढुकढुक हुन्थ्यो । डराउँदै, सम्हालिँदै दिनभरको यात्राभर कैयौं पटक झसङ्ग हुँदै पकेट छाम्दै म नेपालगन्ज पुगेको थिएँ । अहिले सम्झिँदा अनौठो लाग्छ । विसं २०५४ सालमा पत्रकारिता पढ्न काठमाडौं छिरेपछि पुतलीसडक भएर ओहोरदोहोर गर्दा बैंक अफ काठमाडौं, इन्भेष्टमेन्ट बैंक लगायतका आकर्षक सजावटका बैंकहरू देख्थें । मनमा लाग्थ्यो, यस्तो बैंकमा खाता खोल्न पाए पैसै नभए पनि ‘पैसावाल फिल’ आउँदो हो ! पत्रकारिता गर्दै आइएदेखि एमए पढ्दासम्म खाता खोल्ने हैसियत जुरेन । महिना पुग्न केही महिना बित्नु पर्ने अनि त्यही पनि नगद पैसामा तलब आउने भएकाले बैंक खाताको खाँचो पनि परेन । माघ १९, २०६१ को तत्कालीन राजा ज्ञानेन्द्र शाहको ‘सत्ता कू’ले देशभरका लागि रेडियो पत्रिका कायाकैरन र नेपाल दर्पण उत्पादन गर्ने कम्युनिकेशन कर्नरमा कार्यरत हामी रेडियोकर्मीहरूको जागिर हल्लियो । रेडियोमा समाचार बन्देज गरी समाचार कक्षमा सेनाको तैनाथी भयो । पत्रकार महासंघको आह्वानमा भएको प्रदर्शनमा सहभागी हुँदा एक रात र एक दिन प्रहरी थुनामा पर्नुपर्यो । यसैबीचमा एउटा भ्रष्टाचार विरोधी परियोजनामा सञ्चार अधिकृतको जागिर खुल्यो अनि त्यसमा म छानिएपछि २०६२ साउनमा काठमाडौं पनि छोड्नु पर्यो र पहिलो बैंक खाता खोल्ने शौभाग्य मिल्यो । तलबी खाताका रूपमा एनबी बैंक (तत्कालीन नेपाल बंगलदेश बैंक)मा जीवनको पहिलो बैंक खाता खुलेपछि पुतलीसडकतिर बरालिँदा दिउँसै देख्ने ‘पैसावाल फिलिङ्गस’को एउटा केटाकेटी सपना पनि पूरा भयो । त्यो बैंक ओरालो लागेपछि मैले जीवनको पहिलो त्यो खाता बन्द नै गरिदिएको थिएँ । पछि त्यो बैंक नबिल बैंकमा विलय भयो । परियोजनामा जोडिएको केही समयपछि कलेजमा पत्रकारिता पढाउन थालें । पढाएको तलब बुझ्न एनआईसी बैंकमा अर्को खाता खोल्नु पर्यो । अनि विसं २०६३ साल तिर एक दिन त यस्तो पनि आयो, इन्भेस्टमेन्ट बैंक कार्यालयमै आएर १ रूपैयाँमै सबै कर्मचारीका खाता खोलेर गयो । निःशुल्क एटीएम कार्डसमेत थमाइ दियो । सायद यसपछि बैंक खाता आम मानिसको गच्छेमा पनि आयो । ६० को दशक अघिसम्म बैंक खाता नभएकाहरूका लागि पैसा पठाउन र पाउन निकै सकस थियो । काठमाडौंमा पढ्दाको सुरुवातमा पैसाको खाँचो हुँदा निकै दुःख पाइन्थ्यो । आउनेबित्तिकै वरिष्ठ पत्रकार हरि लम्सालको सिफारिसमा एउटा साप्ताहिक पत्रिकामा काम सुरु गरेपछि कामको खाँचो कहिल्यै परेन । तर, पैसा कहिल्यै समयमा नआउने । साथी सर्कल पनि सबै आफूजस्तै भएपछि सरसापट पनि कोसँग माग्नु ? आफन्त सिला खोजे पनि नभेटिने युग थियो । विद्यार्थी भनेपछि नजिकका पसलेले उधारो पनि नपत्याउने, स्टोभ बाल्ने एक रुपैयाँको सलाई समेत उधारो नपाइने । पैसा सकियो भने कोही आउने मान्छे खोज्दा खोज्दै महिनौं लाग्थो गाउँतिर । एक केजी चामल किन्ने पैसा समेत नभएर रुँदै भोकै रात काट्नु परेका याद ऊर्जाशील सम्झनाका रूपमा मनमा गढेका छन् । पैसाको सही मोलको ज्ञानबोध पनि आफै कमाउन थालेपछि नै प्रकट हुँदो रहेछ । पैसा मगाउन कि घरबाटै कोही आउनु पर्दथ्यो कि कोही आफन्त काठमाडौं आउने संयोग जुर्नु पर्दथ्यो । पत्रकारिताको काम गर्दै अनि पढ्दै पनि रहेकाले सामान्य खर्च टरिहाल्थ्यो । फोनलाइन जोड्ने, ग्यास जोड्ने, कम्प्युटर किन्ने जस्ता अलि एकमुष्ट ठूलो रकम लाग्ने खर्चका लागि परिवारकै भर पर्नु पर्ने स्थिति हुन्थ्यो । अलिअलि स्वाभिमान अलिअलि घमण्डले पनि दुःख बेसाइदिन्थ्यो । तर, सम्झी ल्याउँदा त्यसबेलाको संघर्षले धेरै सिकायो अनि यो समाजमा गरिखान सक्ने गरी टिक्ने बनायो सायद । पैसाको सही मोलको ज्ञानबोध पनि आफै कमाउन थालेपछि नै प्रकट हुँदो रहेछ । आजको जस्तो मोबाइलबाट तुरुन्तै पैसा पठाउने पाउने सुविधा थिएन । पैसोको खास महत्त्व पनि अभावमै अनुभूत हुँदो रहेछ । आज पनि मलाई सम्झना आउँछ – पहिलो तलबको । मैले विसं २०५५ सालको जेठ/असारतिर तलबको खाम हात पारेको थिएँ । मेरो जीवनको पहिलो कमाइ । पत्रकारिताको पहिलो आर्जन । शौचालय छिरेर फटाफट खाम खोलेको थिएँ । त्यसमा एक हजार रूपैयाँको एउटा नोट थियो । त्यो नोट मास्न मलाई साह्रै गाह्रो भयो । मैले त्यो नोट सम्हाली राखेको थिएँ । पहिलो कमाइको साह्रै माया लागेर सकभर त्यो नोट नभजाउने अठोटमा थिएँ । जसोतसो गुजारा चलिरहेको थियो । कुपण्डोलको बीचतिर क्याम्पेन कलेज पछाडि डेरा थियो । प्रायः शनिबार बर्दियाको पशुपतिनगरमा रहेको हाम्रो घरदेखि झण्डै ४५ मिनेट टाढाको पीसीओबाट सँगैको कोठामा डेरागरी बस्नेहरूले जोडेको फोनमा बुवाको फोन आउँथ्यो । कल छुटे बाहिर गएर फोन फर्काउँथें । मिनेटको १५ रुपैयाँ लाग्ने फोन शनिबार आधा छुट हुन्थ्यो । एक दिन बुवाको फोन कल छुट्यो । फोन फर्काउन पसलतिर गएँ । म सँग त्यही १ हजारको नोट र अर्को एउटा १० रुपैयाँको नोट थियो । बुवा उता भए कलब्याक गर्न भनिहाल्छु, बुवा नभए त्यही १० रुपैयाँको एक कलले नै पुगी हाल्छ, हजारको नोट भजाउन्न भन्ने जुक्तिमा थिएँ । पीसीओवाला सामान्य जिनजानकै थिए, उनले मेरो फोन उठाउँदै एकछिन होल्डमा बस है म हेर्छु भने । मैले सोचेछु, फोन टेबलमा राखेर बुवा खोज्न वरपर हेर्न गए, समय कटेर १० रुपैयाँको नोटले नपुग्ने भो, हजार रुपैयाँ भजिने भो भन्ने रन्कोले टीनएजर मेरो मुखबाट फुत्त फुत्किहाल्यो– ‘माँटोक्ने फोन होल्डमा राख्दियो यार !’ तुरुन्त सम्हालिएर सोचेँ, ओ...ह..सुन्यो होला यार त्यसले । अनि फेरि मुखबाट फुत्किहाल्यो– ‘ला...माँ टोक्ने भनेँ, सुन्यो होला यार... माँ टोक्नेले ।’ अनायासै तीनपल्ट आमाचकारी गाली कानमा ठोक्किए पनि उताबाट शान्त जवाफ आयो, ‘सुने पनि माइण्ड गर्दैन भाइ, बुवा यता देखिनु भएन । फर्किसक्नु भयो सायद ।’ पीसीओवाला दाइको यो जवाफले म मरेतुल्य लजाएँ । सरी दाइ भन्दै फोन राखेँ । त्यो हजार रुपैयाँ जोगिएको खुसीमा आफ्नो गल्तीमा खासै ध्यान दिइनँ र पसलबाट टाप कसेँ । तर, पछि सम्झेर मन पोल्दै गएको थियो, केही वर्षपछि ती दाइ गम्भीर बिरामी भएर नेपालगन्जको भेरी अस्पतालमा भर्ना भएर उपचार गराइरहेको थाहा पाएँ, अनि केही थान पुस्तक र फलफूलसहित भेटेर माफी मागेपछि मात्र मैले आफूलाई माफी पाएको महसुस गरेको थिएँ । घरबाट पैसा सजिलै नपाउँदा आफ्नो पहिलो कमाई त्यो १ हजार रुपैयाँको नोटको माया झन् बढेको थियो । त्यही मायाले सिर्जेको त्यो अवोध उदण्डता सम्झेर अहिले पनि हाँसोको खित्का र लाजको धर्सो सँगै आउँछ मनमा। बुवा पुस्ताका कुरा अहिले दन्तेकथा जस्ता लाग्छन् । भर्खर टीनएज कटेका मेरा बुवा र मामाले २०३९ सालतिर कालिकोटको नाग्मबाट बर्दियाको गोला पुगेर जग्गा किन्दा नगद रुपैयाँ र अपुग होला भनि भएका सबै गरगहना तथा कासका भाँडाकुडा बोकेर गरेको यात्रावर्णन अहिले पत्याउनै मुश्किल लाग्छ। ती स्मृतिहरू, ती अनुभवहरू, आजको डिजिटल बैंकिङ र रेमिटेन्सको युगमा अझै सजीव लाग्छन् । देशविदेशबाट अहिले पैसा पठाउन र पाउन कुनै डर र सकस छैन । छिनभरमै सबै सुविधा छ । अचेल पैसाका लागि बैंक जानै पर्दैन । मोबाइलमै बैंक आउँछ । मोबाइलबाटै सबथोक आउँछ । मेरा पत्रकार तथा साहित्यकार साथी पदम गौतम युरोपबाट नेपाल आएका बेला गत वर्ष भन्थे, ‘नेपालको डिजिटल बैंकिङ यति सहज भएछ कि पान पसलमा पनि क्यूआर गर्न पाइने रहेछ । कतिपय कुरामा त युरोपभन्दा पनि सजिलो लाग्यो ।’ वास्तवमा अहिलेको मोबाइल बैंकिङले हाम्रो जीवनशैली नै बदलिदिएको छ– तरकारी पसलमा समेत क्युआर स्क्यान सुविधा छ । पानी, बत्तीको महसुल बुझाउन लाइन बस्नु पर्दैन । बालबच्चाको स्कुल फि पनि मोबाइलबाटै तिर्न सकिन्छ । थिएटर, केबलकार, जहाज, गाडीका टिकट लिन पनि लाइन बस्ने बाध्यता टरेको छ । कामकाजीहरुको तलब पाउन अनि पठाउन पनि अब डिजिटल डिभाइसबाटै सम्भव भएको छ । यस्तो भएको छ कि कारोबारका लागि इन्टरनेट र स्मार्ट मोबाइल फोन मिसिएर यो सुविधा एउटा जादुको छडी जस्तो भएको छ । अब ‘स्मार्टफोन वा कम्प्युटर’ नै सानो बैंक जस्तै भएको छ । बुवापुस्ताका कुरा अहिले दन्त्यकथा जस्ता लाग्छन् । भर्खर टीनएज कटेका मेरा बुवा र मामाले २०३९ सालतिर कालिकोटको नाग्मबाट बर्दियाको गोला पुगेर जग्गा किन्दा नगद रुपैयाँ र अपुग होला भनी भएका सबै गरगहना तथा काँसका भाँडाकुडा बोकेर गरेको यात्रावर्णन अहिले पत्याउनै मुस्किल लाग्छ । डेढ साताको पैदल यात्राका क्रममा बास बस्नुअघि आसपासमा मान्छे नपुग्ने जमीनमा खाल्टो खनेर गाड्दै बिहान फेरी खोतलेर पोको पार्दै सुरक्षित रुपमा धन ओसारेको झण्डै ४५ वर्ष अघिको त्यो पैसाको सनसनीपूर्ण पैदल यात्राका बारेमा छुट्टै लेख्नेछु । बैंक नहुँदा वा बैंकमा पहुँच नहुँदा बुवा पुस्ताले भोगेको त्यो कष्ट र अहिलेको पुस्ताले पाएको यो सहज कारोबारी जीवनबीचको फरक छाम्न घोत्लिने हो भने चमत्कारी परिवर्तन लाग्छ । अहिले प्रविधिले विदेशदेखि देशको गाउँसम्म बैंकिङ सेवा जोडेको छ । बैंकको प्रविधि गति समातेर चल्न सके, साथीभाई वा आफन्तसँग ‘एक दुई हजार सापटी दे न’ भन्नै पर्दैन । डिजिटल बैंकिङ, क्रेडिट सुविधा, मोबाइल वालेटहरूले पैसाको प्रबन्ध सजिलो मात्र बनाएका छैनन्, हाम्रो आत्मसम्मानमा पनि टेको दिन थालेका छन् । पङ्तिकारका निजी वा पारिवारिक सन्दर्भको पृष्ठभूमि भए पनि यो बेबी बूमर र जेनेरेशन एक्स पुस्ताको अनुभव त्यसपछिको जेनेरेशन वाइ, जेड र अल्फा हुँदै आउने पुस्ताले पनि थाहा पाउन जरुरी छ । बुवाहरूको पालामा जस्तो घण्टौं टाढा पुगेर पनि उसै गरी लाइन बस्नु पर्ने दुरके सितारा जस्ता बैंक अब हाम्रो हातको मोबाइलको पर्दा भित्र हाम्रै वशमा छ । बस, नचाउन जान्नु पर्यो । खासमा अब नगद पनि जरुरी हुन छाडेको छ । लगभग सबैतिर नगद बिनै कारोबार सहज भैसकेको छ । बस इन्टरनेटको पहुँच चाहियो । पारदर्शी, सुरक्षित अनि नहराउने डर, न चोरी होला भन्ने पीर । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा देशभर १ सय ७ बैंक तथा वित्तिय संस्थामार्फत सेवा प्रवाह भैरहेको छ । नेपालका सबै स्थानीय तहमा बैंकका शाखा खुलेका छन् भने देशको कुल ६० प्रतिशत जनसंख्या बैंक सेवा र ९० प्रतिशत बढी जनसंख्या इन्टरनेट सेवाको पहुँचमा छ । यो दिनप्रति झन् झन् सहज र विस्तारित हुँदै गएको छ ।