के डिजिटल मिडियाबाट बालबालिका असुरक्षित छन् ?

<p>काठमाडौं । नेपालमा बढिरहेको डिजिटल मिडियाले बालबालिका असुरक्षित रहेको बताइएको छ । सुरक्षित इन्टरनेट दिवसको अवसरमा मंगलबार आयोजना गरिएको ‘बालबालिका अनलाईन सुरक्षामा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी सरोकारवालाहरूले डिजिटल मिडियाबाट बालबालिकाहरू असुरक्षित रहेको बताएका हुन् । उनीहरूले पछिल्लो समय सञ्चालनमा आएका अनलाइन, युट्युव लगायतका मिडियाले जताततै बालबालिकाको फोटो तथा भीडीओहरू सार्वजनिक गर्दा यसले भोलिका [&hellip;]</p>

काठमाडौं । नेपालमा बढिरहेको डिजिटल मिडियाले बालबालिका असुरक्षित रहेको बताइएको छ । सुरक्षित इन्टरनेट दिवसको अवसरमा मंगलबार आयोजना गरिएको ‘बालबालिका अनलाईन सुरक्षामा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी सरोकारवालाहरूले डिजिटल मिडियाबाट बालबालिकाहरू असुरक्षित रहेको बताएका हुन् ।

उनीहरूले पछिल्लो समय सञ्चालनमा आएका अनलाइन, युट्युव लगायतका मिडियाले जताततै बालबालिकाको फोटो तथा भीडीओहरू सार्वजनिक गर्दा यसले भोलिका दिनमा जोखिम निम्त्याउन सक्ने बताएका हुन् ।

प्रेस काउन्सिल नेपालले पत्रकार अचारसंहिता विपरित सञ्चार माध्यममा आएका सामाग्रीको अनुगमन गरिरहेको जनाएको छ । कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र्र भुसालले असामाजिक र आपत्तिजनक सामाग्री कुनै पनि मिडियाले प्रकाशन गरे छानविन गर्न सक्ने व्यवस्था रहेकोले आफुहरूले अनुगमन गरिरहेको बताए ।

‘अभिभावकसँग कुरा गर्दा बालबालिकाको पनि फोटो तथा भीडीओ आउने गरेका छन्, कतिपय बालिबालिकालाई नै देखाएर सामाग्रीहरू नेपाली मिडियाले प्रकाशन गरेका छन्, यस्ता गतिविधिको काउन्सिलले अनुगमन गरेर प्रकाशन गरेका मिडियालाई सम्झाइबुझाई गर्ने गरेको छ, प्रविधिको प्रयोग बढेसँगै यस्ता गतिविधि बढ्दै गएका हुन्,’ उनले भने ।

पत्रकार कुन्दन अर्यालले बालबालिका आफैं पनि अनलाईनमा सुरक्षित नरहेको बताए । उनले भने, ‘अहिले इन्टरनेटको प्रयोग व्यापक बढ्यो, यसको पहुँच बालिकाबालिकामा सहज पुग्यो र यो विषयमा अभिभावक त्यति जानकारी भएनन् जसका कारण बालिबालिका आफैं गलत बाटोमा लागे ।’

अहिले बालबालिकाका अभिभावकलाई यो विषय निकै चिन्ताको विषय भएको उनको भनाइ छ ।

कोरोनापछि बालबालिकाको पहुँच इन्टरनेटमा

विश्व महामारीका रुपमा फैलिएको कोराना भाइरसका कारण नेपालमा पनि लकडाउनमा भयो । विद्यालय बन्द हुँदा शिक्षक र बालबालिका घरभित्रै थन्के । त्यो बेला बालबालिकाको हातमा मोबाइल प¥यो । बिस्तारै स्कुल, कलेजले अनलाईन कक्षा सञ्चालन गरेपछि बालबालिकाको पहुँच इन्टरनेटमा पुग्यो । त्यसपछि धेरैजसो बालबालिकाले इन्टरनेटको गलत प्रयोग गरेको अभिभावकको भनाइ छ ।

पढ्दैछु भन्ने नाममा बालबालिका गेम खेल्ने, सामाजिक सञ्जाल प्रयोग गर्नेदेखि ह्याकर समेत बनेको पत्रकार नितु पण्डितले बताइन् ।

साइबर ब्युरोका डिएसपी दिपेश जोशीले प्रहरीले २ सय बढी स्कुलमा जनचेतना मुलक कार्यक्रम गरिरहेको बताए । प्रहरीले सार्वजनिक साझेदारी कार्यक्रममा पनि अनलाईन सुरक्षाका विषयमा जानकारी दिने गरेको उनको भनाइ छ । साइबर ब्युरोमा बालबालिका असुरक्षासम्बन्धी बालबालिकाका ७४ उजुरी परेकोमा ७१ उजुरीमा छानविन गरेको उनको भनाइछ ।

सञ्चार मन्त्रालयको साइबर सुरक्षाशाखा प्रमुख राजकुमार महर्जनले यो विषयमा अझै स्पष्ट कानुन नहुँदा समस्या भएको बताए । सूचना प्रविधि समबन्धी विद्येयक र साइबर सुरक्षा तथा साइबर अपराध सम्बन्धी विद्येयकको ड्राफ्ट बनाइरहेको बताए ।

यस्तै नेपाल दूरसञ्चार प्राधिकरणका महानिर्देशक विजयकुमार रोयले प्रविधिको पहँुचले सकरात्कमसँगै नकरात्मक असर परिरहेको भन्दै यसको जिम्मेवार पनि प्रयोगकर्ता हुनु पर्ने बताए । उनले बालबालिकालाई यो विषयमा थाहा हुन नसक्ने भन्दै यसमा अभिभावकले आफ्नो बालबालिकाको ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा सहभागी अन्य सराकोरावालाहरूले अभिभावकले नै बच्चा जन्मेदेखि मोबाइल देखाउने गरेकाले पनि समस्या जरैमा रहेको बताएका थिए । यो विषयमा सञ्चारमाध्यम र पत्रकारको मुख्य भूमिका हुने भन्दै पत्रकारलाई अझै जिम्मेवार बन्न सल्लाह दिएका थिए ।

Share News