काठमाडौं । नेपाल–दुबई व्यवसायिक सम्मेलन मंसिर १४ गते हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्वर अफ कमर्सको संयुक्त आयोजनामा अरव इमिरेट्स(यूएई)को दुवईमा व्यवसायिक सम्मेलन हुने भएको हो ।
व्यवसायिक सम्मेलनमा मुख्य अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने छन् । व्यवसायिक सम्मेलन यूएईस्थित नेपाली राजदूतावासको सहयोग एवं सहकार्यमा हुन लागेको हो ।
सम्मेलनमा दुवै देशका करिव १ सय जना उद्यमी व्यवसायीको उपस्थिति रहने छ । सोसम्मेलनमा दुवै देशबीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी प्रवद्र्धन एवं श्रम बजार विस्तार, नेपाली कृषि उत्पादनको मध्यपूर्वमा बजार विस्तार तथा सम्भाव्यताका विषयमा छलफल हुनेछ ।
व्यवसायिक सम्मेलनबाट नेपालमा मध्यपूर्वको लगानी आकर्षण एवं नेपाली कृषि उत्पादनको मध्यपूर्वका राष्ट्रहरुमा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यक्त गरे । सम्मेलनबाट उर्जा एवं पर्यटन क्षेत्रमा पनि आपसी सहकार्यको ढोका खुल्ने विश्वास गरिएको छ ।
महासंघले प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा यसअघि भारत र चीनमा पनि व्यवसायिक सम्मेलनको आयोजना गरिसकेको छ । महासंघका अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले मंसिर १५ र १६ गते अवुधाविमा आयोजना हुने जलवायु सम्बन्धी विश्व सम्मेलन कोप–२८ मा भाग लिने कार्यक्रम समेत रहेको छ ।