अढाइ अर्ब लगानीमा चिनी मिल सञ्चालनमा आउँदै, किसान उखु खेतीतर्फ आकर्षित
काठमाडौं । बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखु खेतीमा आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा आउँदो वर्षदेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी थालेपछि किसान उखु खेती विस्तारमा लागेका हुन् । कैलालीको टीकापुरका कृषक धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखु खेती सुरु गरेको बताए । “मिल सञ्चालकसँग समन्वय भएर नै उखु खेती सुरु गरेका छौँ”, उनले भने, “मिल सञ्चालन भयो भने किसानका लागि ठूलो अवसर सिर्जना हुने विश्वास छ ।” प्रालिका प्रबन्धक निर्देशक यज्ञबहादुर ओलीले २०८१ सालमा चिनी मिल सञ्चालनमा ल्याउने गरी काम सुरु गरिएको बताएका छन् । “केही भागमा उखु खेती सुरु गरेका छौँ भने केही किसानलाई पनि उखु खेतीका लागि आग्रह गरेका छौँ”, प्रबन्ध निर्देशक ओलीले भने, “उखु उत्पादन हुँदै गर्दा आवश्यक उपकरण जडानको काम पनि सँगसँगै गर्ने गरी काम थालेका छौँ ।” कम्पनीले २० बिघा जग्गा खरिद गरेर काम थालेको छ । मिल सञ्चालन गर्न २ अर्ब रुपैयाँदेखि अढाइ अर्ब खर्च लाग्ने अनुमान कम्पनीको छ । मिल पूर्णरुपमा सञ्चालन गर्नका लागि पाँचदेखि ६ हजार बिघा क्षेत्रफलमा उखु खेती आवश्यक पर्ने निर्देशक ओली बताउँछन् । मिल सञ्चालनमा आए ५ सय बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् भने हजारौँ अप्रत्यक्ष रोजगारीमा जोडिने अपेक्षा गरिएको छ । कम्पनीले प्राविधिक बाहिरबाट ल्याउने भएपनि अन्य कर्मचारी स्थानीयलाई प्राथमिकतामा राख्ने बताएको छ । बाढी र डुबानका कारण अन्य खेतीको उत्पादन राम्रो नहुँदा चिन्तित किसान चिनी मिलले खेती बाँझो नहुने भन्दै आशावादी बनेका छन् । “बलौटे माटोमा उत्पादन केही हुँदैन । वर्षातको समयमा बाढीले लगाएको बर्खेबाली पनि नष्ट गर्छ”, राजापुर नगरपालिका–८ का धर्मचन्द्र चौधरीले भने, “चिनी मिल सञ्चालन भयो भने हामीलाई धेरै राम्रो हुनेछ । म मात्रै नभई यसक्षेत्रका किसानलाई पनि ठूलो अवसरको रुपमा चिनी मिल बन्ने छ ।” अर्का किसान सुरेन्द्र चौधरीले राजापुरमा चिनी मिल सञ्चालन हुँदा बर्दियाका किसानलाई मात्रै नभई छिमेकी पालिकाले पनि ठूलो लाभ लिनसक्ने बताए । मिल सञ्चालन हुँदा उत्पादन नहुने कुनै पनि जग्गा खाली नरहने उनको विश्वास छ । “अहिले कैयौँ जग्गा प्रयोगमा छैन । बर्षातको समयमा बाढी र डुबान, हिउँदमा सिँचाइको समस्याले किसान उत्साहित भएर खेतीमा अग्रसर हुन सकेका छैनन्”, सुरेन्द्र चौधरी भन्छन्, “चिनी मिल बर्दियाका लागि ठूलो अवसर हो । यसबाट किसानलाई मात्रै नभई अन्य नागरिकलाई पनि प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा हुनेछ ।” राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले चिनी मिल राजापुर क्षेत्रका लागि ठूलो सम्भावना बोकेको उद्योग बन्ने विश्वास व्यक्त गरे । उनले रोजगारीका अवसरदेखि किसानको सम्भावनालाई चिनी मिलले पूरा गर्ने बताए । “स्थानीय सरकारको प्राथमिकता भनेकै रोजगारीका अवसर सिर्जना गर्नु र स्थानीय उत्पादनलाई मजबुत बनाउनु नै हो । नगरपालिकाले सबै संयन्त्रसँग समन्वय र सहकार्य गर्दै पनि आएको छ”, नगर प्रमुख थारुले भने, “स्थानीय सरकारले खेल्नुपर्ने भूमिकामा हामी सधैँ सकारात्मक र सहयोगी भावनाका साथ अगाडि बढेका छौँ । त्यसैको उपज चिनी मिल सञ्चालनमा आउनु पनि हुनेछ ।” उनले राजापुर नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउनका लागि यस्तै दुई चारवटा अन्य उद्योग सञ्चालनमा ल्याउन जरुरी रहेको बताए “चिनी मिल सञ्चालनमा आयो भने सयौँले प्रत्यक्ष रोजगारी पाउने छन् भने हजारौँले अप्रत्यक्ष रोजगारीमा जोडिने छन्”, नगर प्रमुख थारुले भने, “यसरी दुईतीन अरु उद्योग सञ्चालनमा आउन सक्यो भने यसक्षेत्रका सबैले रोजगारी पाउने छन् । स्थानीय उत्पादनले बजार पाउने छ । अनि समृद्धि नगरपालिका बनाउन कुनै समस्या छैन ।” टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले चिनी मिल सञ्चालकसँग समन्वय गरेर किसानले उखु खेती सुरु गरेको बताए । “उहाँहरुकै आग्रहमा किसानले उखु खेती सुरु गर्नुभएको छ । गुड मिल सञ्चालन गर्दै आएको मैले पनि थप उखु खेती विस्तार गरेको छु”, वडाध्यक्ष ठकुल्लाले भने, “बर्दियामा मिल सञ्चालन भए पनि त्यसले टीकापुरलगायतका छिमेकी पालिकालाई समेत मद्दत मिल्ने छ ।” रासस
क्यासीको ३७औं सम्मेलन : दिगो उद्यमशीलता र व्यापारमा कोसेढुंगा
काठमाडौं । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघको ३७औं सम्मेलनमा दिगो उद्यमशीलता र व्यापारमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र परिसंघले आयोजना गरेको कार्यक्रम र समुदघाटनपछि सम्बोधन गदै राष्ट्रपति रामचन्द्र पौडेलले एसिया प्यासिफिक क्षेत्रको सदस्यकारूपमा रहेको नेपालका लागि क्षेत्रीय व्यापार लगानी र सञ्जाल निर्माणमा सम्मेलन कोशेढुंगा साबित हुने बताए । एसिया प्रसान्त क्षेत्रका देशहरूसँग बलियो सम्बन्ध निर्माण गर्न यस्ता सम्मेलनले पुलको काम गर्ने पनि उनले स्पष्ट पारे । यस युगका चुनौतीको सम्बोधन र अवसरहरूको सदुपयोग गर्न यो सम्मेलन समय सापेक्ष र सान्दर्भिक रहेको विचार राष्ट्रपति पौडेलको थियो । विश्व व्यापार परिदृश्यमा पङ्क्तिबद्ध र सकारात्मक परिवर्तन ल्याउन एसिया–प्रशान्त क्षेत्रका उद्योग वाणिज्य संघहरुको भूमिका निर्णायक हुने बताए । राष्टपति पौडेलले नेपालमा लगानीको वातावरण सकारात्मक रहेकाले सम्मेलनमा सहभागि उद्यमी व्यवसायीलाई एसिया प्रसान्त क्षेत्रको लगानी ल्याउन आग्रह पनि गरे । क्यासी एसिया प्रसान्त क्षेत्रका २६ देशका उद्योग वाणिज्य संघ सदस्य रहेको संस्था हो । काठमाडौंमा जारी सम्मेलनमा करिब ६० विदेशी उद्यमी व्यवसायीहरूको सहभागिता छ । कार्यक्रमका मुख्य वक्ता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बढ्दो मध्यम वर्ग, उदीयमान उपभोक्ता बजार नेपालको सवल पक्ष रहेको भन्दै्र खुद्रा, उपभोग्य वस्तु र सेवालगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको बताए । युवा जनसंख्याको बाहुल्यता रहेको नेपालमा लगानीको ठूलो अवसर रहेकाले क्यासीजस्ता मन्चहरूमार्फत लगानी, प्रविधि र विकासका अनुभव ल्याउन हाम्रो प्रयास हुनुपर्ने धारणा उनले व्यक्त गरे । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा रहेको अवसरलाई सदुपयोग गर्न सम्मेलनका सहभागीलाई आग्रह गरे । नेपालमा नविकरणीय उर्जा, पर्यटन, पूर्वाधार, सूचना प्रविधिलगायतका क्षेत्रमा रहेको अपार सम्भावनाको सदुपयोग गर्दै यस क्षेत्रका जनताको जीवनस्तर सुधारमा क्यासी जस्ता संस्थाहरुको अर्थपूर्ण सहयोग नेपालले खोजेको बताए । सम्मेलनको प्रारम्भमा स्वागत मन्तव्य दिदै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगोपना, उद्यमशीलता र व्यापार, एसिया–प्रशान्त क्षेत्रको समृद्ध भविष्य सिर्जना गर्ने आधार रहेको बताए । भारत र बंगलादेशमा नेपाली विद्युत निर्यातको सम्भावना बढदै गएकाले यस क्षेत्रमा लगानी गर्न पनि उनले आग्रह गरे । क्यासीका उपाध्यक्ष एवं महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले नेपालले दोस्रोपटक सम्मेलन आयोजना गर्न पाएकोमा खुसी प्रकट गरे । दीगो एव वातावरण मैत्री उद्यमशीलता विकास, आर्थिक विकासका अनुभव आदान प्रदान गर्न र हाम्रा आर्थिक सम्बन्ध विस्तार गर्न सम्मेलन ऐतिहासिक हुने दाबी उनको थियो । क्यासीका अध्यक्ष पिटर म्याकमुलिन एमले क्यासीको ३७औं सम्मेलन नेपालको विकास प्रयासमा सहयोगी हुने विश्वास दिलाए । नेपालमा लगानी, प्रविधि र विकास मोडललाई आकर्षण गर्न सम्मेलन कोशेढुंगा हुने उनले बताए । सम्मेलनले दिने निश्कर्ष नेपाललगायत एसिया प्रशान्त क्षेत्रकै समृद्धिको लागि महत्वपूर्ण हुने दाबी गरे । परिसंघ, एसिया प्रशान्त क्षेत्रभित्रका २६ देशका २८ वटा राष्ट्रियस्तरका उद्योग वाणिज्य महासंघ÷संघको छाता संस्था हो । सम्मेलन भोलिसम्म चल्ने छ । सम्मेलनको मुख्य थिम ‘चेम्वर्स अफ कमर्स हेल्पिङ विजनेस गेट सेट फर द फयूचर‘ रहेको छ । सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा आयोजना भएको हो । विश्व आर्थिक मन्चमा राम्रो पहिचान बनाउन सफल यस संस्थाको यसअघि २६औं सम्मेलन महासंघको आयोजनामा काठमाडौंमा सम्पन्न भएको थियो । यस सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रबाट सदस्य राष्ट्रका ६० भन्दा बढी व्यावसायिक नेताहरू र नेपालका प्रतिष्ठित उद्यमी व्यवसायीहरू, सरकारी प्रतिनिधिसमेत गरी करिब २ सयभन्दा बढीको सहभागिता रहेको छ ।
राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय उद्योगी व्यापारीलाई लगानीका लागि आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई) को संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने ३७औँ क्यासी सम्मेलनको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन् । ‘नेपालमा लगानीका क्षेत्र बढ्दै गएका छन् र लगानी सहज बनाउनका लागि कानुन निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु’, राष्ट्रपति पौडेलले भने ।राष्ट्रपति पौडेलले आर्थिक विकासको तीव्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्न लगानी र व्यापारका क्षेत्रमा धेरै अवसर रहेको धारणा व्यक्त गरे । ‘नेपाली विद्युत्को बजार अब भारत र बङ्गलादेश पनि बन्दैछ, विद्युत् व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युत्मा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खुलेको छ । म नेपालको जलविद्युत्को क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु’, उनले भने । सो अवसरमा राष्ट्रपति पौडेलले शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीलाई अपिल पनि गरे । उनले साना र मझौला उद्यम हाम्रो अर्थतन्त्रको मेरुदण्ड भएको धारणा राखे । ‘आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशीला पनि हो । साना र मझौला उद्यम अर्थतन्त्रका मेरुदण्ड हुन् । तिनीहरूले वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन्’, उनले भने । राष्ट्रपति पौडेलले उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्र होइन, यो नवप्रवर्तनलाई अँगाल्ने, विविधतालाई सघनीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार भएको बताए । ‘तपाईंहरुले यो भावनालाई अगाडि बढाइरहनुभएको छ र बढाइरहनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु’, उनले भने । राष्ट्रपति पौडेलले दिगो उद्यमशीलता र व्यापार वास्तवमै समृद्ध र दिगो भविष्यका आधारशिला र अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको बताए । ‘यसले आर्थिक वृद्धिलाई मात्र होइन, सीमापार सम्बन्ध निर्माण र कायम राख्न ऊर्जा प्रदान गर्दछन्’, राष्ट्रपति पौडेलले भने, ‘व्यवसाय क्षेत्रका सङ्गठनहरुले व्यापार सहज बनाउन प्रदान गर्ने मध्यस्थता, प्रक्रियाको डिजिटलाइजेसन र सञ्जालीय अवसरलगायतका सेवा व्यवसायलाई संसारसँग जोड्ने औँजार हुन् ।’ उनले उद्यमशीलता र व्यापारले विश्वव्यापी बहुपक्षीयतावादलाई सवलीकरण गर्न योगदान गर्ने र पारस्परिक लाभदायक सम्बन्धमार्फत् विश्वव्यापी शान्तिलाई बलियो बनाउन योगदान पु¥याउनेमा विश्वास व्यक्त गरे । नेपाल भौगोलिक रुपमा चीन र भारतबीच हुनु व्यापारका लागि रणनीतिक फाइदा भएको भन्दै उहाँले यो स्थितिले नेपाललाई ती विशाल उपभोक्ता बजारमा पहुँच स्थापित गर्न खोज्ने व्यवसायका लागि प्राकृतिक प्रवेशद्वार बनाउने बताए । ‘दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) लगायतका क्षेत्रीय व्यापार सम्झौतामा नेपालको सदस्यताले यस क्षेत्रका व्यापार साझेदारको विशाल सञ्जालमा व्यवसायलाई पहुँच प्रदान गर्दछ’, राष्ट्रपति पौडेलले भने । नेपालको श्रम बजारमा सक्रिय, अनुशासित र शान्तिप्रिय श्रमशक्ति अधिक भएको र यो दक्ष श्रम, नवप्रवर्तन र उद्यमशीलताको सम्भावना खोज्ने व्यवसायको लागि सम्पत्ति भएको उनको भनाइ थियो । उनले देशको बढ्दो मध्यम वर्ग एक उदीयमान उपभोक्ता बजार भएको भन्दै खुद्रा, उपभोग्य वस्तु र सेवालगायत विभिन्न उद्योगका लागि अवसर प्रस्तुत गरेको उल्लेख गरे । प्राकृतिक विविधतायुक्त नेपालले पर्यटन क्षेत्रको विकासको प्रचुर सम्भावना बोकेको छ र यसमा आज हुने लगानीले भोलि प्रतिफल दिनेमा उनले विश्वास व्यक्त गरे। सूचना प्रविधि, उत्पादनमूलक उद्योग, कृषिजन्य उद्योग नेपालमा सम्भावना भएका अन्य क्षेत्र भएकाले यी क्षेत्रमा पनि लगानी बढाउन उनले आग्रह गरे । सम्मेलनका विषय विश्वव्यापी चिन्ता मात्र नभइ नेपालको आर्थिक विकास र दिगोपनका लागि पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ थियो ।