आईपीओ निष्काशन गर्न स्वस्तिक लघुवित्तले पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आ्रईपीओ) निष्काशन तथा बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले असार ५ गते सो संस्थालाई २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो । माइक्रो फाइनान्स समूहको सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । बोर्डले चालु आवमा हालसम्म कुल १२ कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ ।  जसमा पाँचवटा जलविद्युत् समूहका कम्पनी छन् भने तीनवटा लघु बीमाका छन् । अन्यतर्फ दुई कम्पनीले अनुमति पाउँदा उत्पादनतर्फको एक र माइक्रो फाइनान्स एक छन् । समग्रमा बोर्डले २ अर्ब ९५ करोड ५६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको साधारण सेयर बिक्रीको अनुमति दिएको छ । त्यसैगरी, साधारण सेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा ४४ कम्पनी छन् । त्यसमा अधिकांश जलविद्युत् कम्पनी छन् । कुल ३५ जलविद्युत् कम्पनी साधारण शेयर बिक्रीका लागि अनुमतिको प्रतीक्षामा छन् ।

२ वर्षको वार्षिक प्रतिवेदन पारित गर्न राष्ट्रिय बीमा कम्पनीले डाक्यो तेस्रो साधारण सभा

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले २ वर्षको वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितिको असार ५ गते बसेको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा असार २९ गते बिहान ११ बजे काठमाडौंमा बोलाएको छ । कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, सोही वर्षको लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २३ गतेदेखि असरा २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सभामा सहभागीता जनाउन पाउने छन् ।  कम्पनीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ९२ करोड ५२ लाख ६७ हजार रुपैयाँ र आर्थिक वर्ष २०७६/७७ मा ६१ करोड २१ लाख ९४ हजार रुपैयाँ खुद नाफा गरेको देखिन्छ । 

एशियन लाइफले २५ असारदेखि हकप्रद सेयर बिक्री गर्ने, १० कित्ता सेयर हुनेले ४.२ कित्ता पाउने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २५ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको हो ।  कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ ।  हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ १६ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीका सेयरधनीहरुले साउन १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा, एशियन लाइफ इन्स्योरेन्सका कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।  इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।