सांग्रिला डेभलपमेन्ट बैंकले मुस्ताङको स्वास्थ्य केन्द्रलाई दियो अक्सिजन कन्सेन्ट्रेटर

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँमा रहेको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेको छ । जोमसोम शाखाका प्रबन्धक टासी थकालीले स्वास्थ्य केन्द्रकी अनमी आशमाया परियार तथा वडा सदस्य वीरप्रसाद थकालीलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै शाखा प्रबन्धक थकालीले सांग्रिला बैंकले हरेक वर्ष विभिन्न संघ–संस्थामा स्वास्थ्य तथा शैक्षिक सामग्री र छात्रवृत्ति वितरण गर्दै आएको र यो क्रम भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । अनमी परियारले अक्सिजन कन्सेन्ट्रेटर विशेषगरी दम र निमोनिया जस्ता श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामीको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै बैंकलाई धन्यवाद दिइन् । त्यसैगरी वडा सदस्य थकालीले स्याङ स्वास्थ्य केन्द्रको आवश्यकता पहिचान गरी स्वास्थ्य सामग्री प्रदान गरेर सांग्रिला बैंकले नागरिकको स्वास्थ्य सेवामा उल्लेखनीय योगदान गरेको बताए । हाल सांग्रिला डेभलपमेन्ट बैंकले १०९ शाखा र ३० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र उत्कृष्ट आन्तरिक प्रणालीलाई पालना गर्दै आएको बैंकले आगामी दिनमा समुदाय–मैत्री सेवाहरू विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ अन्जु श्रेष्ठ सम्मानित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन् । महिला पत्रिका ‘द भ्वाइस अफ दी वुमन’ले रणनीतिक नेतृत्वतर्फको सर्वश्रेष्ठ महिला प्रमुख कार्यकारी अधिकृतको रूपमा सम्मान गरेको हो । उक्त विशिष्ट अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै श्रेष्ठले भनिन्, 'यो सम्मान केवल मेरो व्यक्तिगत उपलब्धि मात्र नभई यो समग्र नेपाली बीमा उद्योगको उपलब्धी हो र यसमा सक्रिय सम्पूर्ण महिलाको सामूहिक पहिचान पनि हो ।' उनले आफ्नो टिमको निरन्तर साथ, परिश्रम र प्रतिबद्धतालाई पनि यस सफलताको मूल आधार मानेकी छन् । बेलायतमा मुख्यालय रहेको महिला पत्रिका एक अन्तर्राष्ट्रिय सञ्चार संस्था हो, जसले व्यवसाय, नेतृत्व र उद्यमशीलता क्षेत्रमा विशिष्ट योगदान दिने महिलाहरूको पहिचान र सम्मान गर्दै आएको छ । हरेक वर्ष विश्वभरका प्रेरणादायी महिलाहरूलाई विविध विधामा सम्मान गर्नेक्रममा यसवर्ष श्रेष्ठले बीमा क्षेत्रतर्फको सर्वोच्च नेतृत्व अवार्ड हात पार्न सफल भएकी हुन् । महिला पत्रिकाका व्यवसाय विकास प्रबन्धक ड्यानियल डी’कोस्टाले भने, 'महिलाहरूले व्यवसाय र नेतृत्वमा पुर्याएको योगदान अद्वितीय छ । हाम्रो प्रयास उनीहरूको मेहनत र उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नु हो ।' श्रेष्ठको नेतृत्वमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा क्षेत्रमा नवीनता, पारदर्शिता र ग्राहकमुखी सेवामा उल्लेखनीय सुधार ल्याएको छ । रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन, डिजिटल प्रविधिको प्रयोग र संस्थागत सुशासनमार्फत कम्पनीले पछिल्ला वर्षहरूमा निरन्तर प्रगति हासिल गर्दै आएको छ । उक्त सम्मान श्रेष्ठको रणनीतिक सोच, दूरदृष्टि र नेतृत्व क्षमताको विश्वव्यापी मान्यता मात्र नभई नेपाली बीमा क्षेत्रको समग्र प्रगतिको सन्देश पनि हो ।  

नागरिक लगानी कोष र हिमालयन बैंकबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोषले हिमालयन बैंकको थप सार्वजनिक निष्कासन (एफपिओ) को प्रत्याभूति गर्ने भएको छ ।  सो सम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले हस्ताक्षर गरेका हुन् ।  सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति कोषले गर्ने भएको छ । सम्झौता भएको मितिबाट तीन महिनासम्म अवधि कायम रहने छ ।