होटल संघको सुझाव : कर्जा, डलर कारोबार र भुक्तानी प्रणाली सहज बनाऊ
काठमाडौं । होटल संघ नेपालको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई भेट गरी मौद्रिक नीतिमा पर्यटन र होटल क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरेको छ । संघले सोमबार गभर्नरसँगको भेटमा हालको आर्थिक वर्षको बजेटमा समेटिएका योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि मौद्रिक नीतिले टेवा पुर्याउनुपर्नेमा जोड दिएको हो । संघका अध्यक्ष विनायक शाहले होटल उद्योगमा लागत बढ्दो क्रममा रहेकाले व्यवसायको वित्तीय अवस्था अनुसार विशेष उद्योगसरह कर्जाको साँवा र ब्याज भुक्तानीमा सुविधा दिनुपर्ने माग गरे । उनले होटेल व्यवसायीहरूलाई डलर खाता सञ्चालन तथा डलर कार्ड प्रयोगमा सहजता, पर्यटकहरूका लागि सटही सीमा वृद्धि, र बुकिङ प्लाटफर्ममार्फत डलरमा भुक्तानी गर्ने बाध्यता समाधान गर्नसमेत आग्रह गरे । शाहले पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिइसकेको अवस्थामा कर्जामा न्यून ब्याजदर कायम गर्नुपर्ने बताए । साथै, पर्यापर्यटनमा आधारित होटेल तथा रिसोर्टलाई सस्तो व्याजदरमा विद्युतीय सवारीसाधन तथा उपकरण खरिदका लागि ऋण प्रवाह गर्न अनुरोध गरे । संघले अनलाइन भिषा फारम त भरिए पनि विदेशी मुद्रामा भुक्तानी गर्न नपाइने स्थिति हटाउन र बैंकहरूसँग सहकार्य गर्दै साइबर सुरक्षालाई मजबुत बनाउन आग्रह गर्यो । बंगलादेश र श्रीलंकाबाट आउने पर्यटकहरूलाई स्थानीय मुद्रामै भुक्तानी गर्ने व्यवस्था भएमा क्षेत्रीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने संघको भनाइ छ । अन्त्यमा, गभर्नर पौडेलले संघका मागहरूलाई सकारात्मक रूपमा लिने आश्वासन दिएको संघले जनाएको छ ।
प्रभु इन्स्योरेन्सको १८.९४ प्रतिशत लाभांश घोषणा, ६ वर्षयताकै उच्च
काठमाडौं । प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असार ८ गते बसेको बैठकले १८.९४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार रुपैयाँको १८ प्रतिशतका दरले २५ करोड ९४ लाख ६७ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.९४ प्रतिशतका दरले १ करोड ३६ लाख ५६ हजार रुपैयाँ नगद गरी कुल १८.९४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव अरबिन्द कुमार कर्णले जानकारी दिए । कम्पनीले ६ वर्षपछि उच्च लाभांश प्रस्ताव गरेको हो । यसअघि कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा २० प्रतिशत लाभांश वितरण गरेको थियो । जुन हालसम्मै उच्च हो । त्यसयता कम्पनीको लाभांश घटेको थियो । कम्पनीले आव २०७१/७२ मा १२ प्रतिशत, आव २०७२/७३ मा १७ प्रतिशत, आव २०७५/७६ मा १६.३२ प्रतिशत, आव २०७६/७७ मा १०.५३ प्रतिशत, आव २०७७/७८ मा ११.५८ प्रतिशत, आव २०७८/७९ मा ७.०५ प्रतिशत र आव २०७९/८० मा ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
लाभांश पारित गर्न एशियन लाइफले डाक्यो १७औँ सभा, सञ्चालकको निर्वाचन पनि
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न एशियन लाइफ इन्स्योरेन्सले १७औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको असार ८ गते बसेको बैठकले असार ३० गते दिउँसो १ बजे काठमाडौंमा साधारण सभा बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँको ५.१० प्रतिशतका दरले १७ करोड ३३ लाख ९१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ९१ लाख २५ हजार रुपैयाँ नगद गरी कुल ५.३६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । सभाले बोनस सेयर वितरण पश्चात् हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा कुनै थपघट गर्न निर्देशन प्राप्त भएमा सो अनुसार फेरबदल गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ । सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षक बिके अग्रवाल एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जनाको निर्वाचन गर्ने र १ जना स्वतन्त्र सञ्चालक मनोनीत गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार २० गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।