विकासन्युज

सांग्रिला र कसमस डेभलपमेन्ट बैंकबीच एकिकृत कारोबार शुरु

काठमाडौं । सांग्रिला डेभलमेन्ट बैंकले कसमस डेभलपमेन्ट बैंकलाई एक्वायर (प्राप्ति) पश्चात एकिकृत कारोबार शुरु गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रम गरी दुई बैंकबीच एकिकृत रुपमा कारोवार संचालन गरेको हो । उक्त कार्यक्रमको उद्धघाटन सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा.रबीन्द्र प्रसाद श्रेष्ठ तथा कसमस डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा टेकनाथ ढकालले संयुुक्त रुपमा गरेका हुन् । सो बैंक प्राप्ति पश्चात सांग्रिला डेभलमेन्ट बैंकको चुुक्ता पुँजी १ अर्व ३५ करोड ८४ लाख रुपैयाँ पुगेको छ । बैंकको १२ औं बार्षिक साधारण सभाको निर्णय बमोजिम बैंकले चुुक्ता पुँजीको ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । सो मात्राको हकप्रद पश्चात बैंकको चुुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ हुुने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, बैंकले चालु आ.ब.२०७३र७४ को बाड्न मिल्ने कोष तथा मुनाफाबाट करिब ३० करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । उक्त बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजीे २ अर्व ५० करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

केयुकेएल पदाधिकारी भ्रष्टाचारमा तानिए, को को पर्दैछन कारवाहीमा

काठमाडौं । केयुकेएलका पदाधिकारीले करोडौं भ्रष्टाचार गरेको प्रमाण फेला परेको खानेपानी तथा सरसफाई मन्त्रालयले बताएको छ । मन्त्रालयका सचिव भिम उपाध्यायले केयुकेएलका पदाधिकारीहरुले गरेको अनियमितताका सब्र प्रमाणहरु फेला परेकाले कारवाही प्रक्रिया अघि बढाएको बताएका हुन् । ‘केयुकेएल भित्र भएका व्यापक अनियमितता र भ्रष्टाचारको तालुक खानेपानी मन्त्रालयले सघन छानबीन सुरू गरिसकेको छ । प्रारम्भिक छानबीनबाट यथेष्ठ प्रमाण फेला परिसकेका छन् ।’, सचिव उपाध्यायले भनेका छन् । आर्थिक कारोबार तथा बोर्ड बैठकका निर्णय सम्बन्धी फाइलहरु बुझाउन बारम्बार ताकेता गर्दा पनि महाप्रवन्धक र अन्य जिम्मेवार अधिकारीले अटेर गरेको पनि बताएका छन् । ‘मन्त्रालयलाई कागजात उपलब्ध नगराउने र छानबीनमा अवरोध सृजना समेत गरिरहेका छन् । यस्तो रवैयाले गर्दा मन्त्रालयलाई तिनी विरूद्ध भ्रष्टाचारमा कार्यवाही चलाउनका लागि यथेष्ट आधार खडा भैसकेको छ ।’, उपाध्यायले आफ्नो फेसबुकमा लेखेका छन् । उनले छानविनमा सहयोग नगरि अनियमितताका प्रमाणहरु नष्ट गर्न लागि परेका सबैलाई तत्कालै कारवाही प्रक्रिया अघि बढाउने पनि स्पष्ट पारेका छन् । ‘माग गरिएको कागज नपठाई असहयोग गर्दै अनियमितता र भ्रष्टाचार छानबीनमा अवरोध गर्ने सम्बद्ध अधिकारीहरू अब चाडै शख्त कार्यवाहीमा पर्न जाने निश्चित छ ।’, सचिव उपाध्यायले भने । केयुकेएलको महाप्रबन्धक महेश प्रसाद भट्टराई रहेका छन् । उनकै तजबिजमा करोडौं अनियमितता भएको आरोप सचिव उपाध्यायले लगाउँदै आएका छन् । उनले पछिल्लो समय छानविन तथा बयानका लागि मन्त्रालय बोलाउँदा समेत भट्टराईले अटेर गरेको तथा आफुलाई अभद्र व्यवहारको प्रयास गरेपछि मन्त्रालयबाटै बाहिर निकालेको बताउँदै आएका छन् । केयुकेएलको सञ्चालक समितिमा रामचन्द्र देवकोटा, इश्वरराज पौडेल, तोलाराज उपाध्याय, मुकेश कुमार काफ्ले, राजेशकाजी श्रेष्ठ, कमलराज पाण्डे, महेश्वरभक्त श्रेष्ठ, हरि गोपाल श्रेष्ठ सञ्चालक रहेका छन् भने मिलन शाक्य कम्पनी सचिवका रुपमा कार्यरत छन् । केयुकेएल सञ्चालक समितिका तत्कालिन अध्यक्ष सुरेश बस्नेतले राजीनामा दिएपछि नयाँ अध्यक्ष चयन हुन सकेको छैन् । अध्यक्ष बिनै दर्जनौं पटक बोर्ड बैठक राखेर महत्वपुर्ण निर्णय गर्दै आर्थिक हिनामिना गरेका प्रमाणहरु फेला परेपछि कारवाहीको प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको थप ४ शाखा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बुधबार र बिहिबार दुईदिन गरी थप ४ वटा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले बुधबार झापाको झापाबजार, सिन्धुलीको भिमान, रुपन्देहीको सुरजपुरा र बिहिबार नवलपरासीको त्रिवेणी गरी चारवटा शाखा सञ्चालनमा ल्याएको हो । यो समेत बैंकको शाखा कार्यालय संख्या १ सय ७९ वटा, ब्रान्चलेस बैंकिङ सेवा संख्या ९२ वटा, एटीएम संख्या १३० वटा पुगेकाे छ । बैंकले गत चैत मसान्तसम्ममा बैंकले १ खर्ब १ अर्ब कर्जा लगानी गरेको छ । साथै, सो अवधिमा बैंकले २ अर्ब ७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

युनाइटेड इन्स्योरेन्सद्धारा ओम कृषि फार्मलाई बीमा रकम हस्तान्तरण

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले गोकर्णेश्वर स्थित ओम कृषि फार्ममा आगलागीमा परी मृत्यु भएका ५९ वटा गाईको क्षतिपुर्ति बापत रकम प्रदान गरेको छ । कम्पनीका तर्फबाट कामु नायब महाप्रबन्धक जीवनकुमार उप्रेतीले बिमितको तर्फबाट बाबुराम कार्कीलाई ५८ लाख ९५ हजार रुपैयाँको क्षतीपुर्ति बापतको चेक रकम हस्तान्तरण गरेका छन् । बिमितिको तर्फबाट बाबुराम कार्कीले बिमा बापतको क्षतिपुर्ति रकम सहज र सरल प्रक्रियाबाट पाएकोमा बिमक कम्पनीलाई धन्यवाद दिएका छन्।

फिनल्याण्ड सरकारद्धारा दुई अर्ब ३६ करोड अनुदान उपलब्ध

काठमाडौं । फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब ३६ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । आधारभूत प्राथमिक तथा माध्यमिक शिक्षा सुधार, शिक्षामा सबैको पहुँच वृद्धि र समानता प्रवद्र्धन गर्न आगामी छ वर्षका लागि नेपाल सरकारलाई फिनल्याण्डले उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउन लागेको हो । अनुदान सहयोगसम्बन्धी सम्झौतामा शुक्रबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र नेपालका लागि फिनल्याण्डका राजदूत योर्मा सुभान्तोले हस्ताक्षर गरेका छन् । त्यस अवसरमा सहसचिव अर्यालले नेपालको सामाजिक, आर्थिक विकासका साथै शैक्षिक उन्नयनमा गरेको सहयोगप्रति आभार व्यक्त गरे । राजदूत योर्माले नेपालको विकास प्रयासमा फिनल्याण्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षाको सुधारबाट नेपालको प्रगति र समृद्धि हासिल हुने विश्वास व्यक्त गरेका छन् । रासस

लुम्बिनी बिकास बैंकको नयाँ शाखा कार्यालय सुनसरीको हरिनगरामा

काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेडले “ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता” अन्तर्गत सुनसरी जिल्लाको हरिनगरामा आफ्नो ५१औं शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक रामु पौडेलले गरेका छन् । स-साना निक्षेप परिचालन तथा कृषि एवँ साना ब्यवसायमा कर्जा लगानी गरि तराईका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । यस विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस्, मोबाइल बैंकिङ लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ । बैंकले यस शाखा सहित कुल ५१ वटा शाखा सञ्जालहरु र १२ वटा एटिएमबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

विद्युत विभागले छ दर्जनभन्दा बढी आयोजनालाई यहि साउन १ गते सम्मान गर्दै

काठमाडौं । विद्युत विकास विभागले सरकारी तथा निजी क्षेत्रबाट विद्युत उत्पादन गरी राज्यलाई सहयोग पुर्याउने आयोजनाहरूलाई सम्मान गर्ने भएको छ । विभागले आइतबार (साउन १) लागेको २४औं वार्षिकोत्सवमा निजी क्षेत्रका ५८ र नेपाल विद्युत प्राधिकरणका १७ आयोजनालाई सम्मान गर्न लागेको हो । जलविद्युत उत्पादनको १ सय ६ वर्षको इतिहास विभिन्न समस्याको बाबजुद पनि आयोजना निर्माण गरी सेवा पुर्याएको कारण आयोजनाहरूलाई सम्मान गर्न लागेको विभागका महानिर्देशक नविनराज सिंहले बताए । आयोजनाहरूलाई प्रोत्साहन गरी नयाँ आयोजना सञ्चालकलाई आकर्षण गर्नु विभागको मुख्य हो छ,’ उनले भने । प्राधिकरण र निजी क्षेत्रले अहिलेसम्म करिब ९ सय ७ मेगावाट विद्युत उत्पादन भएको छ । निजी क्षेत्रले अहिलेसम्म ५८ आयोजनाबाट ४ सय ३९ मेगावाट र प्राधिकरणले १७ आयोजनाबाट ४ सय ६७ मेगावाट उत्पादन गरेको हुन् । प्राधिकरणले हेटौडा र दुहबीमा राखिएको दुई थर्मल प्लान्ट उत्पादन भएको ५३ मेगावाटसमेत जोड्दा हालसम्म ९ सय ६० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

३५ अर्ब ११ करोडको बाँडफाँड मै अलमल, घर बनाउन शुरु गर्ने एक लाख मात्रै

काठमाडौं । भूकम्प गएको दुई वर्ष वित्दा पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ३५ अर्ब ११ करोड रुपैयाँ बाँडफाँड (अंश बण्डा) नै सकेको छैन । रकम खर्च गर्ने परियोजनाहरूको मोडालिटी तयार नहुँदा अर्थात ढिला गरी मोडालिटी तयार हुँदा उक्त रकम अबण्डाको रुपमा रहेको हो । भारत सरकारले स्रोत विनियोजन गर्ने भनिएको साढे १२ अर्ब रुपैयाँको अझै सम्झौता हुन नसकेको, जर्मन, कोरियाजस्ता सिधै स्रोत भुक्तान गर्ने प्रतिवद्धता गरेका राष्ट्र समक्ष कार्यक्रम नै पेश गर्न नसक्नु तथा स्रोत विनियोजन गरेका जाइका, एडीबीलगायतका विकास साझेदारबाट विनियोजित रकम खर्च गर्न प्रयास गर्दा गर्दै पनि खर्च गर्न नसकिएको कारण ठूलो रकम अबण्डामा परेकोप्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेलले बताए । चालु आर्थिक वर्षको ६ महिनापछिमात्र त्रिभुवन विश्वविद्यालय भवन निर्माणको मोडालिटी तयार भएको, विद्यायत तथा गुम्बा पुननिर्माणको मोडालिटी ढिलो गरी तय भएको छ । जसले गर्दा परियोजना अघि बढाउन गाह्रो भएको हो । प्राधिकरणले चालु आवमा पुननिर्माणका लागि कुल एक खर्ब ११ अर्ब खर्च गर्ने अख्तियारी पाएको थियो । सो रकममध्ये हालसम्म करिब ५६ प्रतिशत रकममात्र खर्च हुन सकेको प्राधिकरणले जानकारी दिएको छ । एकलाखले मात्रै बनाउन शुरु गरे घर भूकम्प गएको दुई वर्षमा प्राधिकरणले सवा ६ लाख भूकम्प पीडितसँग पहिलो किस्तको सम्झौता गरेपनि एक लाखलेमात्र घर निर्माण कार्य शुरु गरेका छन् ।प्राधिकरणका अनुसार५० हजार पाएकामध्ये१ लाख १० हजार ६ सय ४९ भूकम्प पीडितलेमात्रै घर निर्माण कार्य शुरु गरेका हुन् । अहिलेसम्म ५ लाख ९२ हजार ९ सय ६१ ले घर निर्माणका लागि सरकारबाट पहिलो किस्ताको अनुदान पाएका छन् । सोमध्ये ४ लाख ८२ हजार ३ सय १२ पीडित परिवारले घरको जगसमेत हालेका छैनन् । विनाशकारी भूकम्पका कारण ३१ जिल्लाका ७ लाख ४६ हजारले आफ्नो निजी आवास गुमाएका छन् । सरकारले अहिलेसम्म ६ लाख २८ हजार ४ सय ४३ भूकम्पपीडित परिवारसँग अनुदान सम्झौता गरिसकेको छ भने एक लाख १७ हजार पाँच सय ५७ लाभग्राहीसँग अझै सम्झौता गर्न सकेको छैन । पहिलो किस्ता पाएकामध्ये ७७ हजार १ सय ८० परिवारले घरको जग हालेर दोस्रो किस्ताको लागि आवेदन दिएका छन् । सो मध्ये ६४ हजार ३ सय २१ आवेदन प्रमाणिकरण भइसकेका प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार अहिलेसम्म ३८ हजार ७ सय २४ वटा घरहरु निर्माण भएका छन् । यस्तै ४८ हजार २१ परिवारले दोस्रो किस्ता वापतको १ लाख ५० हजार रुपैयाँ बुझिसकेका छन् । ३१ जिल्लाका २ हजार २ सय ३४ पीडित परिवारले तेस्रो किस्ता वापतको १ लाख रुपैयाँ पनि बुझिसकेका छन् । भूकम्पमा निजी आवास गुमाएका पीडितलाई नयाँ घर बनाउन सरकारले तीन किस्तामा गरी तीन लाख रुपैयाँ उपलब्ध गराउने छ । सो योजनाअनुसार पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख रुपैयाँ उपलब्ध गराइने छ ।